भनिन्छ नि काल बाजा बजाएर आउँदैन तर पनि हल्ला खल्ला सहित आउने भूकम्पबाट जोगिन भने समस्या नै छ । कति बेला भूकम्पको धक्का महशुष हुने हो त्यो भने कसैलाई पनि थाहा हुँदैन । तर पछिल्लो तथ्यलाई हेर्ने हो भने नेपाल र यसको आसपास केन्द्र रहने गरी ठूला भूकम्पको धक्का करिब ६० देखि ७० वर्षको अन्तरालमा महशुष गरीएको छ । नेपालमा पछिल्लो पटक २०७२ बैशाख १२ गतेको भूकम्पको धक्का महशुष भएको थियो । गोर्खाको वारपाकमा जमिनको सतह भन्दा १५ किलोमिटर मुनी केन्द्रविन्दु रहेको उक्त भूकम्पको धक्काबाट धेरै धनजनको क्षती भएको थियो । अहिले सम्म पुनःनिर्माणको काम समेत सकिएको छैन । भूकम्पको ४ वर्ष विति सक्दा पनि त्यस बेला भूकम्पको कारणले क्षति भएको भौतिक संरचना निर्माण हुन सकेका छैनन् ।
नेपालमा वि.सं. १९९० मा माघ २ गते भूकम्प गएको थियो । आज भन्दा ८५ वर्ष अगाडी गएको भूकम्पले गर्दा धेरै धनजनको क्षती भएको थियो । नेपालमा राणा शासनको समयमा भएको उक्त विनासमा १६ हजार आठ सय ७५ जनाको मृत्यु भएको थियो । तीन हजार तीन सय १९ जना गम्भीर घाइते भएका थिए । त्यही दिनको सम्झनामा नेपालमा भूकम्प दिवस मनाउन लागिएको हो । प्रत्येक वर्ष माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइदै आइएको छ । यो दिवस मनाउनुको मुल उद्देश्य भनेको नै भूकम्पबाट कसरी सुरक्षीत रहन सकिन्छ र कसरी क्षती घटाउन सकिन्छ भन्ने नै हो ।
पछिल्लो समय २०७२ बैशाख १२ गते ११ बजेर ५६ मिनेटको समयमा भएको भूकम्पको धक्काले गर्दा नेपालमा धेरै धनजनको क्षती भयो । त्यस समय ७ हजार ८ सय ८७ जनाको मृत्यु भएको गृहमन्त्रालयको तथ्यले देखाउँछ भने १५ हजार भन्दा धेरै नागरिक घाइते भएका थिए । झण्डै मध्ये दिनमा भएको ७ दशमलब ८ रेक्टर स्केलको उक्त भूकम्पका कारण नेपालमा सरकारी तथा गैरसरकारी लाखौं भवनहरु ध्वस्त भएका थिए । भूकम्पको धक्का कसरी र कतीबेला आउँछ भन्न कसैलाई पनि थाहा हुँदैन । त्यसैले यदी भूकम्पको धक्का महशुष भै हाल्यो भने पनि सुरक्षित रहन सकियोस भन्नका लागि हाम्रो भौतिक संरचनाहरुलाई भूकम्प प्रतिरोधी वनाउन आवश्यक छ । भूकम्पले कम क्षती हुने खालका संरचना निर्माण गरेर भूकम्पबाट जोगिनका लागि प्रयत्नरत हुनु पर्दछ । नत्र भने फेरी पनि भगवान भरोसा भन्दै बस्नु सिवाय अरु केही हुनेछैन । भूकम्पबाट सुरक्षित रहन भूकम्प प्रतिरोधी संरचना निर्माण गरौं ।
Previous Articleअभिनेत्री काइली जेनरभन्दा अण्डा बढी लोकप्रिय
Next Article वाइडबडी जहाजमा माहुरीको आक्रमण, ठूलो दुर्घटना ट-यो