पुसभित्रै सांगठानिक एकीकरण गरिसक्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांगठानिक एकीकरणको प्रक्रिया अन्यौलमा परेको छ ।
प्रदेश र स्थानीय तह, जनवर्गीय संगठनसम्म पार्टी एकीकरण गर्नका चाहिने स्पष्ट मापदण्ड निर्धारणका लागि नेकपाको स्थायी कमिटी बैठकले नेता रामबहादुर थापाको नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो ।
मंसिर २९ गतेदेखि दुईसाता सम्म बसेको नेकपा स्थायी कमिटी बैठकले सांगठानिक एकता र अन्य राजनीतिक विवादहरू सल्ट्याउनका लागि कार्यदल गठन गरेको थियो । कार्यदल गठनपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पुस मसान्त भित्र कार्यदलले प्रतिवेदन पेश गर्ने र सांगठानिक एकीकरण टुंग्याउने बताएका थिए । तर उक्त कार्यदलले निर्धारित समय पुस मसान्तभित्र प्रतिवेदन बुझाउन सकेन ।
तर कार्यदलका एक सदस्य बेदुराम भुषाल भने स्थायी कमिटीले सांगठानिक एकीकरणको जिम्मा दिएको भएपनि समयसीमा भने नतोकिएको दाबी गर्छन् ।
‘पार्टी एकीकरणसम्बन्धि प्रतिवेदन तयार गर्नका लागि कार्यदल गठन गरिएको हो’ भुसालले लोकान्तरसँग भने,‘तर पुस मसान्तभित्रै प्रतिवेदन बुझाउनुपर्छ भन्ने कुनै समयसीमा छैन ।’
‘प्रतिवेदन तयार गरेर कार्यदलले सचिवालयलाई बुझाउने र त्यसपछि स्थायी कमिटी बैठकले पास गर्ने हो, हामी छिटो भन्दा छिटो प्रतिवेदन बुझाउने तयारीमा लागिरहेका छौं’ भुषालले भने ।
गठन भएको कार्यदलले औपचारिक र अनौपचारिक बैठक बसेर पार्टीका संगठनहरुको एकीकरणका विषयमा देखिएका समस्या समाधानका लागि सहमति जुटाउने प्रयास गरिरहेको छ ।
कार्यदल रामबहादुर थापाको नेतृत्वमा महासचिव विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, रघुवीर महासेठलाई राखेर गठन भएको थियो ।