बेल्जियम, १० कात्तिक – गायकगायिका विभिन्न कार्यक्रम लिएर विदेश पुग्छन् । त्यस्तो पंक्तिमा पोखराका कवि पनि परेका छन् । कवि तीर्थ श्रेष्ठ एकल कवितावाचनकै लागि अहिले युरोपमा छन् । बेल्जियमको लुभेन सहरमा कात्तिक ७ गते उनले आफ्ना कविता सुनाए । तीर्थलाई कवितावाचनका लागि त्यहाँका साहित्यप्रेमी नेपालीको संस्था इन्द्रधनुष क्लबले निमन्त्रणा गरेको हो ।
मूलत कवि तीर्थ आफैं संग्लन संस्था पोखरेली युवा सांस्कृतिक परिवारले कुनै बेला पोखरामा टिकटमा मुक्तक कार्यक्रम चलाउँथे । उनी आफैं मुक्तक लेख्छन् । लुभेनमा उनले कविताको साथमा मुक्तक र गजल पनि वाचन गरे । कवितावाचनको सुरुमै उनले आमालाई सम्झिए ।
आमा दिनभर ढिकीजाँतो गरेर थाकेकी छे
तै पनि सन्तानले सुख पाउन्नन् कि भनेर कापेकी छे
यसरी हरेक घरमा ईश्वरभन्दा महान् आमा बाँचेकी छे ।
आमाहरू सौतेनी हुँदैनन्, सौतेनीहरू आमा हुँदैनन्’, उनको बहुचर्चित कविता हो । तर यसपालि आमाकै सम्मानको अर्काे कविता पनि थपेका हुन् । तीर्थको टे«डमार्क बनेको कविता हो, हिउँमा लेखिएका नामहरू । त्यो शीर्षक कविता पनि उनले सुनाउन छुटाएनन् ।
हिउँमा लेखेर आएका छौं
हामीले आ–आफ्ना नामहरू
एकै छिनपछि घाम लाग्यो भने
रहने छैनन् हाम्रा नामहरू
एकैछिनपछि हिउँ थपियो भने
पनि रहने छैनन् हाम्रा नामहरू
हामी हुँदै नरहने हाम्रा नामहरू,
हामी नै नभएपछि कसरी रहलान् हाम्रा नामहरू ।
हिउँमा लेखिएका नाम र तीर्थका अरू कवितामा वान्समोर आएको कार्यक्रम संयोजक भोजबहादुर जीसीले जानकारी दिए । पागलहरू, चुपचाप, म यशोधरा, प्रेमको पुस्तक, अन्नपूर्णको वरिपरि, भूगोलले मात्र देश बाँच्दैन, बाघ, राजधानी, कवि र सत्तालगायत कविताका साथै केही मुक्तक र गजल पनि उनले वाचन गरेका हुन् । बेज्जियमका बासिन्दा तथा कवि दीपेन्द्र केसी, विमल गिरी र सौरभ रञ्जितकारले कवि तीर्थसँग पुस्तक विनिमय गरेका थिए ।