मानव तस्करीको आरोप लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले आफूले कुनै गल्ती नगरेको दाबी गरेकी छन् । गत सोमबारको मन्त्रिपरिषद् बैठकले राजदूत शेर्पालाई बर्खास्त गरेको खबर बाहिरिएको विषयमा राजदूत शेर्पाले मिडियाले हुँदै नभएको विषयमा समाचार लेखेर आफूलाई निकै ‘टर्चर’ दिएको बताइन् ।
राजदूत शेर्पाले आफूमाथि मानव तस्कर गरेको भन्ने आरोप झुटो भएको बताएकी छन् । राजदूत शेर्पाले आफूलो प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट नगरेको पनि दाबी गरेकी छन् । साथै उनले आफू नियमित रुपमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको सम्पर्कमा रहेको बताएकी छन् ।
उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै परराष्ट्रमन्त्रालयले अनुमति दिए अगामी हप्ता पत्रकार सम्मेलन गरेर जानकारी दिने बताइन् ।
उनले भनेकी छन्– मैले के अपराध गरें, न त मेरो विरुद्ध मुद्दा परेको छ ? न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै पदीय अधिकार दुरुपयोग गर्यो भनेर अनुसन्धान नै गरेको छ ? कसैले कपोलकल्पित आरोप लगाएकै भरमा मेरा विरुद्ध नानाथरि कुरा गरिएका छन् ।
म राजदूत भएर गएपछि जुन २०१७ मा भान्से र चालकको रुपमा वाङ्छु शेर्पालाई मैले अष्ट्रेलिया लगेको हो । उनी छ महिना काम गरेपछि मेरो निवासबाट भागे । म न्यूजील्याण्डमा सपरिवार क्रिडेन्सियल (ओहोदाको प्रमाणपत्र) बुझाउन गएका बेला उनी अष्ट्रेलियाको मेरो निवासबाट भागेका हुन् ।
वाङ्छु शेर्पाले सेप्टेम्बरमा मलाई आरोपित गरेको हो । नेपालमा रहँदा पेन्टिङ जानेको, चिया पसल गरेर संघर्ष गरिरहेको र अन्य सिपहरु समेत भएकाले उ मेरोमा काम गर्न जान राजी भएरै लगेको हो । नेपाल सरकारले परिचारक सेवाका मानिसलाई अलग्गै तलब भत्ता दिंदैन । सामान्य चार पाँच सय डलर तलबमा काम गर्ने गरि उसलाई लगेकी हुँ । प्रोटेक्सन भिसाका लागि उसले मलाई आरोपित गरेको हुनसक्छ ।
लक्कीले चालकका रुपमा आफूसँगै अष्ट्रेलिया लगेकी वाङछु शेर्पाले दुईपटक गरी ३० लाख रुपैयाँ दिएको र उता गएपछि पनि चार वर्षसम्म महिनाको हजार डलर बुझाउने लिखित सहमति गरेको दाबी गरेका छन् । सहमतिअनुसार रकम बुझाउँदै आएको भए पनि वाङछुकी श्रीमती काठमाण्डुमा मानव तस्करी आरोपमा पक्राउ परेपछि उनले घटना बाहिर ल्याएका हुन् ।