बागलुङ, ९ कात्तिक – प्रसिद्ध बागलुङ भगवती मन्दिर तथा आसपासको क्षेत्रलाइ वृहत्तर विकास गरी विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने योजनालाइ पुरा गर्न विस्तृत गुरुयोजना निर्माण शुरु भएको छ ।
कालिका भगवती गुठी व्यवस्थापन समितिले बनाएको योजनालाइ इन्जिनियरिङ मार्फत मूर्त रुप दिनका लागि बनाइन लागिएको गुरुयोजनाको प्रारम्भिक नक्सा सोमबार प्रस्तुतीकरण गरिएको थियो । काठमाण्डौ स्थित मल्टी डिसिपिलीनरी कन्सल्ट्यान्ट प्रालिले तयार गरेको गुरुयोजना प्रस्तुतीकरण गर्दै २६ करोड ५६ लाख रुपैयाँको लागतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनको काम गर्ने तयारी भएको हो । भक्तजन बढाउने, पर्यटकीय तथा वातावरणीय दृष्टीले पनि आर्कषक बनाउने सहितका विभिन्न सूचक राखेर समितिले गुरुयोजना बनाउने जिम्मा उक्त कंपनीलाइ दिएको थियो । कालिका गुठीले राखेको योजना पुरा गर्न ५१ सूचक पुरा गर्नुपर्ने छ । उक्त अभियान अन्र्तगत वृद्धाश्रम निर्माण, धर्मशाला, खानेपानी, शौचालय व्यवस्थापन, पशुबधस्थलको सुधार गर्ने समेत रहेको छ । त्यस्तै कालिका मन्दिर आसपासको १ सय ९० रोपनी जमिनको जंगलमा रहेका जंगली जनाबरको संरक्षण, विभिन्न प्रकारका भ्युटावर निर्माण समेत गरिने भएको हो ।
केही बर्ष अघिदेखि गुठीले मन्दिरक्षेत्रलाइ व्यवस्थापकीय सुधार गरिरहेको छ भने हरेक महिना संकलित भेटी र अन्य आयव्याय सार्वजनिक पनि गर्न थालेको छ । मुक्तिनाथ प्रवेशद्वारमा रहेकोले भारतीय पर्यटक समेत आउने भएकोले गुरुयोजनाले आर्कर्षित गर्ने थप योजना ल्याउने बताइएको छ । हाल बनभोज स्थललाइ पनि व्यवस्थापन गरेर थप आर्कषक र पूर्वाधारहरु थप गर्ने गुठीको योजना छ । कन्सल्ट्यान्टले पनि योजनामा पूर्वाधार निर्माणलाइ प्राथमिकता दिएको छ । सबै पूर्वाधारलाइ एउटै प्रकारको प्यागोडा शैलीमा निर्माण गर्ने नक्सांकन गरेको हो ।
मन्दिर परिसरमा पनि ३२ मीटरको दुरीको गोलो घेरामा कुनै पनि पूर्वाधार नबनाउने र भक्तजनको भीड भएको समयमापनि सहज दर्शन गर्ने स्थल बनाउने योजना छ । मन्दिर परिसरमा एउटा आइटी पार्क बनाएर विद्युतीय दर्शनको व्यवस्था पनि गर्ने योजनामा उल्लेख छ ।
कन्सल्ट्यान्टले मन्दिरको मुख्य गेटलाइ आर्कषक बनाउने योजना पनि बनाएको छ । त्यस्तै गेट देखि मन्दिर सम्मको सडकलाइ सिधा बनाउने र रुख कटान गर्ने योजनालाइ भने स्थानीय राजनीतिक दल र अन्य सरोकारवाला निकायले उचित मानेका छैनन् । कालिका भगवती मन्दिरको आर्कषणनै जंगलमा रहेकोले हो भन्दै उनीहरुले हालकै अवस्थालाइ अद्यावधिक गर्दै पूर्वाधारहरु मात्र बनाउने र मौलिक संस्कृतिलाइ विर्सन नहुने उनीहरुले तर्क गरेका थिए । सुरक्षाका लागि प्रहरी लगायतको अन्य पूर्वाधार र उपकरण समेतको व्यवस्था गर्नुपर्ने सुझाव पनि उनीहरुले दिएका छन् ।
कार्यक्रममा कन्सल्ट्यान्टको तर्फबाट पूर्णमान शाक्य र रोम घर्तीले प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा बरिष्ठ प्रहरी उपरिक्षक छविलाल जोशी, समाजसेवी देबबहादुर श्रेष्ठ, जिल्ला वन अधिकृत बिन्दुकुमारी मिश्र, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु र गुठीसँग सम्बन्ध राख्नेहरुले बोलेका थिए । उक्त योजनालाइ स्थानीयको सुझावको आधारमा परिमार्जन गरेर प्रयोगमा ल्याइने योजना गुठीको भएको अध्यक्ष राजु खड्काले बताए । प्रयोगमा ल्याउँदा स्थानीयको चाहना र पर्यावरणलाइ सन्तुलन हुने कुरामा ध्यान दिइने खड्काले जानकारी दिएका छन् । आगामी दिनमा घण्टी राख्ने तथा आँफू खुसी पूर्वाधार बनाउने कामलाइ पनि व्यवस्थित गरेर गुठीको अनुमति र गुरुयोजनाको मापदण्डमा रहेर मात्र बनाउन पाउने व्यवस्था गरिने छ । बागलुङ नगरपालिका र नगर विकास कोषको सहयोगमा गुठीको वृहत गुरुयोजना निर्माण भैरहेको हो ।