सन १९९८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाइएको थियो भने आगामी वर्ष अर्थात् सन २०२० लाई पनि नेपाल सरकारले भ्रमण वर्षको रुपमा मनाउन लागेको छ । यसै सन्दर्भमा भ्रमण वर्षलाई सफल पार्ने र पर्यटन व्यवसायलाई थप परिश्कृत गर्दै लैजानका लागि पर्यटन व्यवसायको क्षेत्रमा लगानी गर्नेहरुको पनि भिड बढ्दो छ । म्याग्दी जिल्ला सदरमुकाम बेनीलाई केन्द्रमा राखेर सामुहिक रुपमा पर्यटन व्यवसायतर्फ लाग्नका लागि हालै सञ्चालनमा आएको बेनी टुर एण्ड ट्राभल्स प्रा.लि.ले के के गर्दै छ त यसै सन्दर्भमा प्रस्तुत गरिएको छ प्रा.लि.का अध्यक्ष भोजबहादुर रिजाल सँगको कुराकानी ।
कसरी भयो त दर्ता ?
म्याग्दी उद्योग वाणिज्य संघको अगुवाईमा म्याग्दी भ्रमण वर्ष –२०७५ मनाइ रहेको अवस्थामा सबैले आ–आफ्नै स्थानबाट सक्दो सहयोग त गर्नु पर्छ नै । तब मात्र जिल्लामा पर्यटक भिœयाउन सहज हुन्छ भन्ने उद्देश्य सहित नै जुरेको हो बेनी टुर एण्ड ट्राभल्स प्रा.लि.को नाम । लामो अध्ययन र छलफल पश्चात वि.सं. २०७५ साउन २९ गते कम्पनि रजिष्ट्रारको कार्यालयको १९५९६५ औं नम्बरमा बेनी टुर एण्ड ट्राभल्सको दर्ता भएको हो । दर्ता भए सँगै यस क्षेत्रमा थप अध्ययन अनि शेयर व्यवस्थापनको काम पनि अगाडी बढेको छ भने अहिले बेनी बजारको क्याम्पसचोकमा कार्यालय स्थापना गरेर सेवा प्रवाहमा लागि रहेका छौं । पर्यटन व्यवसाय भनेको सेवा विक्री गर्ने कम्पनि हो । त्यसैले हामीले सेवालाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढी रहेका छौं र लागि रहन्छौं पनि ।
के कस्तो अवस्था छ त प्रा.लि.को ?
म्याग्दी जिल्लामा पहिला पनि ट्राभल्सको सञ्चालन गर्ने प्रयास नभएको होइन । तर पनि विगतमा भएको भन्दा पनि अहिले हामी निकै फरक तरीकाले अगाडी बढी रहेका छौं । हाल हामी सबै क्षेत्रका व्यक्तित्वहरुको सहभागितामा यो कम्पनि सुरुआत गरेका छौं । सबै क्षेत्रका व्यक्तीहरुको सहभागिताले गर्दा पनि हाम्रो यो संस्थाको निरन्तरता र दिगोपनको आशा गर्न सकिन्छ । राजेश शाक्य, खमबहादुर थापा मगर, बिगल राना, लोकबहादुर पुन, नन्दकुमार पाइजा र भोजबहादुर रिजाल गरी छ जनाको समूहले प्रा.लि.को थालनी गरेका हौं । हाल नरेश श्रेष्ठ, दुर्गा बुढा र टिकाराम गुरुङ समेत गरी ९ जना सम्मिलित छौं । उद्योग व्यवसाय, पर्यटन क्षेत्र अर्थात् फोटोग्राफी भिडियोग्राफी, सामाजिक सेवा, शैक्षिक परामर्श जस्ता विभिन्न पेशा व्यवसाय सँग आवद्ध अनि त्यस क्षेत्रका व्यक्तिहरुको सामुहिक बिचार र लगावले गर्दा नै यो संस्थाको भविष्य राम्रो रहेको मान्न सकिन्छ ।
भौतिक पूर्वाधारको अवस्था ?
कुनै पनि संस्था तथा निकाय सञ्चालनका लागि पहिलो चरणमा त भौतिक पूर्वाधारको आवश्यकता पर्छ नै । त्यसैले हामी सँग पनि त्यसको आवश्यकता त पक्का छ । हामीले १ करोड कुल पुँजी लक्षित गरेर सञ्चालन गरेका छौं । अहिले हामी सँग दुई वटा स्कोरपियोर गाडि रहेको छ । २०७५ साउनमा संस्था दर्ता गरेर अन्य कार्य अगाडी बढाएको भएपनि टेक्नीकल रुपमा हामीले २०७५ कार्तिक १५ देखि सेवा दिन थालेका हौं । कार्तिकमा दुई वटा गाडी आए पछि हामीले सेवा दिन थालेका छौं । अब छिट्टै ५ वटा गाडी आउँदै छ । हामीले पाँच वटा बोलेरो गाडी बुक गरेका छौं र छिट्टै तयार भएर गाडी आउँदै छ । गाडीका लागि आवश्यक बैंकिङ प्रकृयामा सकिना साथ पाँच गाडी आइपुग्छन् । त्यस पछि हामीले धेरै भन्दा धेरै आन्तरीक तथा बाह्य पर्यटकलाई सेवा दिन अझै मजबुद बनाउने प्रयासमा छौं । कार्यालय सञ्चालन देखि लिएर अन्य भौतिक पूर्वाधारका कामहरु भने भै सकेका छन् ।
खास योजना ?
म्याग्दी भ्रमण वर्ष–२०७५ सञ्चालनमा आइ रहेको र त्यसकालागि यातायातको साधन त आवश्यक पर्छ नै भन्ने सोचेर नै यसलाई सुरुआत गरिएको हो । हुन त व्यवसाय थालेपछि मुनाफाको पनि कुरा पक्कै आउँछ तर पनि हामीले थालेको व्यवसाय भनेको नै सेवा मुलक हो । त्यसैले हाम्रो योजना भनेकै खासमा पर्यटकलाई उनीहरुको चाहना अनुसारका स्थानको भ्रमण गराउनु नै हो । त्यस प्रकारको अवस्थाले जिल्लाको प्रचार त हुन्छ नै त्यस माथि पनि एक पटक यहाँ आएर फर्केका आन्तरीक तथा बाह्य पर्यटकले आ–आफ्नो स्थानमा गएर उनीहरुले दिने सकारात्मक प्रतिकृयाले जिल्लामा पर्यटक भिœयाउन सहज होस भन्ने नै हाम्रो खास योजना हो । मुख्य रुपमा हामीले सोचेको नै जति सक्यो धेरै पर्यटक म्याग्दी भिœयाउने अनि यहाँका नागरिकहरु नेपाल भित्र जुन सुकै पनि स्थानमा पनि जान चाहन्छन् उनीहरुका लागि सुलभ मूल्यमा सेवा दिनु नै हो ।
आगामी लक्ष्य ?
मुख्य लक्ष्य पर्यटकहरु धेरै भिœयाउने र अर्को लक्ष्य भनेको आम नागरिक अर्थात् आन्तरीक तथा बाह्य पर्यटकहरुको चाहना र सुविधालाई नै ध्यानमा राखेर सेवा दिने हो । त्यसका लागि हामी हालमा स्कोर पियोर गाडीले सुविधा दिइरहेका छौं भने ५ वटा बोलेरो गाडी ल्याउँदै पनि छौं । आगामी दिनमा ट्याक्सीबाट समेत सुविधा दिने भन्ने पनि छलफल गरि रहेका छौं । समग्रमा भन्नु पर्दा हाम्रो व्यवसाय नै सेवाको हो र आम पर्यटकहरुको सेवालाई मुख्य केन्द्रमा राखेर नै अगाडी बढ्ने हो ।