नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारमा आफ्नो नाम पनि मुछिएपछि सो विषयमा जानकारी दिन संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री अधिकारीले पत्रकार सम्मेलन गर्दै छन् ।
आज सोमबार उनले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् । निगमका २ वटा वाइडबडी विमान खरिदमा ४ अर्बभन्दा बढी अनियमितता भएको ठहर गर्दै प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमितिले बहालवाला मन्त्री अधिकारीको नाम पनि कारबाहीका लागि सिफरिस गरेको थियो ।
विमान काण्डमा मन्त्री अधिकारीको चर्को आलोचना र विरोध बढेपछि उनले पहिलोपटक औपचारिकरुपमा पत्रकार सम्मेलन गरेर आफ्नो धारण राख्न लागेको उनी निकट स्रोतले जनाएको छ । आज बिहान १० बजे मन्त्रालयमै पत्रकार सम्मेलन गर्ने तयारी रहेकाे छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राजन केसी नेतृत्वको सो समितिले निगमद्वारा गत असार र भदौमा भित्र्याइएका २ वटा वाइडबडी जहाज खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो ।

सो भ्रष्टाचारमा दुईजना पूर्व पर्यटनमन्त्री, बहालवाला पर्यटन मन्त्रीका साथै ३ जना सचिवहरुलाई कारबाही सिफारिस गरिएपछि सरकारले सो समितिको प्रतिवेदन नै अस्वीकार गरेको छ । सरकारले थप छानबिन गर्ने भन्दै अर्काे ३ सदस्यीय न्यायिक जाँचबुझ समिति गठन गरेकाे छ ।