प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बुधबार पदभार ग्रहण गरेका छन् । राष्ट्रपतिबाट शपथ खाएपछि सर्वोच्च अदालत पुगेका राणाले बिहान पौने १२ बजे पदभार ग्रहण गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले प्रधानन्यायाधीशको कार्यकक्षमा पुगेर राणालाई गला मिलाएर स्वागत गरे । तर, राणाले गरेको पत्रकार सम्मेलनमा भने जोशी उपस्थित भएनन् । जोशीबाहेक सबै न्यायाधीशलाई राखेर राणाले आफ्नो कार्ययोजना र प्रतिबद्धता सुनाए । आगामी चारवर्षे कार्यकालमा अदालतमा गरिने कामको फेहरिस्त सुनाए ।
‘न्यायपालिकामा कार्यरत कुनै न्यायाधीश, कर्मचारी अनियमितता, भ्रष्टाचार वा विचलन कार्यमा संलग्न रहेको, काममा ढिलासुस्ती गरेको सम्बन्धमा अनुगमन, निगरानी र छानबिन गर्न प्रभावकारी संयन्त्रको निर्माण गरिनेछ,’ उनले पत्रकार सम्मेलनमा भने, ‘गलत कार्यमा संलग्न रहेको पाइएमा तत्काल कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।’
खबताउँदै उनका लागि इजलास नतोक्ने स्पष्ट पारे । ‘जोशी मेरो कलेज सहपाठी पनि हुन् । सर्वोच्चमा हामी सँगै न्यायाधीश पनि छौँ, तर मलाई कठोर निर्णय लिनुपर्ने बाध्यता छ,’ उनले भने, ‘हाम्रा विषयमा पनि गम्भीर प्रश्न उठ्छ भने हामी बाटो लाग्न तयार हुनुपर्छ । संसदीय सुनुवाइ समितिमा पनि मैले आफ्नो प्रतिबद्धता व्यक्त गरेर आएको छु । संसदीय समितिको निर्णयलाई मान्नुपर्छ र त्यसको निर्णयलाई सम्मान गर्नुपर्छ ।’
उनले अदालतलाई बन्धक नबनाउन जोशीलाई सुझाब दिए । ‘प्रधानन्यायाधीशको पद केवल साथीभाइको नाताले मात्रै हुँदैन, सम्बन्धको नाताले पनि हुँदैन । त्यसकारण मैले यो गम्भीर निर्णय लिएको छु । म मेरो मित्र (दीपकराज जोशी)लाई वरिष्ठतम न्यायाधीशको हिसाबले अदालतलाई बन्धक नबनाउन भन्छु,’ प्रधानन्यायाधीश राणाले भने, ‘उहाँले अदालतलाई बन्धक बनाएर अझै विवादित बनाउनुहुँदैन । उहाँले अब अदालतलाई निकास दिनुहुनेछ भन्ने कुरामा म विश्वस्त छु । उहाँले राजीनामा गर्नुहुनेछ भन्ने आशाका साथ अदालतको पेसी तोकिएको छैन र भविष्यमा पनि जोशी श्रीमानको पेसी तोकिनेछैन ।’