नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ ।
जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भू–उपग्रह प्रक्षेपण गर्न लागिएको हो ।
‘बर्डस थ्री’ नामक भू–उपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई दुई करोड रुपैयाँ उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान ९नाष्ट०का प्राविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताउनुभयो । सरकारले सहुलियत मूल्यमा तीन भू–उपग्रह एकैसाथ निर्माण तथा प्रक्षेपणका लागि उक्त रकम पठाएको जानकारी उहाँले दिनुभयो ।
वैशाखदेखि प्रक्षेपण हुने उक्त भू–उपग्रहबाट देशका विभिन्न स्थानको तस्बिर दैनिक सङ्कलन तथा हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना प्रवाह गरिनेछ । जापानमा भू–उपग्रह निर्माण भई अमेरिकाबाट प्रक्षेपण गरिने जनाइएको छ । सङ्काय प्रमुख ढकालले भन्नुभयो, ‘२०७६ सालको शुरुआतसँगै नाष्टका वैज्ञानिक र विज्ञान तथा प्रविधिमन्त्री जापान पुगेर भू–उपग्रह प्रक्षेपण गर्ने कार्यक्रम छ ।’
प्रक्षेपणपछि नेपालको आफ्नै भू–उपग्रह नहुँदा अन्य देशसँग ठूलो रकम खर्चेर सूचना तथा जानकारी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ । भू–उपग्रहले नेपालको आकाशमा दैनिक पाँचदेखि १० मिनेटसम्म तस्बिर अभिलेखीकरण गर्नेछ । प्राप्त हुने तस्बिर र सूचनालाई नाष्टले आफ्नै कार्यालयको ‘ग्राउन्ड स्टेशन’मा भण्डारण गर्नेछ । नेपालले भाडाका भू–उपग्रहबाट सूचना तथा जानकारी लिँदैआएको छ ।