गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज आइतबार ‘तमु ल्होसार’ मनाएका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।
जिल्लाको बेनी नगरपालिका–४ थामडाँडामा बसोवास गर्ने तमु समुदायले आफ्नो नयाँ वर्ष धुमधामका साथ मनाएका छन् । पुसे १५ अर्थात् आइतबार तमु प्ये, ल्हु संघ म्याग्दीको आयोजनामा विविध कार्यक्रमका साथ ल्होसार मनाइएको छ ।
आफ्नो संस्कृतीलाई जोगाइ राख्ने र पुस्तान्तरण गर्ने मुल उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको तमु प्ये, ल्हु संघ इकाई कार्य समिति म्याग्दीका अध्यक्ष लिला गुरुङले बताए ।
ल्होसारको अवसर पारेर थामडाँडामा आयोजना गरिएको आर्चरी प्रतियोगितामा बेनी पहिलो भएको थियो भने दोश्रो स्थान कुहुँले कब्जा जमाएको तमु प्ये, ल्हु संघ म्याग्दीका सदस्य राजु गुरुङले बताए ।