पर्वतको जलजला गाउँपालिका–३, पर्वत बेनीमा बिहीबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना र जलजला उद्योग वाणिज्य संघ इकाइको सहआयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।
शान्तिसुरक्षा र प्रहरी गतिविधिका बारेमा गुनासो सुन्न, स्थानीय शान्तिसुरक्षा र लागूऔषध दुव्र्यसनी नियन्त्रण तथा विभिन्न प्रहरी योजनाहरु जनस्तरमा जानकारी दिने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएका छन् । सार्वजनिक सुनुवाई कार्यक्रममा पर्वत बेनीका स्थानीयहरुले भरपर्दो शान्तिसुरक्षाको व्यवस्थाको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागूऔषध नियन्त्रणका लागि कडाई गरेपछि पछिल्लो समय पर्वत बेनीमा लागूऔषधका गतिविधिहरु बढेको र नियन्त्रणका लागि प्रहरीको सक्रियता बढाउनुपर्नेमा स्थानीयवासीहरुले जोड दिएका थिए । राजमार्ग नजिक भएकाले शान्ति सुरक्षालाई मजबुद बनाउन बगरफाँटमा अस्थायी प्रहरीचौकी स्थापना गर्न र वारीबेनी प्रहरीचौकीमा प्रहरी निरीक्षकको सङ्ख्या थप गरी सुरक्षाकर्मीको सङ्ख्या बढाउन माग गरिएको छ । कालीगण्डकी नदीबाट उच्च जोखिम रहेकाले बजार संरक्षणका लागि पहल गरिदिन स्थानीयवासीहरुले जिल्ला प्रशासनलाई अनुरोध समेत गरेका थिए ।
कार्यक्रममा स्थानीयले उठाएको चासो, गुनासो र प्रश्नलाई सम्बोधन गर्दै पर्वतका प्रहरी नायव उपरीक्षक भूवनेश्वर तिवारीले शान्ति सुरक्षालाई मजबुद बनाउन आफूहरु प्रयासरत रहेको बताए । उनले शान्ति सुरक्षालाई मजबुद बनाउनका लागि प्रहरीले विभिन्न कार्यक्रमसहित निरन्तर लागिपरेको बताउँदै स्थानियवासीहरुले पनि सूचना प्रवाह गरी साथ दिन आग्रह गरेका थिए ।
पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले विपद् व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय प्रतिबद्ध रहेको बताउँदै समाजमा शान्तिसुरक्षा कायम गर्न प्रशासनले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । गाउँपपालिका अध्यक्ष यामबहादुर मल्लले स्थानीय तहसँग कुनै समन्वय नगरी कार्यक्रम गरिएकोमा आपत्ति जनाउँदै गाउँपालिकाभित्र गरिने जुनसुकै कार्यक्रमका बारेमा स्थानीय तहसँग समन्वय गरेर मात्र गरिनुपर्ने उनले बताए ।
उद्योग वाणिज्य संघ इकाइका कार्यवाहक अध्यक्ष चित्रलाल रेग्मीको अध्यक्षता र महासचिव शेषराज रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Previous Article‘मायालु डाँडा’ पर्यटकीयस्थल बन्दै
Next Article नेपाललाई स्याटेलाइट दिन भारत र चीन दुबै तयार