काठमाडौं, ९ कात्तिक – भदौको अन्तिम साता रोल्पाको एक प्रहरी चौकी हतियारधारी समूहले घेरा हाल्यो । रातमा बन्दुक र पेस्तोल बोकेर चौकी आक्रमण गर्न १०–११ जनाको समूह पुगेको थियो । शंकास्पद व्यक्ति वरिपरि रहेको आशंकामा सेन्ट्रीका प्रहरीले ढुंगा हाने । प्रहरीले थाहा पाएपछि त्यो समूह भाग्यो ।
चौकी आक्रमण गरेर सशस्त्र युद्धको घोषणा गर्ने योजनामा रहेको मंगोल मूलबासी राष्ट्रिय फोर्स पार्टीको समूह थियो त्यो । त्यसपछि अरू ठाउँमा आक्रमणको तयारी गरेको उक्त भूमिगत पार्टीका अध्यक्ष उपेन्द्र घर्तीमगरसहित १३ नेता–कार्यकर्ता हतियारसहित पक्राउ परेका छन् ।
‘आफूहरूसँग थोरै हतियार भएकाले आक्रमण गर्न गएर पनि उनीहरू फर्किएका थिए,’ नेपाल प्रहरीको विशेष ब्युरोका डिआइजी बमबहादुर भण्डारीले भने, ‘राजनीतिक आवरणमा उनीहरू आपराधिक गतिविधिमा संलग्न थिए ।’
आठजना काठमाडौंमा र पाँचजना रोल्पामा पक्राउ परेका हुन् । उनीहरूबाट नौ थान बन्दुक, दुई पेस्तोल, दुई रिभल्वर र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उपत्यका, सिन्धुपाल्चोक र रोल्पामा संयुक्त अप्रेसन चलाएर सशस्त्र युद्ध सुरु गर्न लागेको उक्त पार्टीका नेता-कार्यकर्तालाई पक्राउ गरेको हो । उनीहरूले रोल्पामा एउटा तथा सिन्धुपाल्चोकको ग्रामिण क्षेत्रका दुई प्रहरी चौकीमा आक्रमणको योजना बनाएका थिए ।
रोल्पामा सो पार्टीको एसटिफ कमान्डर रहेका डेपुटी सुवास राईको नेतृत्वमा आक्रमण गर्न गएको थियो । तर, आक्रमण असफल भएपछि अन्यत्र योजना बनाएका थिए । बैंक र रात्रिबस लुट्ने तयारी गर्दा उनीहरू पक्राउ परेको महानगरीय प्रहरी आयुक्त एआइजी प्रतापसिंह थापाले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए ।
प्रहरीका अनुसार रुकुमको उच्च भेगमा उनीहरूले सैन्य तालिमसमेत गरेका थिए । प्रहरीमा भर्नाजस्तै लडाकु भर्नामा पनि मापदण्ड बनाएका थिए । हतियारसम्बन्धी तालिम दिएको प्रहरीले जनाएको छ । नयाँ पत्रिका दैनिक
सशस्त्र युद्धको तयारीमा रहेको समूह हतियारसहित पक्राउ
Previous Articleसमृद्व नेपालका लागि एमालेः नेता थापा
Next Article तीन महिनामा एक अर्बको ड्राई फ्रुट्स भित्रियो