भौतिक विकास, अस्पताल, विद्यालय र सार्वजनिक महत्वका धेरै पूर्वाधार निर्माणका लागि भन्दै महायज्ञ लगाउने यतिवेला फेसन बनेको छ । कसैले महायज्ञ लगाइ सकेका छन् भने सदरमुकामको विद्यामन्दिर उमाविमा संचालन भैरहेको छ । बलेवाको गणेश माविले मंसिरमा लगाउने भन्दै प्रचारप्रसार गरेको छ भीमसेन उच्च माविले माघमा लगाउने तयारी गरेको छ । जिल्लाका धेरै विद्यालयहरुको भौतिक संरचना महायज्ञकै प्रतिफल हो ।
चन्दा रसिद लिएर हिड्दा १ हजार रुपैयाँ नपत्याउनेले महायज्ञ लगाएपछि लाखौं रुपैयाँ बुझाएका छन् । कतिले जग्गा विक्रि गरेर पनि सहयोग गरेका छन् । दान गरेर पुण्य कमाउने र सहयोग गर्ने कामलाइ राम्रो मान्नुपर्छ । तर हात थाप्नेले पनि त्यसको सदुपयोग गरेर देखाउन जरुरी छ । विद्यामन्दिर उमाविले पनि भूकम्पले क्षति पुगेको पूर्वाधार निर्माणका लागि भन्दै यो अभियान संचालन गरेको हो । १० करोड खर्च गर्नेगरी बनाएको योजनामा कम्तिमा पहिलो चरणमै ५ करोड ५० लाख संकलन गर्ने विद्यालयको योजना छ । यो योजना अनुसार आर्थिक संकलन हुनेमा शंका छैन । धमाधम सहयोग जुटिरहेको छ । तर उक्त रकमलाइ भौतिक पूर्वाधारमा मात्र खर्च गरियो र गुणस्तरमा ध्यान दिइएन भने करोडौ खर्चेर बन्ने भवनहरु भूत बंगला बन्ने संभावना छ । किनकी सामुदायिक विद्यालयहरुले गुणस्तरलाई ध्यान नदिएकै कारण धमाधम बालबालिकाहरु नीजि विद्यालयमा पढ्न गएका छन् । छाप्रो भएपनि नीजि विद्यालयले हरेक बर्ष विशिष्ट श्रेणीमा विद्यार्थी उत्तिर्ण गराएका छन्, सामुदायिक विद्यालयले कति जना पास भए, कति फेल भए भन्ने गणना गर्नुपर्छ । परिक्षाफलमा अनुर्तिण दर बढी हुन्छ । राज्यको लगानी सामुदायिक विद्यालयमै छ । शिक्षकहरु सरकारी कोटाका, तालिम पनि उनीहरुलाइ नै छ । दक्ष शिक्षक बनाउन राज्यले करोडौं लगानी गरेकै छ तर पनि हरेक बर्ष विद्यार्थी संख्या घट्दो छ । विद्यामन्दिर उमाविमा त्यो दर नघटेको दावी गरिएपनि आधारभूत तहमा निकै थोरै विद्यार्थी छन् । उपल्लो तहको विकास गर्छु भन्दा धेरै विद्यालयले आधारभूत तह विर्सेका छन् । जसको कारण गुणस्तरीय शिक्षा नपाउने निश्चित भएपछि अभिभावकले प्राथमिक तहको पढाइ भएपनि नीजिमा लैजान्छन् ।
महायज्ञबाट उठेको रकमलाइ विद्यालय भवन बनाउने, त्यसपछि क्रमश छात्रावास र क्याम्पस तह संचालन गर्ने लक्ष बनाइएबाट गुणस्तरीय शिक्षामा असर पर्ने स्पष्टै छ । १० करोडको भवन बनाउने विद्यालयले प्राथमिक तहमा कम्तीमा ५ सय देखि १ हजार विद्यार्थी पु¥याउन सक्नुपर्दछ । अन्यथा बालबालिका विहिन भवन बनाएर विद्यालयको बोड झुण्ड्याउनुको औचित्य हुनेछैन । जिल्लामा गुणस्तरीय शिक्षामा केही नाम चलेका विद्यालय छन् जहाँ भौतिक पूर्वाधार सम्पन्न भएकोले उनीहरुकोमा विद्यार्थी गएका होइनन् । बरु करोडौं खर्चेर भवन बनाएका विद्यालयमा शिक्षकहरुकै कारण विद्यार्थी घट्दो दरमा छन् । बालबालिकाले रमाएर विद्यालय जान खोज्ने वातावरण बनाउन जरुरी छ । कक्षा १ मा भर्ना भएको बालबालिका एसएलसीमा पुग्दा एक तिहाइ पनि नरहने अवस्थालाइ गुणस्तरीय शिक्षाले मात्र चिर्न सक्ने देखिन्छ । तसर्थ महायज्ञ पछिका दिनहरु भौतिक पूर्वाधारमा मात्र नभएर त्यहाँ वाचन गरिएको अमृतबचन र ज्ञानको गहिराइमा पुग्न सक्नुपर्छ ।
Previous Articleअलैची खेतीप्रति किसानको आर्कषण
Next Article लोकमान सिंहपछि, लोकतन्त्र निलम्बित