सरकारका मन्त्रीहरुले आफूहरुका बारेमा अनर्गल प्रचार गरेर तेजोबध गर्ने काम गरेको भन्दै संचारमाध्यमको चर्को आलोचना गरेका छन् ।
इन्धनका नाममा सरकारका मन्त्रीहरुले दोहोरो सुविधा लिएको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रीहरुले त्यसको प्रतिकार गरेका हुन् । उनीहरुले मन्त्रीका लागि दिइने सुविधाअनुसार सरकारको नियमभित्र बसेर मात्रै आफुहरुले सुविधा लिएको भन्दै उनीहरुले अनर्गल प्रचारबाजीमा नआउन समग्र संचारमाध्यमलाई आग्रह गरेका छन् ।
धुमबराहीमा बिहीबार बसेको नेकपाको स्थायी समिति बैठकपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफूले विद्युतीय सवारीसाधन चलाउने भएकाले इन्धनवापतको सेवा नलिएको दाबी गरे । उनले मन्त्रीकाबारे अनर्गल प्रचारवाजीमा नलाग्न संचारजगतलाई आग्रह पनि गरे ।
बैठकमा सहभागी मन्त्रीहरुले पनि आफुहरुले इन्धनबापतको दोहोरो सुविधा नलिएको धारणा राखेको भन्दै उनले संचारमाध्यममा आएको समाचारमा सत्यता नभएको दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको २४ सदस्यीय मन्त्रीमण्डलमा २३ मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएको, स्वकीय सचिवलाई गैहकानुनी रुपमा गाडी र इन्धन दिलाएको समाचार सार्वजनिक भएपछि यो विषयले नेकपाको स्थायी कमिटी बैठकमा प्रवेश पाएको थियो ।