नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा राजनीतिक प्रतिवेदनमाथि छलफलसँगै नेताहरुको आरोप प्रत्यारोपण चलिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्तावलाई लक्षित गरेर सार्वजनिक टिप्पणी गरेपछि नेता बामदेव गौतमले दुई तिहाई छँदैछ, संविधान संशोधन गरेर दुईटा प्रधानमन्त्री बनाउनुस्’ भन्ने चुनौती दिएका थिए । बुधबार भने मुख्यमन्त्री छाड्ने शंकर पोखरेलको चेतावनीमा नेता सुरेन्द्र पाण्डेले टिप्पणी गरेका छन् ।
दोहोरो जिम्मेवारी दिएको भन्दै धेरै नेताले प्रश्न उठाएपछि स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार भनेका थिए, ‘राजनीतिक जिम्मेवारी छाड्दिनँ, मेरै कारण समस्या भएको हो भने प्रदेशसभा सदस्यबाट राजीनामा दिन पाऊँ ।’ आफूले प्रदेशसभामा जान नचाहेको तर, ‘कृष्णबहादुर महरालाई दाङमा उम्मेदवार बनाउनुपर्ने भयो’ भन्दै दुबै अध्यक्षले आग्रह गरेपछि बाध्यताले मात्र गएको उनले भनाइ थियो । राजनीतिक जिम्मेवारी दिने बचन दुबै अध्यक्षले आफूलाई दिएको उनको दाबी छ ।
तर, बुधबार स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पोखरेललाई ‘काउन्टर’जवाफ दिएका छन् । दुबै अध्यक्षले भनेको भन्दै पोखरेलले ‘साइकोलोजिकल ब्लाकमेलिङ’ गरेर बैठकलाई प्रभावित पार्न खोजेको त होइन भन्ने उनको आशंका थियो ।