काठमाण्डुमा जारी नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने माग उठेको छ ।
वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको र त्यसले गर्दा जनताको समर्थन गुमिरहेको भन्दै मन्त्रीमण्डल पुनर्गठनको माग गरिएको हो । स्थायी कमिटी सदस्य रघुजीत पन्तले नेकपामा क्षमतावान मान्छेहरूको अभाव नभएकाले काम गर्न नसक्ने र विवादित मान्छेलाई सरकारबाट हटाउनुपर्ने माग गरेका हुन् ।
‘सरकारले काम गर्न सकिरहेको छैन, प्रधानमन्त्रीले मुल्यांकन गर्नुपर्छ,’ उनले बैठकमा भने, ‘काम गर्न नसक्ने मान्छेलाई हटाउँदा केही फरक पर्दैन ।’ साथै उनले प्रदेश कमिटी गठन गर्ने बेलामा दोहोरो जिम्मेवारी दिइएकाले त्यो पार्टीको विधान विपरित भएको बताए । दोहोरो जिम्मेवारीलाई तत्काल सच्याउनसमेत उनले माग गरे ।
साथै उनले नेकपाको सचिवालयले स्थायी कमिटीले दिएको सुझाव विपरित राजनीतिक अधिकार आफैसँग राखेकाले त्यो निर्णयको अधिकार स्थायी कमिटीमा राख्नुपर्ने माग पनि गरे । नेताहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमा टिप्पणी गरिरहेका हुन् ।