नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले समितिको बैठकमा फरक दस्तावेज प्रस्तुत गरेका छन् ।
१४ पृष्ठ लामो फरक दस्तावेजमा पार्टी संगठन निर्माण र नौ महिना अघि गठन भएको सरकारका समीक्षासहितका विषयलाई समेटिएको छ ।
रावलको दस्तावेजमा विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसन (युपिएफ)को एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा पार्टीका नेता तथा सरकारका सहभागितालाई लिएर आलोचना गरिएको छ ।
युपिएफको कार्यक्रममा नेता तथा सरकारको सहभागिता के कति कारणले राजनीतिक र कुटनीतिक रुपमा गल्ती हो भन्ने कुरालाई उल्लेख गरिएको छ । १४ पृष्ठ लामो प्रतिवेदनमा दुई पृष्ठ विवादित संस्था र त्यसका गतिविधिको विषयमा केन्द्रिय रहेको छ ।
त्यसैगरी पार्टी एकीकरणपछि संगठनात्मक अवस्था र नौ महिना सरकारका सञ्चालनको विषयलाई पनि छलफलका एजेण्डा बनाउनुपर्ने माग रावलले गरेका छन् । त्यसैगरी नेपालले राष्ट्रियताका पक्षमा खेल्नुपर्ने भूमिका, स्वतन्त्र परराष्ट्र नीति, राष्ट्रिय सुरक्षा र पार्टी–सरकारबीचका सम्बन्धको विषयलाई पनि रावलको दस्तावेजमा समेटिएको छ ।
रावलअघि सचिवालय सदस्य वामदेव गौतमले पनि बैठकमा फरक दस्तावेज प्रस्तुत गरेका थिए । सो दस्तावेजमा गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीका चर्को आलोचना गरेका छन् ।
शनिबारबाट शुरु भएको स्थायी समितिको बैठकमा अध्यक्षद्वयले पेस गरेका प्रतिवेदनमा फरक मत राख्दै गौतम र रावलले वैकल्पिक प्रतिवेदन पेस गरेका हुन् ।