सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमार्फत असन्तुष्ट पक्षलाई काउन्टर हानेका छन् । पार्टीको कुरा मिडियामा छताछुल्ल भएपछि असन्तुष्ट समूहलाई प्रतिवेदनमार्फत् दुई अध्यक्षले काउण्टर दिएका हुन् ।
शनिबार भएको स्थायी कमिटीको बैठकमा दुबै अध्यक्षको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरे । २२ पृष्ठ लामो ८ खण्डमा विभाजित राजनीतिक प्रतिवेदनमा पार्टीभित्रका असन्तुस्ट नेताहरुलाई काउन्टर हानिएको छ । प्रतिवेदनको सात नम्बर बुँदाको ‘पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित बनाउने सम्बन्धमा’ शीर्षकमा पार्टीका असन्तुष्ट नेताहरुलाई काउन्टर छ ।
पछिल्लो समय सचिवालयले निर्णय गर्न नपाउने र त्यसलाई स्थायी कमिटीले उल्टाउन सक्नेसम्मका सार्वजनिक अभिव्यक्ति पार्टीकै शीर्ष नेतृत्वबाट आएको छ । यसलाई सम्बोधन गर्दै प्रतिवेदनमा भनिएको छ, ‘यो सचिवालय कुनै नेता, प्रधानमन्त्री या मन्त्रीको निजी सचिवालय जस्तो होइन, यो पार्टीको मुख्य नेतृत्व ९कोर अफ दि लिडरसिप० हो । सचिवालयले त्यसैगरी काम गरेको छ । र, गर्दै जानुपर्दछ,’ प्रतिवेदनमा भनिएको छ, ‘ने क पाको केन्द्रीय सचिवालय आकारमा सानो भएको हुनाले त्यसले निर्णय गर्न नसक्ने या नपाउने होइन । विधानतः राजनीतिक र संगठनात्मक निर्णय गर्ने अधिकार सचिवालयलाई छ ।’
प्रतिवेदनमा पार्टी नेतृत्वको आलोचना गर्न छुट भए पनि विधिसम्मत् र मर्यादित हुनुपर्ने बताइएको छ । ‘हामी समकालीन नेपाली र विश्व राजनीतिक अन्तर पार्टी लोकतन्त्रका दृष्टिले उन्नत अभ्यासमा अभ्यस्त पार्टी हौँ । हामीकहाँ विधिसम्मत ढंगले, लोकतान्त्रिक ढंगले नीति र नेतृत्वको विकल्प प्रस्तुत गर्ने र आफूले प्रस्तुत गरेको विकल्पलाई स्थापित गर्ने अधिकार छ,’ प्रतिवेदनमा अगाडि भनिएको छ, ‘नीति, निर्णय र नेतृत्वप्रति आलोचना गर्ने असाधारण छुट छ । पार्टीको अपेक्षा यति मात्र हो कि आलोचना मर्यादित होस्, विधिसम्मत् होस् ।’
बैठक बस्न ढिलाइ भएको प्रतिवेदनमा स्वीकार गरिएको छ । यो ढिलाइलाई लिएर नकरात्मक टिप्पणी गर्नु उचित नभएकोसमेत प्रतिवेदनमा उल्लेख छ ।
‘बैठकहरु नियमित हुनुपर्दछ र सकेसम्म फराकिलो दायराबाट निर्णयहरु हुनुपर्दछ भन्ने कुरामा दुविधा हुन सक्दैन,’ प्रतिवेदनमा अगाडि भनिएको छ, ‘तर, पार्टी एकीकरण प्रक्रियाको यो विशिष्ट अवस्था, पार्टीले सरकारको नेतृत्व गरिरहेको सन्दर्भ र राज्यका कतिपय अपरिहार्य दायित्वमा व्यस्त हुनुपर्ने कारणले बैठकको आयोजनामा यदाकदा हुन सक्ने विलम्वलाई मनसायसँग जोडेर नकरात्मक टिप्पणी गर्नु उचित होइन ।’
पछिल्लो समय ने क पाको बैठक आह्वान गर्न अध्यक्षहरु उदासिन भएको र बोलाइएको बैठक समयमै सुरु नभएको भन्दै आलोचना भएको थियो । अघिल्लो सचिवालय बैठक निर्धारित समयमा सुरु नभए पछि पार्टीका चार जना सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरेका थिए ।