विश्वका अधिकांश फुटबल खेलाडीहरु ३३ वर्षको उमेरमा खेलबाट विश्राम लिन्छन् । उमेरले पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको पनि फुटबलबाट विश्राम लिने बेला हो । तर, उनै रोनाल्डोले आफू र आफ्नो क्लब युभेन्ट्स युरोपियन च्याम्पियन्स लिग जित्न सक्षम रहेको दाबी गरिरहेका छन् ।
आफू ३३ वर्षकै उमेरमा लय गुमाउने खालको फुटबलर नरहेको भन्दै रोनाल्डाले खेलेरै फरक खेलाडी भएको पुष्टी गर्न चाहेका छन् । ६ महिनाअघि स्पेनिस क्लब रियल म्याड्रिडबाट इटालियन क्लब युभेन्ट्समा गएका रोनाल्डोले त्यहाँ पनि दमदार प्रदर्शन गरिरहेका छन् । उनी सिजनको सुरुमा रियल छाडेर १ सय १६ मिलियन युरोमा युभेन्ट्स गएका थिए । युभेन्ट्सका लागि उनले १९ खेलमा ११ गोल गरिसकेका छन् ।
रोनाल्डोले युभेन्ट्स सदावहार च्याम्पियन्स लिगको दाबेदार टोली रहेकोले यसपटक उपाधि हत्याउने बताए । ‘म युभेन्ट्समा नयाँ चुनौती सामना गर्न आएको हो । हिजो रियलमा थिएँ । त्यहाँ सबै जितियो राम्रै भयो । त्यो विगत थियो । म अहिले युभेन्ट्समा छु, त्यसैले यही सबै जित्न चाहन्छु,’ रोनाल्डोले भनेका छन् । रोनाल्डोले युभेन्ट्सलाई च्याम्पियन्स लिग दिलाउन जस्तोसुकै योगदान दिन आफू तयार रहेको पनि बताए ।
इटालियन सिरिए लिग उपाधिको दौडमा रहेको युभेन्ट्स समूह ‘एच’ को विजेता बन्दै च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ । रोनाल्डोले आफू युभेन्ट्समा इतिहास बनाउन आएकोले कमजोर नआँक्न चुनौती पनि दिएका छन् ।
रोनाल्डो सन् २००९ मा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियल म्याड्रिड पुगेका थिए । फुटबल जीवनको स्वर्णिम नौ बर्ष रियलमा विताएका उनले ४ सय ३८ खेलबाट ४ सय ५१ गोल गरेका थिए । रोनाल्डो रियल पुगेपछि क्लबका सर्वाधिक गोलकर्ता पनि बने । उनले रियललाई स्पेनिस ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेका थिए ।
सन् २०१७ मा रोनाल्डोको पूर्व क्लब रियलले अहिलेको नयाँ क्लब युभेन्ट्सलाई ४–१ गोलले हराएर च्याम्पियन्स लिगको उपाधि जितेको थियो । च्याम्पियन्स लिगको उपाधि जित्दा रोनाल्डोले सशक्त प्रदर्शन गरेका थिए । रोनाल्डो रियलमा ह्याट्रि«कसहित चारपटक च्याम्पियन्स लिग जित्ने किर्तिमानी खेलाडी पनि हुन् ।
सन् २०१६ मा पोर्चुगललाई युरोकपको उपाधि समेत दिलाएका रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट पनि युरोपियन च्याम्पियन्स लिग, तीनवटा इङ्लिस प्रिमियर लिग र एफए कपको उपाधि जितेका थिए । युरोपका दुई ठूला क्लबबाट हात पारेको विगतका यी सफलतालाई उनी इटालीमा पनि निरन्तरता दिन चाहन्छन् । संयोगबस रोनाल्डो रियलबाट युभेन्ट्स पुग्दा उनको स्वागत र समर्थनमा उत्रिएका त्यहाँका हजारौं सर्मथकले नारा लगाउँदै भनेका थिए– ‘रोनाल्डो हामीलाई च्याम्पियन्स लिग ल्याईदेउ ।’
युभेन्ट्सले सन् १९९६ पछि च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । त्यसयता युभेन्टस पाँचपटक फाइनलमा पुगेर पनि उपाधिबाट चुक्दै आएको छ । त्यसैले अहिले महान फुटबलर रोनाल्डोको साथमा युभेन्ट्स च्याम्पियन्स लिग जित्न चाहन्छ ।