अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक म्याग्दीको अगुवाइमा म्याग्दीको बेनीमा मानवअधिकार दिवसको अवसर पारेर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेक म्याग्दीको अगुवाइमा भएको कार्यक्रममा बेनी बजारको न्यू वेष्ट प्वाइन्ट आवासिय माविका कक्षा ११ र १२ तथा वेष्ट प्वाइन्ट कलेजका विविएस अध्ययनरत १ सय ५० विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी विरबहादुर बुढामगरले बाल अधिकार सम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको बारेमा सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा डिएसपी बुढामगरले कुनकुन अवस्थामा बालअधिकारको हनन भएको हुन्छ जानेर वा अन्जानमा भन्ने विषयमा समेत जानकारी गराएका थिए । अधिकारको मात्र नभै आफ्नो कर्तव्य र अरुको पनि अधिकारका बारेमा पनि सोच्न आग्रह गर्दै डिएसपी बुढामगरले बालबालिकाबाट हुने अपराधमा के कस्तो सजाय हुन्छ भन्ने सन्दर्भमा समेत जानकारी गराएका थिए ।
हरेक वर्षको १० डिसेम्बरमा अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाईन्छ, सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको एतिहासिक दिवसको सम्झनास्वरुप यो दिवस मनाईन्छ । बिश्वमा यस मानव अधिकारको घोषणापत्र नै सबैभन्दा भन्दा धेरै भाषामा अनुवादीत अनि प्रकाशीत घोषणापत्र हो, यस घोषणापत्र ५०० भन्दा पढि भाषामा अनुवादित अनि प्रकाशीत छ ।
सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता कृष्णराज पन्तले नेपालको कानुन तथा नेपालको संविधानमा मानवअधिकार तथा त्यसको हनन गर्ने र अपराध गर्नेहरुलाई हुने सजायको बारेमा जानकारी गराएका थिए । उनले विद्यालय तथा अन्य क्षेत्रमा हुने दुव्र्यवहारका बारेमा पनि विद्यार्थीहरु सचेत हुन पर्नेमा जोड दिएका थिए ।
इन्सेक प्रतिनिधि अमृत बास्कुनेले मानवअधिकार के हो र यसका विकासक्रमको बारेमा जानकारी गराएको कार्यक्रममा नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठ, वेष्ट प्वाइन्ट कलेजका भाइस प्रिन्सीपल कृष्ण जि.सीलगायतले मन्तव्य राखेका थिए ।