![]() |
म्याग्दी जिल्ला सदरमुकाम बेनी बजार |
अमृत बास्कुने
म्याग्दी जिल्ला धेरै प्राकृतिक श्रोत र साधनले भरिपूर्ण जिल्ला हो भनेर कसैलाइ सुनाइरहन आवश्यक जिल्ला होइन भन्दा अत्युक्ती नहोला । म्याग्दी जिल्लामा प्रवेश गर्ने जो कोहीलाई पनि सामान्य तबरले पनि एक महिना प्राकृतिक श्रोत साधनको अवलोकन गराएरै दिनहरु बिताउन सकिन्छ । बेनी बजार प्रवेश सँगै यहाँको प्राकृतिक श्रोत र यहाँको मनमोहक दृष्यको बारेमा ज्ञान दिएको खण्डमा यहाँका धेरै स्थानमा मानिसहरु भ्रमणका लागि मोहीत हुने त पक्कै छन् ।
म्याग्दी प्रवेश गर्ने दुइ वटा मार्ग छन् । एउटा मालढुङ्गा बेनी सडक खण्ड अर्को भनेको बागलुङ बेनी सडक खण्ड । दुवै सडकखण्डको मिलन बेनीमै हुन्छ । बेनी बजारको प्रवेश द्वारमा म्याग्दी जिल्ला भित्रका प्रमुख पर्यटकीय स्थलको ठूलो होर्डीङ बोर्ड र यहाँका पर्यटकीय स्थल पुग्न लाग्ने समय दुरी तथा त्यस क्षेत्रमा रहेका आवासका बारेमा जानकारी सहितको सूचना दीने गर्न सकेको खण्डमा सबैलाइ सहज हुने त पक्कै पनि छ ।
यस्तै अवस्थाको बारेमा जानकारी गराउनेका लागि समग्र म्याग्दी जिल्लाको पर्यटकीय संभावना उजागर गर्ने उद्धेश्यले बेनी भ्रमण वर्ष मनाउने तयारी भै रहेको छ । यस पवित्र कार्यका लागि म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यको अगुवाईमा विसं २०७५ साललाई बेनी भ्रमण वर्षका रुपमा मनाउन लागिएको हो ।
म्याग्दी जिल्लामा प्रसस्त मात्रामा पर्यटकीय सम्भावना भएको भएतापनि अहिलेसम्म मुस्ताङको प्रबेशद्वारका रुपमा मात्र चिनारी बनाएको छ म्याग्दीले । ‘जबकि बेनी नगरपालिका क्षेत्रमा मात्रै सजिलै तीन दिन तीन दिन घुम्न सकिने सम्पदा रहेका छन्’ भ्रमण वर्षका अभियन्ता शाक्य भन्छन्, ‘गाउँ गाउँ डुल्ने हो भने त म्याग्दीमै महिनौ डुल्न सकिन्छ ।’
अहिले म्याग्दी उद्योग वाणिज्य संघका महासचिव शाक्यकै परिकल्पना एवम् अगुवाईमा भ्रमण वर्ष मनाउन युवाहरु जागरुक बनीरहेको अवस्था छ । यस कार्यमा सबै सरोकारवाला संघ संस्थासँग सहकार्य गरेर भ्रमण वर्ष मनाइने उनले जानकारी दिनमा पनि कुनै किसिमको हिचकिचाहट देखिएको छैन । अब गर्नका लागि धेरै काम बाँकी छन् । पहिलो चरणमा बेनी भ्रमण वर्षका लागि जति सक्यो छिटो भ्रमण वर्ष आयोजक समिति बनाएर काम अघि बढाइनु पर्ने छ । म्याग्दी जिल्ला आफैमा पनि प्राकृतिक खानीको रुपमै लिन सकिन्छ । धौलागिरी हिमाल, गुर्जा हिमाल, टोड्के, अन्धगल्छी, रुप्से झरना, तातोपानी कुण्ड देखि लिएर म्याग्दी जिल्लाको पश्चिम भेगमा पर्ने ढोरपाटन शिकार आरक्ष पनि म्याग्दी जिल्लामा पर्यटक भित्राउनका लागि प्रचार प्रसार गर्न सकिने क्षेत्र हुन् । बेनी बजारको दृष्यावलोकन गर्नका लागि अहिले पछिल्लो समय चर्चामा रहेको स्थान खबरा माथिको लभ्ली हिल छ भने अन्य क्षेत्र समेत हेर्नका लागि बेनी बजार भन्दा माथिको केभ हिल‘गुफा डाँडा’ पनि एक उत्तम स्थान हो ।
अहिले हामीले अर्को वर्षलाई बेनी भ्रमण वर्षको रुपमा मनाउँदै गर्दा स्वदेश तथा विदेशमा बस्ने म्याग्देली, म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डको सहयोग बटुलेर भ्रमण वर्षका कार्यक्रम अघि बढाउनु पर्छ । यत्तीले मात्र पुग्ने छैन । सबै म्याग्देलीले आ–आफ्नो स्थानबाट पनि सयोग गर्न आवश्यक छ । भ्रमण वर्ष सुरु हुनु पहिल्यै पर्यटकीय गन्तव्यहरुकोबारेमा प्रचार–प्रसारलाइ विशेष ध्यान दिन आवश्यक छ । भ्रमण वर्षलाई प्रभावकारी बनाउनका लागि अहिले पछिल्लो समय सामाजिक सञ्जालहरुको बढ्दो प्रभाव छँदै छ यस्तो अवस्थामा यु–ट्युव भिडियो, ब्रोसर तयार गर्नुका साथै भ्रमण वर्षको लागि आधिकारीक वेवसाइट पनि तयार गर्न आवश्यक हुन्छ । बेनी बजारका वरपर मात्र नभै पोखरा, काठमाडौ, चितवन, बुटवल तथा अन्य स्थानहरुमा पनि बेनी÷म्याग्दी भ्रमण होर्डिङ बोर्ड राख्नुका साथै म्याग्दी जिल्लाका पर्यटकीय स्थलहरुको जानकारी समेटिएको पुस्तक आदि बनाएर प्रचारलाइ आक्रामक बनाउन आवश्यक छ ।
कुनै पनि कार्यक्रमहरु गर्न र त्यसलाई सफल पार्नका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुन्छ नै । त्यसैले यस्ता कार्य गर्नका लागि उत्कृष्ट तबरले भ्रमण वर्षलाई सफल पार्नका लागि योगदान गर्ने सञ्चार माध्यम र सञ्चारकर्मीलाई उचित सममान गर्ने किसिमको कार्यक्रम पनि सार्वजनिक गर्न आवश्यक हुन्छ । सञ्चार माध्यमलाई सम्मान गर्ने भनेर प्रचार गर्दा उसलाई केही आश देखाएर आफ्नो बारेमा समाचार बनाउन वा प्रचारप्रसार गर्न लगाइयो भन्ने पनि कुरा आउन सक्छ तर पनि यस्तो कार्य गर्नु सबैको दायित्व पनि हो । कुनै पनि सञ्चार माध्यम वा सञ्चारकर्मीलाई सम्मान गर्ने कुराको पहिला नै प्रचार गर्नु भन्दा पनि २०७५ को समापन अनि भ्रमण वर्षको समाप्तीको अवसरमा गर्नु उत्तम हुनेछ ।
म्याग्दी जिल्ला घुम्न लायक ठाँउ हो । पुनहिल, घोडेपानी, भूरुङतातोपानी, अन्धगल्छी, रुप्से जस्ता पर्यटकीय स्थल म्याग्दी जिल्लाको उत्तरी भेकमा पर्दछन् । यसलाई प्रचार नर्गका लागि म्याग्देलीले काँस्की नयाँ पुल र पोखरामै प्रचारका कार्यक्रमहरु राख्न आवश्यक हुन्छ । वैदेशिक रोजगारीमा गएका म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) प्राय जसो देशहरुमा भएकाले पनि उनीहरु सँगको सहकार्यमा विदेशमा मोनाकै अगुवाइमा पनि म्याग्दी भ्रमण वर्षको प्रचार गर्न सकिन्छ ।
म्याग्दीमा घुम्न लायक ऐतिहासिक, साँस्कृतिक, प्राकृतिक र पौराणिक महत्वका धेरै सम्पदा छन् । तिनको प्रचारप्रसार गरि स्वदेशी तथा विदेशी पर्यटक लोभ्याउने हेतुले नै म्याग्दी भ्रमण वर्ष आयोजना गरिनु पर्छ र यसले म्याग्दी भ्रमण गर्नका लागि २०७५ मात्र हैन यो त सुरुआत हो यसलाइ ब्यापक प्रचार गरेर आगामी दिनमा आन्तरीक तथा बाह्य पर्यटकहरुको केन्द्र म्याग्दीलाई बनाउन सकिन्छ ।
दक्षिण भारत तथा श्रीलङ्कामा रामायणका राम भन्दा पनि रावणलाई मान्नेहरुको संख्या धेरै छ । यस्तो अवस्थामा रामायण तथा अन्य धार्मीक ग्रन्धहरुमा उल्लेख भएको पुलस्त्य ऋषीका नाती रावणको बारेमा पनि प्रचार गर्न आवश्यक छ । रामायण अनि रावणको गहिरो सम्बन्ध रहेकाले रामायण अयोध्या अनि जनकपुरका साथै पुलाहश्रमको पनि प्रचार र अयोध्या र जनकपुर जस्तै धार्मीक पर्यटकको गन्तव्यको रुपमा यसलाई पनि विस्तार गर्न पनि पछि पर्नु हुदैन ।
अहिले हामीले थाहा पाउँदै आएको र भन्दै आएको पर्यटकीय स्थलहरु अन्नपूर्ण फेरो, मुस्ताङको लो–मन्थाङ, म्याग्दी हुँदै रोल्पा पुग्ने गुरिल्ला ट्रेक, मुक्तिनाथ लगायत गन्तव्य जानका लागि पनि म्याग्दीको बेनी आइपुग्नै पर्ने भएकाले त्यस क्षेत्रको पनि प्रचार गर्दा पनि म्याग्दीमा आएर एक दिन बस्ने वातावरण सृजन ागर्न सकेको खण्डमा पनि म्याग्दी भ्रमण वर्ष थप सफल हुने पक्का छ ।
कुनै पनि चिजलाई अरुले जे भने त्यही भन्नु पर्छ भन्ने छैन । हामीहरुले मान्दै आएको रामायणको एक जना पात्र जसलाई हामीले खलपात्रका रुपमा चित्रण गर्दै आएका छौं । उनै रावणको जन्मथलो पनि हो बेनी । म्याग्देलीहरु उनको जन्मथलोमा रामायण पार्क बनाउने मिशनमा छन् । बेनी नगरपालिकाको अगुवाइमा रामायण पार्क बनाउने तयारी भै रहेको छ । हामीले रावण त्यसका लागि नगरपालिकाले पनि बजेट छुट्याईसकेको छ । रामायण पार्क निर्माण कार्यको पहिलो चरणमा नगरसभाबाट पारित भै सकेको छ । त्यस पार्कमा राम, सीता, लक्ष्मण, हनुमान सहित रावणको मूर्ति राखिने बताईएको छ । यसलाई पनि म्याग्दी बेनी भ्रमण वर्षको प्रमुख नाराको रुपमा अगाडी बढाउनुका साथै रामायण पार्क निर्माण कार्यको डिपिआर तथा निर्माण कार्यको थालनीलाई भ्रमण वर्ष आयोजकले ध्यान दिन पर्ने देखिन्छ ।
केही समय अघी नागरिक दैनिकका अमृत भातगाउँलेले ‘पश्चिमका पशुपतिनाथ’ शिर्षकमा एउटा आलेक प्रकाशन गरेका थिए । उक्त आलेख हाम्रै म्याग्दी जिल्लाको गलेश्वरधामलाई लक्षीत थियो र गलेश्वरलाई पनि पशुपतिनाथलाई जस्तै गरि प्रचारप्रसार गर्न आवश्यक रहेको भन्ने तथ्यलाई त्यही आलेखले पनि औंल्याएको थियो । हामीले गलेश्वरधाम, बेनी शिवालय, जगन्नाथ मन्दिर, महारानीथान, बेनी स्तुप, नवदूर्गा मन्दिर, पुलत्स्य पुलाहश्रम र बलमुक्तेश्वर महादेव लगायत धार्मिक सम्पदाहरुको पनि प्रचार गर्न आवश्यक हुन्छ ।
प्राकृतिक रुपले सुन्दर लभ्ली हिल, ज्यामरुककोट, केभहिल, तातोपानी कुण्ड, कालीगण्डकी, म्याग्दी खोला लगायत सम्पदाका साथै मगर, क्षेत्री, छन्त्याल, नेवार, गुरुङ, ब्राह्मण लगायतको साँस्कृतिक विविधता पनि म्याग्दी जिल्लामा प्रसस्त रहेका छन् ।
ऐतिहासिक महत्वका पर्वत राज्यको राजधानी ढोलठान, कोट भण्डार लगायत सम्पदा बेनी क्षेत्रमै छन् । म्याग्दी खोला र काली गण्डकी किनारमा फैलिएको बेनी बजार पनि प्राकृतिको एक टुक्रा सुन्दर गन्तव्य बन्न सक्छ । बेनी बजार क्षेत्रमा मात्रै पर्यटकीय सुविधाका एक दर्जन होटल छन् भने अरु स–साना ५ दर्जन हाराहारीमा होटल छन् ।
नेपाल सरकारले साबिकका अर्थुङगे, सिँगा, घतान, रत्नेचौर, पात्लेखेत, ज्यामरुककोट, भकिम्ली र पुलाचौर ८ गाविस जोडेर बेनी नगरपालिका बनेको हो । बेनी नगरपालिका सहित म्याग्दी जिल्लामा रहेका अन्य ५ गाउँ पालिकाहरुमा पनि प्रस्त छन् यस्ता पर्यटकीय स्थलहरु । यस्ता पर्यटकीय स्थलको प्रचारप्रसार गर्न सकेको खण्डमा म्याग्दी जिल्लामा पर्यटक भित्राउनका लागि निकै सहज वातावरण सृजना हुने पक्का छ । म्याग्दी जिल्ला पर्यटकीय मात्र नभै धार्मीक क्षेत्र पनि हो । टिका ग्रहण गर्ने बेलामा उच्चारण हुने आशिषको स्वलोक ‘जयन्ती, मंगाला, कालि’ यो शब्द पनि बेनी आसपासकै हो । पुलस्त्य ऋषिको तपोभुमि, जडभरतले तपस्या गरेको स्थाल, कृष्ण गण्डकी तथा रघुगंगाको संगमस्थल गलेश्वर जस्ता प्राकृतिक तथा धार्मीक स्थलहरुको प्रचारप्रसारमा उचित ध्यान दिन सकेको खण्डमा म्याग्दी बेनी भ्रमण वर्ष भव्य तबरले नै सम्पन्न गर्न सकिने छ।
राजधानी काठमाडौ बाट २८० किलोमीटरको दुरीमा रहेको म्याग्दी सदरमुकाम बेनीलाइ स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यको रुपमा बिकास गर्न जरुरी छ । स्थानीय संरचनामा देश गै सकेकोले अब सबै स्थानीय निकायहरुले आ–आफ्नो आम्दानीको श्रोत व्यवस्था गर्नु पर्ने छ । त्यस्तो अवस्थामा ‘म्याग्दी–बेनी भ्रमण वर्ष –२०७५’ कोशेढुङ्गा सावित भै सबै स्थानिय तहलाई यस्ता कार्य गर्नमा प्रोत्साहन गर्ने देखिन्छ ।
म्याग्दी उद्योग वाणिज्य संघको अगुवाइमा यस वर्ष हुने म्याग्दी महोत्सव पनि म्याग्दी बेनी भ्रमणवर्ष २०७५ को पूर्व सन्ध्यामा आयोजित महोत्सव हुने भएकाले त्यो पनि प्रचारको लागि निकै उपयोगी हुने छ । म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गर्ने म्याग्दी महोत्सवको थिममै म्याग्दी बेनी भ्रमण वर्ष २०७५ को पूर्व सन्ध्यामा आयोजित म्याग्दी महोत्सव भनेर प्रचार गर्न पनि जरुरी हुने छ । त्यसले भ्रमण वर्षलाई थप उर्जा दिनुका साथै प्रचारप्रसारलाई पनि निकै टेवा पुग्ने छ । कम्तीमा पनि १० दिन सम्म आयोजना हुने उक्त महोत्सवका समाचार कभरेजको क्रममा प्रत्येक सञ्चारकर्मी र सञ्चारमाध्यमले म्याग्दी बेनी भ्रमण वर्षको पूर्व सन्ध्यामा आयोजित म्याग्दी महोत्सव भन्ने शब्दको प्रयोगले पनि मानिसको मुखमा म्याग्दी बेनी भ्रमण वर्ष झुण्डाउनका लागि उत्तम विकल्प हुन सक्छ ।
सकभर बेनी भ्रमण वर्ष २०७५ को ठाँउमा म्याग्दी भ्रमण वर्ष–२०७५ उल्लेख गरेर प्रचार गरेको खण्डमा अति उत्तम हुने छ । यदि यस्तो सम्भव भएन भने ‘म्याग्दी बेनी भ्रमण वर्ष २०७५’ भनिएको खण्डमा दोहोरो अर्थ लाग्ने किसिमको हुने छ । यानकी म्याग्दी र बेनी भनेका एकै शब्द हुन भनेर हामीले ब्याख्या गर्न जरुरी छ । जो कसैले पनि आर्थिक हिसाबले हेरेका हुन्छन् जुनसुकै कार्यक्रमहरु पनि । यस सन्दर्भमा म्याग्दी जिल्ला भित्र जुन सुकै स्थानमा आएर अन्यत्रका मानिसहरुले खर्चीने रकम बेनी बजार नै झर्ने हो । बेनीमै आइपुग्ने भएकाले पनि प्रचारप्रसारको क्रममा बेनी भन्दा पनि म्याग्दी भ्रमण वर्ष भनेर प्रचार गरेको खण्डमा कस्तो होला । यति शब्दहरुमा खेले पछि अब ‘बेनी भ्रमण वर्ष–२०७५’ ‘म्याग्दी भ्रमण वर्ष–२०७५’ वा ‘म्याग्दी बेनी भ्रमण वर्ष–२०७५’ भध्ये कुन चाँही उत्तम विकल्प हुन सक्छ यस सम्बन्धी निर्णय गर्ने जिम्मा पाठक वर्गको काँधमा ।