प्रताप बानियाँ
उत्तरी म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा सामुदायिक लज निर्माण भएको छ । बेनी नगरपालिका, मंगला गाउँपालिका र रघुगंगा गाउँपालिकाको सिमानामा अवस्थित टोड्केमा टोड्के हिल रिसोर्ट प्रालिद्वारा सामुदायिक लज बनाइएको हो ।
प्रालिमार्फत निर्माण गरिएको लजमा ९ जनाले तीन करोड रुपैयाँ लगानी गरेका छन् । सामुदायिक अवधारणाले म्याग्दी जिल्लाका सबैलाई सहभागी बनाउने उद्देश्यका साथ रिसोर्ट खोलेर सञ्चालनको तयारी गरिएको टोड्के हिल रिसोर्ट प्रालिले जनाएको छ । रिसोर्टमा सर्वसाधारणका लागि न्युनतम एक लाखदेखि पाँचलाख रुपैयाँसम्म शेयर आह्वान खुल्ला गरिएको छ । अहिले पूर्वाधार निर्माणको काम धमाधम भैरहेको छ ।
रिसोर्टमा लगानी गर्नेहरुमा पूर्व झिँवासी, टोड्के, पूर्णगाउँ र डडुवाका स्थानीयवासिन्दा रहेका छन्भने अमेरिका, जापान, हङकङलगायत स्वदेश तथा विदेशमा रहेकाहरुबाट शेयर लगानी गरिएको छ । कम्पनी मोडेलमा निर्माण थालिएको रिसोर्टमा धेरैभन्दा धेरै स्थानीयलाई अवसर दिने उद्देश्यसहित रिसोर्टको कामलाई अगाडि बढाइएको टोड्के हिल रिसोर्ट प्रालिका अध्यक्ष मिनबहादुर पाईजाले जानकारी दिनुभयो । कम्पनीको नाममा साढे ४ रोपनीको जग्गा रहेको छ भने साविक झीँ गाविसको सिद्ध सामुदायिक वनबाट सम्झौता गरी ३० वर्षका लागि आवश्यक जग्गा भाडामा लिइएको छ ।
गएको जेठ महिनादेखि रिसोर्टका लागि आवश्यक संरचना निर्माणको कार्य थालनी गरिएको थियो । हाल रिसोर्ट निर्माणको कामलाई अन्तिम चरणमा पु¥याइएको छ । आगामी एक महिनाभित्र रिसोर्टको बाँकी सबै काम सम्पन्न गरेर आउँदो अंग्रेजी नयाँ वर्ष सन् २०१९ देखि रिसोर्ट सञ्चालन गरिने संस्थापक भीम शेरचनले बताउनुभयो । रिसोर्टमा ६५ जना पर्यटकको क्षमता रहेको छ । रिसोर्टमार्फत अग्र्यानिक खाना खुवाउने र स्थानीय उत्पादनलाई जोड दिइने संस्थापक शेरचनको भनाइ छ । पर्यटकीय सम्भावनायुक्त टोड्केमा रिसोर्ट सञ्चालनको तयारी गरिएकाले जिल्लाको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने रिसोर्टका मार्केटिङ एण्ड सेल्स डाइरेक्टर दिनेशनारायण श्रेष्ठ बताउँनुहुन्छ ।
टोड्केमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी बनाउन थालिएको आधुनिक सुविधासम्पन्न रिसोर्टमा एट्याच बाथरुमसहित १० ओटा कोठा, दुईवटा बैठक कक्ष, डाइनिङ हल, कार्यक्रम सञ्चालन गर्न मिल्ने सभाहल, बार, १० वटा टेन्ट हाउसको निर्माणकार्य तीव्र रुपमा अगाडि बढाइएको छ । रिसोर्टमा पर्यटकको इच्छा अनुसार कोठामा वा टेन्ट टाँगेर सुत्न मिल्ने व्यवस्था गरिएको छ ।
म्याग्दी सदरमुकाम बेनीदेखि सवारीसाधनमार्फत डेढ घण्टाको यात्रापछि पुग्न सकिने आकर्षक गन्तव्य टोड्केबाट धौलागिरी, अन्नपूर्ण, निलगिरी, माछापुच्छ«े, मानापाथीलगायत दर्जनौं मनोरम हिमश्रृङ्खलाहरु देखिन्छन् । टोड्केबाट बागलुङ र पर्वत जिल्लाको डाँडाकाँडाहरु समेत देखिन्छ । माघ फागुनमा टोड्केको वनजङ्गलमा फुल्ने राताम्मे गुँरासले यहाँ पर्यटकलाई लोभ्याउने गर्दछ । समुद्री सतहदेखि झण्डै २ हजार ५०० मिटरको उचाइमा अवस्थित टोड्केमा पर्यटन प्रवद्र्धनका लागि अझै व्यवस्थित सडक, खानेपानी, सुरक्षालगायत भौतिक पूर्वाधारको विकासमा जोड दिइनुपर्ने आवश्यकता छ ।