राजनीति राज्य सञ्चालनको मूल नीति हो । राजनीतिको मातहतमा राज्यद्वारा सञ्चालित आर्थिक, प्रशासनिक, सुरक्षा, परराष्ट्र र विकास एवं अन्य नीतिहरू सञ्चालन हुने गर्दछन् । त्यसैले अन्य नीतिहरूको सार्थकता एवं प्रभावकारिता राजनीतिकै सार्थकता एवं प्रभावकारितामा निर्भर गर्दछ । विश्वमा जहाँको राजनीति सही रूपमा परिचालन हुने गरेको छ, ती मुलुकहरूले स्थिरता, प्रगति र ख्याति आर्जन गरेका छन् । राजनीतिक नेतृत्व सक्षम, जनउत्तरदायी र दृष्टिकोणयुक्त छ, तिनै मुलुकहरुले सफलता प्राप्त गरेका छन । सक्षम, जनउत्तरदायी एवं दृष्टिकोणयुक्त नेतृत्वले नै व्यापक जनपरिचालनद्वारा जनसमर्थन हासिल गर्न सक्छ र त्यस्तो नेतृत्वद्वारा शासित व्यवस्थालाई नै सही अर्थमा लोकतन्त्र भन्न सकिन्छ । यसरी राजनीति कुनै रहर वा स्थार्थको लागि जोसुकैद्वारा गरिने पेसा नभएकाले यसमा योग्य, जनसेवी एवं दृष्टिकोणयुक्त व्यक्तिको संलग्नताको अपेक्षा गरिन्छ ।
तर नेपालको राजनीति राष्ट्र एवं जनसेवा गर्ने माध्यम नभएर नाफामूलक व्यवसाय बन्न पुगेको छ । जुन व्यवसायमा कुनै लगानी, परिश्रम र धैर्यको आवश्यकता छैन । योग्यता एवं क्षमताको दरकार छैन । त्यसैले सजिलो तरिकाले, छोटो समयमा, उल्लेखनीय प्रगति गर्न चाहनेहरू राजनीतिमा संलग्न हुने गरेका छन । त्यसै राजनीतिमा त्याग, बलिदान र समर्पण गर्नेहरू टिक्नै नसकी विस्थापित हुने र भ्रष्ट, चाकडीबाज एवं आपराधिक प्रवृत्ति हुनेहरू सफल बन्ने स्थिति आएको छ । पार्टीहरूको सञ्चालनस्वीकृत विधान र प्रजातान्त्रिक मान्यताका आधारमा नभई नेतृत्वको सनक र बहुलीपूर्ण निर्णयको आधारमा हुने गरेका छन । पार्टीका महत्वपूर्ण जिम्मेवारीहरूमा नेतृत्वका नातागोता, तिनका विश्वस्त, भरौटे, नेतृत्वलाई आर्थिक एवं अन्य लाभ पुरायाउनेहरूले मात्र स्थान प्राप्त गर्ने गरेका छन । पार्टीको कोष अपारदर्शी र मनोमानीपूर्वक सञ्चालन गर्ने गरिएको छ । पार्टीहरू घोषित आदर्शविपरीत नाफामूलक व्यवसायको रूपमा सञ्चालित भइरहेका छन र त्यसमा आबद्ध हुनेहरू लगानी, परिश्रम र जोखिमविना असीमित मुनाफा आर्जनकर्ताहरूको रूपमा स्थापित हुदै गएका छन् ।
राजनीति राज्य सञ्चालनको नीति हुने भए पनि यसमा सबै आबद्ध हुनुपर्छ भन्ने छैन । किनभने राजनीति नाफामूलक व्यवसाय नभई सेवाको माध्यम हो । स्वच्छ राजनीतिमा त्यस्ता व्यक्तिहरूको संलग्नताको अपेक्षा गरिन्छ, जो निःस्वार्थ भावले राष्ट्र एवं जनताको सेवामा समर्पित हुने गर्दछन् । राष्ट्र एवं जनताको हित उनीहरूको हित र राष्ट्र एवं जनताको प्रगति उनीहरूको प्रगति मानिन्छ । उनीहरू झीनामसिना स्वार्थहरूभन्दा माथि रहने गर्दछन् । तर नेपाली समाजले परिवर्तनको नाममा यस्तो राजनीतिक परिपाटी व्यहोर्नुपरेको छ, जहाँ राजनीति, पेसा सर्वत्र मूल्यविहीनता व्याप्त छ । यो अवस्थामा नेपाली जनमानसको ऊर्जाशील हिस्सा एकातिर वैदेशिक रोजगार एवं स्थायी आवासीय अनुमतिपत्र प्राप्तिमै अल्मलिएको छ भने अर्को हिस्सा दलीय नेतृत्वको सत्ता स्वार्थमा भर्याङको रूपमा प्रयोग भइरहेको छ । सबैले आफू आबद्ध क्षेत्रबाट अमर्यादित रूपमा फाइदा लिएर राजनीतिक पार्टी एवं नेतृत्वलाई सेवा पुराउने गरेका छन् । यसरी राष्ट्रिय जीवनका हरेक क्षेत्रमा आबद्ध सदस्यहरूलाई भ्रष्ट, अनैतिक र आपराधिक कार्य गर्ने छुट दिएर त्यसैमा हिस्सेदारी कायम गर्न पल्केको राजनीतिक नेतृत्व आपूm सत्तामा पुगेपछि ती क्षेत्रहरूमा सुधार गर्नुको सट्टा तिनलाई अभै भ्रष्टीकरण गर्दै थप फाइदा लिने हेतुले प्रयत्नशील हुने गरेको छ । सवै सम्मेलन, अधिवेशनमा यस्तो प्रवृतिलाई रोक्न अव ढिला गर्नु हुदैन, नत्र पुरै समाज भ्रष्ट हुने निश्चित प्राय छ ।
Previous Article२०७३ कात्तिक ४ गते बिहीबारको राशिफल
Next Article ४ कात्तिक २०७३, ढोरपाटन दैनिक