महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको नेतृत्वमा पुगेको म्याग्दीको सर्वपक्षीय टोलीले बुधवार संघिय सरकारका अर्थमन्त्री युबराज खतिवडालाई म्याग्दी जिल्लाको विकास निर्माण लगायतका मागहरु राखी ज्ञापन पत्र बुझाएको छ । जिल्लामा निर्माणधिन अवस्थामा रहेका योजनाहरुमा चालु आर्थिक वर्षमा न्यून बजेट विनियोजन भएको भन्दै जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद,पूर्व सभासद,जनप्रतिनिधि तथा राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि सहभागि भएको सर्वपक्षीय टोलीले जिल्लाको भौतिक पूर्वाधार,विपद व्यवस्थापन,उर्जा,सडक तथा खानेपानी लगायतका योजनाहरुमा आवश्यक बजेटको माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारको संरक्षण, कालिगण्डकी करिडोर सडक अन्तर्गत बेनी जोमसोम कोरला सडक आयोजना र बेनी दरवाङ सडक निर्माणलाई तिव्रता दिने मुख्य माग लगायत जिल्लाका अन्य समस्याहरु लिखित रुपमा ज्ञापन पत्रमा समावेश गरी अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थापाले बताउनुभयो । चालु आर्थिक वर्षमा समानुपातिक रुपमा जिल्लालाई बजेट विनियोजन नभएकोप्रति पनि अर्थमन्त्रीलाई ध्यानकर्षण गराइएको उहाँले बताउनुभयो । सर्वपक्षिय टोलीले बुझाएको ज्ञापन पत्रमा उल्लेखित मागहरु सम्बोधन हुने अपेक्षा व्यक्त गरिएको उहाँले बताउनुभयो ।
जिल्लाबाट आएको टोली मार्फत विभिन्न मन्त्रालय र विभागहरुमा पेश गरिएका मागलाई आगमी आर्थिक वर्षमा प्रस्तुत हुने बजेटमा समावेश गर्न आफूले सक्दो पहल गर्ने मन्त्री थापाले बताउनुभयो । यसअघि स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्का समेत लागेको बेनी दरवाङ सडकलाई जलजला पूर्वी रुकुम सम्म कायम गरी संघिय सरकारकै मातहतमा राखी बजेट व्यवस्था गर्नुपर्ने, निर्माणधिन राष्टीय गौरबको आयोजना राहुघाट जलविद्युत आयोजनाको निर्माणले हाल सम्म पनि गति लिन नसकेको र उक्त आयोजना निर्माणमा भएका समस्याहरुलाई समाधान गरी निर्माणमा तिव्रवता ल्याउन आवश्यक सहयोग गरिदिन अर्थमन्त्री समक्ष अनुरोध गरिएको प्रतिनिधिसभाका सांसद भुपेन्द्रबहादुर थापाले बताउनुभयो ।
यसै गरी टोलीले राष्टिय गौरबको कालिगण्डकी करिडोर आयोजना अन्तर्गत बागलुङ जिल्लाको मालढुङगा देखि म्याग्दी जिल्लाको गलेश्वर सम्म सडकमा सिमांकन समेत नभई निर्माण कार्य हुननसकेको हुँदा उक्त आयोजनाको आधार कालीगण्डकी नदीको पश्चिम किनारालाई नै मानी बागलुङ जिल्लाको मालढुङगा देखि बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौर देखि बेनी बजार हुँदै गलेश्वर सम्म सिमांकन कायम गरी निर्माण कार्य अगाडि बढाउने कार्यमा सहयोग गरिदिन अर्थमन्त्री खतिवडा समक्ष सर्वपक्षीय टोलीले माग गरेको छ । कालिगण्डकी करिडोर अन्तर्गत बेनी जोमसोम कोरला सडकको निर्माण कार्य हाल सुस्त गतिमा भएकाले तिव्रता दिन मन्त्री खतिवडाको ध्यानकर्षण गरिएको प्रदेश सांसद विनोद केसीले बताउनुभयो ।
टोलीले कालिगण्डकी करिडोर अन्तर्गत सडक सिमा भित्र पर्ने घरजग्गा धनीले उचित मुआब्जा पाउन नसकेकोप्रति पनि मन्त्री खतिवाडालाई टोलीले ध्यानकर्षण गराएको छ । बागलुङ बेनी गलेश्वर सडकलाई यसै वर्ष भित्र कालोपत्र गरीसक्न आवश्यक सहयोगका लागि अर्थमन्त्री समक्ष माग गरेको छ । बेनीमा रहेको वसपार्क निर्माण,वृहत खोप्टेखोला खानेपानी र भगती पिप्ले चिमखोला खानेपानी आयोजनालाई समयमै सक्नका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन मन्त्री समक्ष माग राखेको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो ।
टोलीको माग पत्र बुझ्दै अर्थमन्त्री खतिवडाले म्याग्दीको विकासका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो । चालु आर्थिक वर्षमा समानुपातिक रुपमा बजेट नपरेका जिल्लामा विशेष अनुदानको व्यवस्था गरी सम्बोधन गर्ने उहाँले बताउनुभयो । बेनी नगरपालिकाको संयोजनमा आईतवार राजधानी पुगेको सर्वपक्षीय टोलीले सोमवार र मंगलबार विभिन्न मन्त्रालय र विभागहरुमा नगर तथा जिल्लाको विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन मागपत्र पेश गरेको थियो । सोमवार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थापाको नेतृत्वमा टोलीले उर्जा,जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुन,भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ र संघिय मामिला तथा स्थानीय विकास मन्त्री लालबावु पण्डीतलाई भेटी जिल्लाको समस्याहरुका वारेमा जानकारी गराउनुका साथै मागपत्र पेश गरेको थियो ।
माग पत्र बुझ्दै उर्जा,जलस्रोत तथा सिँचाई मन्त्री पुनले बेनी बजार संरक्षणका लागि मन्त्रालयको ध्यानकर्षण भएको बताउनुभयो । टोलीले राखेका मागहरुमा मन्त्री ज्यू सकरात्मक हुनुभएको प्रतिनिधिसभाका सांसद थापाले बताउनुभयो । साथै मन्त्री पुन समक्ष रघुगंगा जलविद्युत आयोजनाको प्रगतिका वारेमा पनि मन्त्रीलाई जानकारी गराएको पूर्व सभासद गोविन्द पौडेलले जानकारी दिनुभयो । टोलीले रघुगंगा नदीमा आएको वाढीले रघुगंगा गाउँपालिकाका विभिन्न क्षेत्रमा पुराएको क्षति र रोकथामका लागि आवश्यक पहल गरिदिन अनुरोध गरेको छ ।
टोलीले खानपानी तथा ढल निकास विभाग,जलस्रोत तथा सिचाँई विभाग,शहरी विकास तथा भवन निर्माण विभागमा पुगी जिल्लाको समस्याका वारेमा माग पत्र पेश गरेको पूर्व सभासद रेशमवहादुर बानियाँले जानकारी दिनुभयो । टोलीले कालीगण्डकी नदीमा भर्दौ २६ गते आएको वाढीका कारण पक्की तटबन्धन भत्काएको र यसको दिर्घकालिन समाधानका लागि आवश्यक बजेटको व्यवस्थापन गरी चाँढो सक्न जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सरोज पण्डित समक्ष अनुरोध गरेको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । नदी कटनबाट बेनी बजारलाई जोगाउन आयोजनाले चाँढो काम थाल्नुपर्ने जानकारी हामीले गराएका छौं मेयर श्रेष्ठले भन्नुभयो “ बाढीले भत्काएको एकसय २० मिटर मा पुन डिजाइन स्टीमेट गरी संरक्षणको काम चाँढो थाल्ने आवश्वासन पाएका छौं ।” वर्षात समय अगावै संरक्षणको काम नसक्ने हो भने बजार खतरामा पर्ने जानकारी गराएको उहाँले बताउनुभयो ।
यसै गरी सर्वपक्षिय टोलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्दैशक कुलमान घिसिङलाई भटी निर्माणधिन रघुगंगा जलविदुत आयोजनाको निर्माणलाई गति दिन आग्रह गरेको छ । साथै टोलीले २२० कभिए कालिगण्डकी कोरिडोर प्रशासरण लाइन अन्तर्गत अन्नपुर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा देखिएको समस्याको वारेमा पनि जानकारी गराएको छ । टोलीमा सांसद थापा,प्रदेश सांसद विनोद केसी,पूर्व सांसदहरु गोविन्द पौडेल,रेशम बहादुर बानियाँ,नवराज शर्मा सहभागि हुनुहुन्छ । साथै टोलीमा राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिनवहादुर श्रेष्ठ, जिसस प्रमुख केसी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,नेकपाका जिल्ला नेता हरिकृष्ण श्रेष्ठ,नेपाली काँग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा,नेकपाका जिल्ला संयन्त्र सदस्य बालकृष्ण सुवेदी,नेपाली काँग्रेसका जिल्ला सदस्य केबी भण्डारी, बेनी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ, बेनपाका कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा,बेनपाका नायब सुब्बा शिव शर्मा र पत्रकार महासंघका उपाध्यक्ष ठाकुरप्रसाद आचार्य सहभागि हुनुहुन्थ्यो ।
म्याग्दीअनलाइनबाट साभार