एजेन्सी । यो वर्षको विवाह पञ्चमीमा भारतीय धनाढ्य मुकेश अम्बानीकी छोरीको विवाह पनि हुँदैछ । तर ईशा अम्बानी र आनन्द पिरामलको यो जोडीको चर्चा विवाहपहिल्यै नै चुलिएको छ । उनीहरूको विवाहका लागि पठाएको निम्तो कार्डको तस्बिर र भिडियो भाइरल बनेको छ ।
भारतीय दैनिक हिन्दुस्तान टाइम्सका अनुसार अम्बानीले छोरीको विवाहमा आउन पठाएको निम्तो कार्डको मूल्य नै झन्डै पाँच लाख रूपैयाँ (तीन लाख भारू) पर्छ ।
डायरीजस्तो निमन्त्रणा कार्डको सुरूमै दुबैका नामको पहिलो अक्षर आईए लेखिएको छ । भित्र पवित्र मन्त्रहरू, बेहुला र बेहुलीका हजुरआमाका लागि लेखिएका पंक्ति पनि समावेश छ । बाबुआमाका तर्फबाट छुट्टै र दुलहादुलहीका तर्फबाट छुट्टै निमन्त्रणा र विवाह समारोहका विभिन्न कार्यक्रमको समय तालिका छ ।
कार्डभित्र एउटा सुनौलो अक्षरमा बुट्टा भरिएको बाकस छ जसलाई खोल्नासाथ गायत्री मन्त्र बज्न सुरू हुन्छ । कार्डमा अरू साना चार वटा बाकस पनि छन् । तिनमा रत्नजडित हार र सुनौलो फ्रेममा देवीदेउताका तस्बीर छन् ।