कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपाल आउने भएका छन् ।
२० वर्षदेखि निरन्तर कम्बोडियाको प्रधानमन्त्री रहेका सेन मंसिर १३ गते नेपाल आउने कार्यक्रम तय भएको छ । नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् ।
‘छिट्टै कम्बोडियाको प्रधानमन्त्री नेपाल आउँदै हुनुहुन्छ,’ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए, ‘उहाँ द्विपक्षीय भ्रमणको सिलसिलामा नेपाल आउन लाग्नुभएको हो ।’
कम्बोडियाका प्रधानमन्त्री सेन इन्टरनेसनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टीज (आइक्याप)को निमन्त्रणामा नेपाल आउन लागेका हुन् । आइक्यापमा नेपालका मुख्य राजनीतिक दलहरु पनि सदस्य छन् । नेपाल भ्रमणका बेला उनी कोरियन फाउण्डेसनले आयोजना गर्ने एक कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री सेनबीच गएको असोजमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा न्यूयोकमा पनि भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा सेनले नेपाल भ्रमणको इच्छा व्यक्त गरेका थिए ।