अमृतप्रसाद सापकोटा
अन्धकारलाई तोड्दै उज्यालोले रौनक ल्याउने पर्व हो तिहार । काग, कुकुर, गाई, लक्ष्मीपूजा तथा दाजुभाइलाई पूजा गरेर सबै प्राणीहरुको सम्मान गर्न सिकाउने पर्व हो तिहार । अनकन्टार अध्यारो रातलाई चेतनरुपी बत्ती बालेर नष्ट गर्ने तथा चुनौती दिने हुनाले यस चाडलाई दीपावली, दीपमाला, दीपमालिका, ज्योतिपर्व, प्रकाशपर्व आदि नामबाट पुकारिन्छ । परापूर्वकालदेखि अहिलेसम्म कर्मको साक्षी मानेर चिनिने दियोसँगै मनाइने हुनाले यस पर्वलाई विभिन्नताको साक्षी नामले समेत पुकारिन्छ । तिहार सामान्यतयाः कालारुपधारी यमराजलाई ‘दीपदान’ गरी कार्तिक त्रयोदशीदेखि सुरु हुन्छ । कार्तिक कृष्णपक्षका त्रयोदशी, चतुर्दशी, औंसी र शुक्लपक्षका प्रतिपदा र द्वितीया गरी पाँच वटा तिथिहरुमा मनाइन्छ । प्रत्येक प्राणीहरुलाई कर्म अनुसारको फल भोगाउने काममा खटिएका यमराज यमपञ्चकमा आफ्नो काम पाँच दिनका लागि चित्रगुप्तलाई जिम्मा लगाएर आफ्नी बहिनी यमुनाकहाँ जान्छन् भन्ने शास्त्रीय आख्यान पाइन्छ । यसरी यमराजको सत्कार र सम्झनामा यमसँग सम्बद्ध जीव, पशुपंक्षी आदिको पूजा आराधना गरी मनाइने पाँच दिनहरुलाई यमपञ्चक भनिन्छ ।
आजको संसारमा मानिसले चराचुरुङ्गी र पशुपंक्षीहरुलाई यो वा त्यो बहानामा दण्डित गर्न खोजेको पाइन्छ तर परापूर्वकाललाई मध्यनजर राख्दा मानिसलाई मित्रता र समानताको पाठ सिकाउने पशुपंक्षीहरुको विशेषताले गर्दा नै हाम्रा देवीदेवताले यिनलाई आफ्ना बहान बनाएका छन् । रामले हनुमान, जटायु आदि पशुपंक्षीहरुको सहायताले गर्दा नै लङ्कामाथि प्राप्त गरेका थिए । त्यस्तै विपभिन्न रुपधारी देवी देवताले जनताको कल्याणका लागि कहिले माछो, कहिले कछुवा, कहिले बराह, सिंह जस्ता प्राणीको रुप धारण गरेका थिए । त्यही पक्षलाई आत्मसाथ गरी फरक ढङ्गबाट तिहारमा गाईपूजा, गोरुपूजा, कागपूजा, कुकुर पूजा गरी सबैलाई सम्मान व्यक्त गर्ने हुनाले यस पर्वलाई सम्मानको प्रतीकको रुपमा पनि लिइन्छ ।
कागतिहार ः
यमपञ्चकको पहिलो दिन कागतिहार नामले चिनिन्छ । यस दिन विशेष गरी कागलाई पाक्यभोजन दिएर आआफ्नो घर आँगनमा कागको स्वागत गरिन्छ । शास्त्रमा “काको असि यमदुतो असि” भनेर कागलाई यमराजको दूत मानिएको छ । यमले कागको रुप धारण गरी आफ्ना भक्तहरुलाई जसले कागलाई पुज्दछ, म त्यसलाई र त्यसका पूर्वजहरुलाई सद्गति दिनेछु भनेको हुनाले यस दिन कागपूजा विशेष रुपमा लिइन्छ । एउटै आँखाको नानी भएको कागले सबैलाई एउटै मान्यताका रुपमा हेर्ने हुनाले लोकमा ‘काकन्याय’ प्रसिद्ध छ । यस दिनलाई धन्वन्तरि त्रयोदशी पनि भनिन्छ । यस दिन साँझ मूल ढोकासामु यमलाई दीपदान गरे आकस्मिक मृत्यु वा अल्पायु रोकिने शास्त्रीय मान्यता पाइन्छ ।
कुकुर तिहार ः
यमपञ्चकको दोस्रो दिन कुकुरको पूजा गरिन्छ । कुकर यमराजको दूत भएको वर्णन शास्त्रहरुमा पाइन्छ । यसरी यमराजको दूत कुकुरलाई तेल घसेर माला लगाई पूजा गर्दै विभिन्न खानेकुरा खान दिई कुकुर तिहार मनाइन्छ । नरकका स्वामी यमराज भएकाले र श्रीकृष्णले यसै दिन नरकासुरलाई मारेकाले यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । वर्तमानमा फोहोरमैला पनि एक प्रकारको नरक भएकाले यस दिन उक्त नरक फाल्नका विहान सबेरै स्नान गरेर नरक चतुर्दशी पालन गर्ने गरिन्छ ।
लक्ष्मीपूजा ः
यमपञ्चकका ५ दिनमध्ये लक्ष्मीपूजा धनकी देवीलाई पूजाआराधना गरी मनाइन्छ । लक्ष्मी शोभा, सौन्दर्य, सुख, सम्पन्नता, सौभाग्य, ऐश्वर्य र सृष्टिकी देवी हुन् । लक्ष्मीका गुणहरुमा ज्ञान, ऐश्वर्य, सुख, आरोग्य, धनधान्य आदि प्रसिद्ध छन् । अतः औंसीमा दीपोत्सव गरी लक्ष्मीको विशेष पूजा गरिन्छ । तीन लोक दान गरेका बलीराजाले पुर्वोक्त तीन दिनहरुमा जसले दीपावली गर्छ, त्यसलाई यमयातनाबाट मुक्ति मिली लक्ष्मी प्राप्त हुन्छ भन्ने विष्णुबाट वर पाएको प्रसिद्धिसँग यो पर्व जोडिएको पाइन्छ । यस दिनमा धनकी अधिष्ठात्री लक्ष्मीलाई घरका सबै स्थानमा दीप प्रज्ज्वलन गरी स्वागत गरिन्छ । घर बाहिरबाट धन संचित कोठासम्म गाईको गोबरले लिपी चामलको पिठोले भगवती लक्ष्मीका पाउ बनाई फूल अक्षताले पूजा गरेमा तिनै पाउमा टेक्दै लक्ष्मी घर भित्र प्रवेश गरी धन सञ्चित स्थानमा बास गर्ने र घरको धन कहिल्यै नसकिने जनविश्वास छ ।
गाई÷गोरुतिहार ः
यमपञ्चकका दिनहरुमा गाई वा गोरु तिहार विशेष महत्वका साथ लिइन्छ । हाम्रो संस्कृति र सभ्यताको उत्थान र विकासमा गोरक्षाको महत्वपूर्ण स्थान छ । हिन्दु शास्त्रअनुसार गौ वा गाईलाई माताको रुपमा लिइएको छ । जसरी आमाको दूध पान गरेर बालक हुर्कन्छ, त्यसैगरी गौ दूध पान गरी सम्पूर्ण मानव अस्तित्व रहेको पाइन्छ । गाईको गोबर र मूत्रमा लक्ष्मीको बास हुने शास्त्रीय मान्यता छ । शुद्ध गोमूत्र पान गर्नाले सम्पूर्ण पाप नाश हुनुको साथै शरीरमा भएको विशाक्त मात्र नष्ट हुने मान्यता प्रचलनमा छ । त्यस्तैगरी भगवान शिवको बाहन गोरु जुन आफू जोतिएर सम्पूर्ण मानव अस्तित्वको संरक्षण र रक्षा गर्दछ, त्यो पनि यस दिन पुजिन्छ । अतः कार्तिक शुक्ल प्रतिपदालाई गोरुतिहार नामले पनि चिनिन्छ । गोरुतिहारसँगै कृषकले आफ्नो अन्नबाली उब्जाउन प्रयोग गरिने मुख्य औजार हलोको समेत पूजा गरी यो दिन मनाइन्छ । यस दिनमा गोबरको पर्वत बनाई गोबद्र्धन पर्वतको प्रतीक मानी पुजिन्छ ।
भाइतिहार ः
यमपञ्चकको अन्तिम दिन भाइटीका नामले चिनिन्छ । यस दिन दिदीबहिनीहरुले मृत्युदेवताको पूजा गरी आफ्ना दाजुभाइलाई अकाल मृत्युबाट बचाउने साथै दीर्घ जीवनको कामना गर्दै सप्तरङ्गी टीका साथै दुबो र मखमली फूलको माला लगाई हर्षोल्लासका साथ मनाइन्छ । सधैं बेफुर्सदी दाजु यमराजलाई बहिनी यमुनाले पाँचदिनसम्म ससम्मान पालेर अन्तिम दिन पूजा गरेर बहुरङ्गी टीका लगाई यी दिनहरुमा जसले आआफ्ना दिदीबहिनीहरुको आतिथ्य स्वीकार गरी टीका लगाउँछन्, त्यो अकाल मृत्युबाट बचोस् भनी वर मागिन् । दाजुभाइ र दिदीबहिनीको प्रेम अमर गराउने यस मागलाई यमले पूरा गरेपछि भाइटीकाको सुरुवात भयो र यो दिन यमद्वितीया नामबाट पनि प्रसिद्ध हुन गयो । यस दिन दिदीबहिनीविहीनले काठमाडौंस्थित रानीपोखरीको मध्यमा अवस्थित भ्रातेश्वर महादेवको मन्दिरमा गएर टीका लगाउने परम्परा पाइन्छ ।
यसरी पाँच दिनसम्म सम्पूर्ण जीवनजगत र मृत्युजगतका नरनारी, पशुपंक्षी, वन पर्वत, मृत्युदेवता आदिलाई वनस्पतीजगतका फूलमाला आदिबाट पूजाआजा गरी देउसीभैलो तथा रोटेपिङ–लिङ्गेपिङ खेली एवम् सेलरोटी र मिठाइँ खाई खुवाई औंसीको अँध्यारोमा झिलिमिली बत्ती बालेर मनाइने तिहार नेपालीहरुको रसिलो, मौलिक र सामाजिक चाड हो । यस अवसरमा राष्ट्रले लक्ष्मी र शान्ति शिक्षालाई शोषित पीडित, दुखित र दीनहीनका झुप्राझाप्रीसम्म पु¥याउने अठोट गरे मात्र तिहारको प्रकाशले राष्ट्र प्रकाशित हुनेछ र कवि शिरोमणि लेखनाथ पौड्यालले भनेजस्तै गरी सम्पूर्ण देशबासी खुसी र सुखी हुन सक्छन् ।
“सुखमय पारि सब संसार, आयो रसिलो चाड तिहार ।
बन्दछ मानु सबको काम, खुसी छन् राजा रैती तमाम ।।
फलेबास नगरपालिका–३, पुरानालिमी, पर्वत