पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ ।
पोखरा रंगशालामा भएको फाइनलमा अन्तिम ओभरमा रोमाञ्चक जित निकाल्दै पोखराले पहिलो संस्करणको पीपीएलको उपाधि जितेको हो । चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले १९.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो ।
पोखराका लागि रवि इन्दर सिंह र मोहम्मद नाभिदले विष्फोटक ब्याटिङ गरे । रविले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गर्दै ९० रन बनाए । त्यस्तै, मोहम्मद नाभिदले १४ बलमा २५ रन बनाए । पोखराका कप्तान शरद भेषावकरले २२ रन बनाए । आशिफ शेख १२ रन बनाउन सफल भए ।
बलिङतर्फ चितवनका लागि भुवन कार्कीले २ विकेट लिए । त्यस्तै, पारस, सन्नी पटेल र करण केसीले समान १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन बनाएपछि पोखराले मध्यम स्कोरको लक्ष्य पाएको थियो । चितवनका लागि कप्तान पारस खड्काले अर्धशतक बनाए । उनले ३७ बलमा ९ चाैका प्रहार गर्दै ५१ रन बनाएका थिए ।
त्यस्तै, चितवनका लागि सन्नी पटेलले विष्फोटक ब्याटिङ गरे । उनले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाए । आरिफ शेख १४ रनमा अविजित रहे ।
ओपनर अनिल कुमार शाहले ३७ रन बनाएर आउट भएका थिए । चितवनका लागि कप्तान पारस खड्का र अनिलकुमार शाहले इनिङ्स सम्हालेका थिए । पहिलो विकेटको रुपमा ९ रन हुँदा हरिशंकर शाहलाई गुमाएको चितवनले ८५ रन हुँदा दोस्रो विकेटको रुपमा पारसलाई गुमाएको थियो । त्यस्तै, १ सय ३५ रन हुदा चितवनले तेस्रो विकेटको रुपमा अनिललाई गुमाएको थियो ।
पोखराका लागि कृष्ण कार्कीले २ तथा ललितनारायण राजवंशी र मोहम्मद नाभिदले समान १/१ विकेट लिए ।
पीपीएलको विजेता पोखराले ट्रफिसहित २७ लाख नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको चितवनले १० लाख नगद प्राप्त गरेको छ ।
९० रन बनाएका पोखराका रवि इन्दर सिंह म्यान अफ दि म्याच भए ।
यी हुन् उत्कृष्ट खेलाडी
पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको पहिलो संस्करणमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई हराउँदै शरद भेषावकरको कप्तानीको पोखरा पल्टनले उपाधि जित्यो ।
घरेलु क्रिकेटमा राम्रा भनिएका केही खेलाडी चल्न नसक्दा केही नयाँ खेलाडीले आश देखाए पनि नेपाली खेलाडीको प्रशंसायोग्य प्रदर्शन देखिएन । प्लेयर अफ दि सिरिज नै चितवन राइनोजका भारतीय खेलाडी सन्नी पटेल बने । उनले ब्याटिङ र बलिङ दुवैमा सम्झनलायक खेल देखाए ।
यी हुन् उत्कृष्ट ब्याट्सम्यान
पीपीएलमा सबैभन्दा धेरै रन बनाउने खेलाडी पोखरा पल्टनका भारतीय खेलाडी रवि इन्दर सिंह बने । उनले ६ इनिङमा २ सय ६० रन बनाए । फाइनलमा ९० रन बनाएका रविले ४३.३३ को एभरेजमा १२७.४५ को स्ट्राइक रेटमा रन बनाएका थिए । रविले प्रतियोगिताकै सबैभन्दा धेरै २८ चौका र १२ छक्का हाने ।
दोस्रो स्थान काठमाडौं रोयल्सका भारतीय खेलाडी गौरभ तोमार रहे । उनले ६ इनिङमा २ सय १२ रन बनाए । उनले ३५.३३ को एभरेजमा १५०.३५ को स्ट्राइक रेटमा रन बनाए । सर्वाधिक छक्का हान्ने खेलाडीमा गौरभ शीर्षमा छन् । उनले १४ छक्का हाने भने १६ चौका हाने ।
सर्वाधिक रनको तेस्रो स्थानमा विराटनगर टाइटन्सका पाकिस्तानी खेलाडी मुहम्मद जैद रहेका छन् । उनले ४ इनिङमा नै २ सय ९ रन बनाए । उनले ५२.२५ को एभरेजमा १३०.६२ को स्ट्राइक रेटमा रन बनाए । साथै अहिलेसम्म उनले सबैभन्दा धेरै २० चौका हाने । यस्तै उनले १२ छक्का हाने ।