प्रदेश सरकारको भौतिक योजना मन्त्रीबाट बर्खास्त गरिएका केशव स्थापितले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई कुर्सीमा बस्ने नैतिक अधिकार नभएको बताएका छन् । मंगलवार काठमाण्डुमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मुख्यमन्त्री पौडेलविरुद्ध प्रतिवाद गर्ने चेतावनीसमेत दिए ।
‘हिजो काग तिहार थियो, वर्षभरी हेला गर्ने कागको पूजा गरियो । आज कुकुर तिहार। वर्षभरी लात हान्ने कुकुरको पूजा गरियो । अब मान्छेलाई त सम्मान गर्नुपरो नि,’ उनले भने, ‘तिहार आउँदै छ । उहाँलाई पनि तिहार मनाउन दिउँ । अब बूढो मान्छेको तिहार खल्लो बनाइदिन त भएन नि ।’
उनले मुख्यमन्त्री पौडेलविरुद्ध प्रतिवाद सुरु भएको भन्दै आफूले हैन आफ्ना समर्थकले प्रतिवाद गर्ने बताए ।
मुख्यमन्त्री पौडेलले आफूलाई अनुचित ढंगले हटाएको समेत उनले दाबी गरे । ‘मेरो प्रधानमन्त्री बिरामी हुनुहुन्थ्यो । अस्पतालमा भर्ना । अब त्यति नै बेला उहाँलाई जसरी पनि भेट्नै पर्ने भयो,’ स्थापितले भने, ‘अस्पतालमा संक्रमण सर्छ भन्ने ख्याल भएन । जसरी पनि भेट्नुपर्ने, आफ्ना कुरा राख्नुपर्ने । केही समय कुर्न नसक्ने ।’
उनले मुख्यमन्त्री पौडेलमा महाराजाको अनुहार देखेको टिप्पणी गरे, ‘अब राजासँग त नडराउने मान्छे म । म मेयर थिएँ । राजाले भेट्न बोलाए । राजा सिंहासनमा बसेका, मलाई कुनामा काठको टुल । मैले भनेँ, महाराज म कम्फर्ट भइनँ । योर हाइनेस आइ एम नट फिलिङ कम्फर्टेबल । म सोफामा खेलेर हुर्केको मान्छे । मेरो घाँटीमा समस्या छ । कि तपाईँ नजिक आउनुस कि म तपाईँ नजिक आउँछु भन्ने मान्छे म,’ उनले अगाडि भने, ‘महाराज तपाईँको अनुहार टिभीमा आउना साथ मेरी मुमाले टिभी बन्द गर्नुहुन्छ । तपाईँ नै म्यासाकार (हत्या) गरेको भन्नुहुन्छ भन्ने मान्छे । डोरमणिमा महाराजको ताल देखेँ ।’
मुख्यमन्त्रीसँग झगडा गरेको प्रसंगमा उनले भने, ‘भनि हालेँ नि, राजासँग नडराउने मान्छे म, उहाँसँग डराउँछु ? कराएँ नि ।’
उनले प्रदेश मन्त्रीबाट बर्खास्त भए पनि आफ्नो लागि अर्को ठाउँ बन्ने बताए । हिजो मेयर बन्छु भन्दै हिँडे, मेयर बनिनँ । मलाई प्रदेश मन्त्री बन्नु रहेछ, मेयरभन्दा ठूलो । अब मन्त्रीबाट हटेँ, त्योभन्दा ठूलो पदमा जाने बाटो खुल्यो ।‘
यसैबीच स्थापितले आफूलाई मिटु अभियान अन्तर्गत आरोप लगाउने माथि कानुनी कारवाहीमा जाने बताए । उनले त्यसका लागि आफ्ना कानुनी सल्लाहकारहरु लागेको समेत बताए ।
‘म त्यसै कहाँ बस्छु ? कानुनी सहयोगीलाई बुझ्न लगाएको छु । उहाँहरुले बुझ्दै हुनुहुन्छ । मेरो मानहानी मात्र होइन, धेरै गुमेको छ । अब बिगो दाबी गर्दा तिर्नै नसक्ने गरी दाबी त गर्नु भएन नि,’ उनले भने, ‘म विरुद्ध गलत प्रचार गर्नेलाई त्यसै छाड्दिनँ ।’
मिटु अभियान अन्तर्गत पत्रकार रस्मिला प्रजापतिले स्थापितले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । उनले आरोपलाई झुट बताउँदै तिहार मनाउन दिएको टिप्पणी गरे । ‘अब तिहार आउँदै छ, तिहार मनाउन दिउँ । म पनि अलि व्यस्त छु । अब भाइलाई दिदीले जेलभित्र टीका लगाइदिँदा नरमाइलो लाग्ला ।’
उनले आरोप लगाउने रस्मिलालाई आफूले नहटाएको समेत दाबी गरे । ‘शहरका कुचीकारहरुले कुचोले लखेटेका हुन्,’ उनले रस्मिला बर्खास्त भएको घटनालाई स्मरण गर्दै भने, ‘४–५ दिनसम्म शहरमा फोहोर जम्मा भयो। किन भयो कसैलाई थाहा छैन । मन्त्रालयका सचिवसहितको बैठक बस्यो । बैठकमा एउटा सहमति भयो । रस्मिलालाई अन्त सरुवा गर्ने, उसका गल्ती छानबिन गर्न चार सदस्यीय समिति गठन गर्ने, समितिले सात दिनभित्र प्रतिवेदन दिने, उसको गल्ती अनुसारको कारबाही गर्ने । अब त्यो सहमतिमा मैले हस्ताक्षर गरेको होइन । सोही अनुसार कारवाही भएको हो ।’
काठमाण्डु महानगरपालिकाले पनि उनले गरेको जस्तै दावी गरेर रस्मिलालाई प्रक्रिया अनुसार कारबाही गरी हटाइएको विज्ञप्ति निकालिसकेको छ ।
उनले आफूले सबैलाई चिया, कफी खाउँ भन्ने गरेको भन्दै आरोप लगाउने माथि प्रश्न गरे, ‘के लञ्च खाउँ भन्दैमा बलात्कार भयो ? म सबैप्रति राम्रो व्यवहार गर्ने मान्छे । मैले चियाकफी राम्रो बनाउँछु । चिया कफी खाउँ भने हुँला ।’
उनले मिटू अभियान भन्दै नेपाली संस्कारमाथि प्रहार गर्ने काम भएको टिप्पणी गरे । ‘लोक दोहोरीमा वनमा घुम्न जाउँ, रमाइलो गरौँ भन्दै गाउन हुने । अब त्यसैलाई बलात्कार भयो भन्ने । विदेशी अभियानको नाममा नेपाली संस्कृतिमाथि प्रहार गर्न लागियो,’ उनले भने ।
उनले आफूविरुद्ध अफवाह फैलाउने अनलाइनहरुलाई पनि नछाड्ने बताए । ‘केही दर्ता नभएका अनलाइनहरु छन् । उनीहरुलाई पनि छाड्दिनँ । केही ठूला पत्रिका पनि यसमा पर्छन्, यहीँबाट खबर लगिदिनुहोला,’ उनले भने ।
उनले यस्तै यस्तै बेलामा ‘बाख्री’हरु प्रयोग गरेर आफूलाई अप्ठेरो बनाउने प्रयास हुने बताए । उनले चुनावताका आफूले गगन थापालाई बाख्रा कहाँ गयो भनी सोधेको त्यति नै बेला बाख्रीहरु देखिएको बताए । ‘काठमाण्डुको मेयर बन्छु बन्छु भनेर अगाडि हिँड्दै गर्दा देखिए । अनि मेयर बनिनँ भनेको दिनदेखि सेलाए’, उनले भने, ‘यस्तै यस्तै बेला उनीहरु प्रयोग हुन्छन् ।‘