कात्तिक १९- दलित एकता संजाल नेपालकी संयोजक सरु सुनारलाई मुम्बईमा भब्य स्वागत र सम्मान गरिएको छ । संयुक्त नेपाली उत्पीडित प्रगतिशील संघ भारतले आयोजना गरेको दिपावली शुभकामना आदान-प्रदान कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोलाइएकी सरुलाई मुम्बई बासी नेपालीले भव्य स्वागत गर्दै सम्मान गरेका हुन् ।
सरु सुनार संयुक्त नेपाली उत्पीडित प्रगतिशील संघ भारतले आयोजना गरेको दिपावली शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिका रुपमा मुम्बई पुगेकी थिइन् ।
संयुक्त नेपाली उत्पीडित प्रगतिशील संघ भारतले मुम्बईको लोअर परेलमा ४ तारिख दिपावली शुभकामना आदानप्रदान भब्य रुपमा सम्पन्न गरेको छ ।
कार्यक्रममा आफुलाई प्रमुख अतिथिको रूपमा बोलाएर एयरपोर्ट देखि कार्यक्रम हलसम्म अहिले सम्मकै ठुलो सम्मान मिलेको भन्दै खुसी व्यक्त गरिन् । साथै यो सम्मानले थप उर्जा मिलेको भन्दै आफ्नो समुदाय प्रती निरन्तर खट्ने जातीय विभेद विरुद्ध शरीरमा एक मुठी सास रहदा सम्म लाग्ने बताइन ।
कार्यक्रममा प्रमुख अतिथि रहेकी सुनारले नेपालमा वर्तमान अवस्थामा जातीय विभेद र छुवाछूतका घटना दिनप्रतिदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गरिन । अन्तरजातीय विवाह गर्दा दलित युवा मारिन्छ, वडा अध्यक्षबाटै दलित युवा कुटिदा दलित आन्दोलन कहाँ पुगेको छ? समाजमा दलित समुदायले कतिको आत्मसम्मान पाएको छ त ? राजनीति रूपमा दलित समुदायले समर्थन गर्ने पाटिबाट कति दलितका मुद्दा उठे र सम्बोधन भए ? उनले प्रश्न गरिन् । कार्यक्रमलाइ सम्बोधन गर्दै उनले भनिन्- “युवा जमातले हिसाबकिताब खोज्ने बेला आएको छ । अब दलित समुदायमा प्रतिकार प्रतिसोधको भावना जागृत हुने युवाहरुको खाचो छ, त्यसको नेतृत्व हामीले गर्नुपर्छ ।”
“सामुहिक एकता बिना मुक्ति सम्भब छैन, जुन मुक्तिको खातिर प्रवासी दलित समुदाय एक हुनुपर्छ” दलित एकता संजाल नेपाल, अन्तर्राष्ट्रिय समन्वय समिती विभेद विरुद्धका अभियान र कार्यमा साथ, सहयोग गर्दै हातेमालो गर्न तयार रहेको प्रमुख अतिथि सरु सुनारले बताइन ।
धेरै देशहरुमा सांगीतिक कार्यक्रम गरि लाखौं खर्च भैरहदा प्रवासमा बस्ने युवाहरुले जातीय विभेद विरुद्ध अलग धारको कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई उनले धन्यवाद दिईन ।
विभिन्न संघसस्थाको संयुक्त ब्यानरमा गरिएको कार्यक्रममा नेपालको दलित आन्दोलनको इतिहासमा प्रवासमा गरिएको कार्यक्रमको सबै भन्दा ठुलो भएको उनको भनाइ छ ।