नेपाल कम्युनिष्ट पार्टी(ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्री हेरफेरको सम्भावना नरहेको खुलासा गरेका छन् ।
नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारको कामकारवाहीको गति बढाउने बताए ।
‘हिलोमैलो सिजनमा सरकार एक नम्बर गियरमा चलेको छ । अब गियर फेरेर पनि सरकार अगाडि जान्छ । तत्काल सरकारका मन्त्री फेरबदल हुँदैनन् ।’ उनले भने ।
प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउनु ठूलो समाचार नभएको बताएका छन् ।
उनले भने, ‘मलाई सबै थाहा छैन तर, मोदी धेरै आइसक्नुभयो । यो पटक आउनु नै भएन भने पनि ठूलो खबर(समाचार) भएन ।’
यद्यपि उनले मोदीको नेपाल भ्रमणको सम्भावना अझै रहेको बताए ।
मोदी विवाह पञ्चमीको अवसरमा १२ डिसेम्बरमा जनकपुर आउने भनिएको थियो । तर, अहिले यो भ्रमण अनिश्चित भएको खबरहरु आएका छन् ।