पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–४, मुदीमा पर्ने धौलागिरी हिमालको आधारशिविरमा एकजना भरियाको शव भेटिएको छ । धौलागिरी आधारशिविर जाने क्रममा गएको भदौ २५ गते बेपत्ता धादिङको गंगाजमुना गाउँपालिका–१ का कर्मा तामाङ लामाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
टे«किङ एजेन्सीका प्रतिनिधिहरु बेसक्याम्प जाने क्रममा बेपत्ता भरियाको शव देखेपछि खबर गरेका थिए । बुधबार हेलिकप्टरमार्फत मृतकको शव ल्याएर आफन्तको जिम्मा लगाइएको प्रहरी निरीक्षक लोकबहादुर गुरुङले जानकारी दिएका छन् ।
पर्यटकलाई लिएर इटली बेसक्याम्पबाट धौलागिरी बेसक्याम्प जाँदै गर्दा खोलामा खसेर उनी बेपत्ता भएका थिए । घटनास्थलेदेखि झण्डै २ किलोमिटर तल खोलाको बिच भागमा अड्किएको अवस्थामा उद्धार टोलीले शव निकालेको थियो । यसअघि हेलिकप्टरमार्फत खोजी गरिए पनि भेट्टाउन सकेको थिएन ।