आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्त शनिवार पक्राउ परेका छन् ।
गत भदौ १२ गते राजधानीको बसुन्धरामा रहेको स्पिड गेष्टहाउसमा श्रीमतीको हत्या गरी फरार रहेका मौवाबोटे १ खोटाङका अनिल परियार पक्राउ परेका हुन् ।
अभियुक्त परियारले आफ्नै १८ वर्षीय श्रीमती लक्ष्मी परियारलाई बसुन्धरास्थित स्पिड गेष्ट हाउसको कोठा नम्बर १०१ मा गएको भदौ १२ गते हत्या गरेका थिए । भदौ १२ गते नै हत्या भएपनि लक्ष्मीको शव भने भदौ १५ गतेमात्रै बरामद भएको थियो ।
अनिल र लक्ष्मी भदौ १२ गते सँगै होटलमा बस्न गएका थिए । त्यसपछि सामान्य भनाभनमा आफूले लक्ष्मीको हत्या गरेको पक्राउ पछि अनिलले स्वीकार गरेका छन् ।
खोटाङका अनिल परियार र त्रिपुरासुन्दरी ७ धादिङकी लक्ष्मी परियारको चिनजान फेसबुकमार्फत् भएको थियो । वैदेशिक रोजगारीमा रहेका अनिल र लक्ष्मीबीच फेसबुकबाटै प्रेम भएपछि गएको साउनमा अनिलले लक्ष्मीलाई भगाएर विवाह गरेका थिए ।
विवाहपछि करिब १ महिना लक्ष्मी पनि अनिलसँगै खोटाङको घरमा गएर बसेको अभियुक्तले बताएका छन् । त्यसपछि काठमाडौं फर्किएका उनीहरुबीच विवाद सुरु भएको थियो ।
अनुसन्धान महाशाखाका एसपी नरेन्द्र उप्रेतीका अनुसार अनिलले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् ।
एसपी उप्रेतीले भने, ‘बयानमा उसले श्रीमतीको हत्या गरेको स्वीकार गरेको छ । श्रीमतीसँगको विवादको कारण हत्या गरेको बताएको छ ।’
हत्यापछि लुकीछिपी बस्दै आएका अनिललाई अपराध महाशाखाको टोलीले पोखराको माछापुच्छ्रे टोलबाट पक्राउ गरी काठमाण्डु ल्याएको हो ।