१८ महिनामा सकिनुपर्ने भवन निर्माणको काम ८ वर्षसम्म पूरा गर्न नसकेपछि म्याग्दीमा सञ्चालित रघुगंगा जलविद्युत् आयोजनाले निर्माण व्यवसायीसँग भएको ठेक्का सम्झौता तोडेको छ ।
पत्र र मौखिक रूपमा पटक–पटक ताकेता र म्याद थप गर्दा समेत ढिलासुस्ती गरेकाले ठेकेदार कम्पनी गोर्खा कन्ट्रक्सन एण्ड स्वच्छन्द जेभीसँग भएको सम्झौता रद्द गरिएको रघुगंगा हाइड्रोका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले जानकारी दिए ।
२०६७ कात्तिक ४ गते ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले हालसम्म चार वटा भवन बनाएर आयोजनाको प्रर्वद्धक प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोलाई बुझाए पनि एउटा भवनको जगसमेत हालेको छैन ।
ठेकेदारको चरम ढिलासुस्ती र लापर्बाहीका कारण अन्य भवन अलपत्र अवस्थामा रहेका रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष जीवन मल्लले बताए । भवन निर्माण पूरा नहुँदै जीर्ण र थोत्रिन थालेपछि स्थानीयवासी, सरोकारवाला र जनप्रतिनिधिले दबाब दिएका थिए ।
ठेकेदारले ढलान गरेर भवन ठड्याए पनि पलास्टर, रङ्गरोगन, विद्युत्, खानेपानी जडान गर्न बाँकी छ ।