नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अलग मधेसको नारा दिनेहरु मधेसी जनताको मित्र हुन नसक्ने बताएका छन् ।
जनकपुरमा आयोजित नेकपाको प्रदेश २ को कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले एउटा तागत नेपालीहरुलाई एकतावद्ध हुन नदिन लागेको बताए ।
एकताको बलमा मात्र समृद्धिको यात्रा पूरा गर्न सकिने बताए । ‘विखण्डन गरेर मधेसी र पहाडी जनतालाई बर्बाद पार्ने काम साम्राज्यवादी, प्रतिक्रियावादी डाँकाहरुको मात्र हुनसक्छ, मधेसी जनताका मित्रहरुको हुन सक्दैन ’, उनले भने, ‘यदि कसैले काठमाण्डुबाट अलग मधेस बनाउँछु भन्छ भने मधेसी जनताको आत्मसम्मानमाथि ठूलो धोका हुन्छ ।’
प्रचण्डले प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतलाई प्रहरी एेन बनाएर ‘ओभरटेक’ नगर्न चेतानवी दिए । नेकपाको प्रदेश समितिले जनकपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले यस्तो चेतावनी दिएका हुन् ।
उनले प्रहरी ऐनका विषयमा संघीय सरकारलाई ओभरटेक गरेर प्रदेश सरकारले गल्ती गरेको र संघीय प्रहरी ऐन बनाउन ढिलो भयो भन्दैमा केन्द्र सरकारलाई उछिन्न नहुने तर्कसमेत पेश गरे ।
‘यहाँ प्रदेश प्रहरी ऐनको कुरा राष्ट्रिय चर्चाको विषय बनेको छ। संविधानले संघीय प्रहरी ऐनको परिकल्पना गरेको छ । संघीय एेन केही कारणले ढिलो भएको छ’ मुख्यमन्त्री राउतसमेत सहभागी रहेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने,‘केही ढिलो भएको छ भन्दैमा संघीय लोकतान्त्रिक संविधान बनाउने, समावेशी र समानुपातिक मान्यतालाई स्थापित गरेर अगाडि आउने नेतृत्वलाई उछिनापाछिन गर्ने गरी, बाटोमा दुर्घटना हुने गरी ओभरटेक गर्नु गल्ती हुन्छ, म मुख्यमन्त्री जीलाई भन्नु चाहन्छु । तपाईँ ओभरटेक गर्न थाल्नु भयो भने दुर्घटनाको खतरा हुन्छ, दुर्घटना ननिम्त्याउँ ।’