निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत असोज २९ गते प्रहरी उपरीक्षक विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट निष्काशन गर्न गृह मन्त्रालयसमक्ष पत्राचार गरेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए।
प्रहरी नायब महानिरीक्षक एवम् प्रवक्ता उनले गृहमन्त्रालयले उक्त सिफारिसउपर आज निर्णय गर्न सक्ने सम्भावना रहेको बताए।
कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि प्रहरी अनुसन्धानमा चरम लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले तत्कालिन एसपी डिल्लीराज विष्टलाई सेवा बाट बर्खास्त गर्नका लागि आवश्यक पहल थालेको थियो।
आइजिपी सर्वेन्द्र खनालले विष्टसहित अनुसन्धानमा लापरवाही गर्ने एक जना प्रहरीलाई बर्खास्तका लागि गृह मन्त्रालयमा पत्र पठाएका थिए।
प्रहरी नियमावली अनुसार एसपीसम्मको बर्खास्त गृह सचिव स्तरिय निर्णयबाट हुन्छ।
‘आइजिपी सर्वेन्द्र खनालले विष्टलाई बर्खास्तै गर्न गृहमा पत्र पठाउनुभएको छ,’ गृह मन्त्रालयका एक उच्च अधिकारीले सेतोपाटीसँग भने, ‘सम्भवत सार्वजनिक विदा खुलेकै दिन निर्णय हुन्छ।’
प्रहरी प्रधान कार्यालयले एआइजी धीरु बस्न्यातको संयोजकत्वमा बनाएको अनुसन्धान टोलीले विष्टसहित अनुसन्धानमा खटिएका प्रहरीले चरम लापरवाही गरेको प्रतिवेदन पेश गरेको थियो ।
सरकारद्धारा गठित छानबिन समितिले पनि अनुसन्धानमा प्रहरी भुमिका सन्तोषजनक नरहेको भन्दै खोट देखाएको थियो।
विष्टमाथि घटनामा प्रमाण नष्ट गरेको आरोप छ । उनी अहिले निलम्वनमा परेका छन्। आइजिपी खनाल कंचनपुर पुगेर घटनास्थलको अवलोकन र स्थानीयसँग छलफल गरेका थिए।
निर्मलाका आमाबाबु पनि काठमाडौं आएर छोरीको हत्यारा खोजिदिन खनालसँग आग्रह गरेका थिए। गत साउन १० गते घरबाट साथीको घर हिँडेकी निर्मलाको शव ११ गते उखुवारीमा बलात्कारपछि हत्या गरेको अवस्थामा भेटिएको थियो।
निर्मलाको गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। घटनाको लामो समयसम्म पनि दोषी पत्ता लगाउन नसकेको भन्दै विरोध प्रदर्शन भइरहेको छ। सेतोपाटीबाट साभार