नेपालीहरूको महान् चाड बडादशैँको महानवमी पर्व मनाइँदै छ ।
आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ ।
प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने चलन छ । सो कलशको जल अभिषेक गरी टीका–प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने जनविश्वास रहेको छ ।
आज बिहानैदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि दिएर जङ्गी निसानपूजा तथा कोतपूजा भइरहेको छ । आजै सवारी साधनहरूलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ ।
हवाई टिकट नपाउँदा यात्रु अलपत्र
नेपालगञ्ज विमानस्थलमा दशैंका यात्रुको चाप अत्यधिक रूपले बढेको छ । यात्रुको चापको तुलनामा जहाजको उडान न्यून रहेको छ ।
जहाज कम्पनीले टिकट वितरण गर्दा पहुँचवालालाई मात्र प्राथमिकता दिने गरेको यात्रुको गुनासो छ ।
कर्णाली प्रदेशको डोल्पा र हुम्लामा सडक यातायातको पहुँच छैन । कर्णालीका जुम्ला, मुगु तथा सुदूरपश्चिम प्रदेशको बाजुरामा सडक यातायात पुगे पनि त्यति भरपर्दो नरहेकाले सो क्षेत्रका बासिन्दाले आवतजावतका लागि हवाई यातायातको साहारा लिनुपर्ने बाध्यता छ ।
टिकट नपाउँदा पहाडी जिल्लाका यात्रु चाडपर्वको समयमा सधैँ मर्कामा पर्ने गर्छन् । टिकट वितरणको काम व्यवस्थित नहुँदा हरेक वर्षको दशैँ तिहारमा पहाडी तथा हिमाली जिल्लाका यात्रुले सास्ती खेप्नुपरेको छ ।
हवाई टिकटमा ठूलाबडाको भनसुन चल्ने गरेपछि सामान्य सर्वसाधारणको बिचल्ली नै भएको छ । “दशैँको फूलपाती भित्रिसक्यो, आज महाअष्टमी तर अहिलेसम्म टिकट नपाएर घर फर्किने सुरसार नै छैन”, मुगुका सुरेन्द्र शाहीले बुधबार भने, “टिकट जति सबै मन्त्री र सांसदको पावरमा बाँडिएको छ, सर्वसाधारण लाई चाहिँ बिचल्ली पार्ने काम भएको छ ।”
नेपालगञ्ज विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जहाजको उडान भन्दा यात्रुको चाप धेरै भएको बताए । अनुसार पहाडी जिल्ला डोल्पा, मुगु, हुम्ला, जुम्ला र बाजुराका लागि तारा र समिट एयरले दैनिक रूपमा एक÷एक उडान भर्दै आएका छन् ।
दशैंमा पनि तलब आएन
दशैंँमा पनि दोलखास्थित प्रदेश मातहातका कर्मचारीले तलबभत्ता नपाएपछि ऋण खोज्न बाध्य भएका छन् ।
टाढाटाढाका कर्मचारी उल्टै घरबाट खर्च मगाएर बसको टिकट काटेर घर गएका छन् । जागीर खाएर लिएको तलबभत्ताले घरमा समेत खर्च पु¥याउने बेलामा उल्टै बसको टिकटको लागिसमेत खर्च माग्नु पर्ने अवस्था आएको जिल्ला वन कार्यालय दोलखामा कार्यरत अछामका रेञ्जर कपिल रावलले दुःखेसो गरे ।
इलाम घर भएका पशु अस्पतालमा काम गर्ने झलनाथ कोइरालाको हालत पनि उस्तै भयो । सरकारी जागीरको पाँच वर्षे अवधिमा उनी पहिलोपटक आर्थिक वर्ष शुरु भएदेखि नै तलब नपाएपछि रित्तो हात लिएर दशैँ मनाउन घर फर्किए ।
डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका एक कर्मचारीले पनि तलव नपाएपछि निराश भएर घर गएका छन् । प्रदेश सरकार माताहातका डिभिजन वन, खानेपानी, कृषि, भूसंरक्षण, पशुसेवा, सिँचाइ, जिल्ला प्राविधिक कार्यालय, जलउत्पन्न कार्यालयका दोलखाका मात्र २५० कर्मचारी तलब नलिई दशैँ मनाउन बाध्य भएका छन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाका प्रमुख भीष्म न्यौपानेले घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारीबाहेकका कर्मचारीको तलब आइतबारसम्म नआएकाले वितरण नगरिएको जानकारी दिए ।
राष्ट्रपतिद्वारा शक्तिपीठहरूमा पूजार्चना
महाअष्टमीको शुभदिन बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा पूजाअर्चना गरिन् ।
राष्ट्रपति भण्डारीले गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगती, शोभा भगवती, विजेश्वरी, नरदेवी, सङ्कटा भगवतीको श्रद्धाभक्तिपूर्वक पूजा आराधना गरेकी हुन् ।
उनले काभ्रेको पलाञ्चोक भगवतीको दर्शन एवं पूजा अर्चना गरिन् ।
यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अवस्थित शक्तिपीठ र देवीमन्दिरहरूमा पूजाअर्चना गरे ।
उनले नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, नरदेवी, इन्द्रायणी सङ्कटा भगवतीको पूजा आराधनाका साथै फूलप्रसाद एवं टीका ग्रहण गरेका हुन् ।
तलेजु मन्दिरमा वर्षमा एक दिन हुने पूजाको तयारी
हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर बिहीबार सर्वसाधारणका लागि खुला गरिँदै छ ।
तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।
तलेजु मन्दिरमा अरु ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ ।
दुर्घटनामा तीनको मृत्युु
पृथ्वी राजमार्गमा बुधबार भएको सवारी दुर्घटनामा तीनको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।
चितवनको इच्छाकामना गाउँपालिकास्थित केबुलकार नजिकै पोखराबाट धादिङतर्फ आउँदै गरेको ग२च १७५१ नम्बरको मारुती भ्यान र सोही दिशातर्फबाट आउँदै गरेको बा१ घ ५६५ नम्बरको दूध बोक्ने ट्याङ्कर एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।
मृतकमध्ये दुई जना मारुती भ्यानमा सवार र अर्का एक जना भने ट्याङ्करमा सवार यात्रु रहेको मुग्लिन प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धादिङको कल्लेरी निवासी २५ वर्षीय चन्द्रबहादुर नेपाली र धादिङकै ११ वर्षीय रोशन गैरे र बेनीघाट रोराङ गाउँपालिका–५ निवासी विनोद श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
घाइते चार जनाको चितवनस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए ।
भन्सार छल्न खोज्ने ट्रक सामानसहित नियन्त्रणमा
सशस्त्र प्रहरी बल नेपाल, राजश्व भन्सार सुरक्षा नम्बर ३८ गुल्म रुपन्देहीले भन्सार छलेर नेपाल भित्र्याएको अवैध सामानसहित ढुवानीमा प्रयोग भएको ट्रकलाई समेत नियन्त्रणमा लिएको छ ।
पराल बोकेको ना२ख ६१७५ नम्बरको मालबाहक ट्रकमा भारतीय सीमानाका झुलेनीपुल क्षेत्रबाट चितवन लैजाँदै गर्दा उक्त सामान नियन्त्रणमा आएकोे नम्बर ३८ गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्दबहादुर खातीले बताए ।
प्रहरी र सशस्त्रद्वारा निःशुल्क बस सेवा
दशैंका बेला सार्वजनिक यातायातको अभाव नहोस् भनेर नेपाल प्रहरीले बुधबारदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
उक्त बस सेवा अष्टमी, नवमी र दशमी गरी तीन दिनसम्म निःशुल्करूपमा सञ्चालन हुने प्रहरीले जनाएको छ ।
यसैबीच सशस्त्र प्रहरीको बस पनि राजधानीका विभिन्न रुटमा सञ्चालन भएका छन् । मंगलबारदेखि सञ्चालन भएको बस सेवा दशैं विदा अवधिभर सञ्चालन रहने सशस्त्र प्रहरीले जनाएको छ । यसका साथै पोखरामा पनि सशस्त्रको बस सेवा सञ्चालन गरिएको छ।