राज्यले लिएको तीन खम्बे अर्थनीतिको एक खम्बा सहकारी हो । अहिले सहकारीको साधारणसभाको सिजन चलिरहेको छ । आर्थिक वर्षको समापनको कम्तिमा ३ महिना भित्र लेखापरीक्षण गर्नु पर्ने र त्यसको ३ महिना भित्र वार्षिक साधारणसभा गर्नु पर्ने वाध्यकारी नीति अनुरुप सहकारीहरुले साधारणसभा धमाधम गरिरहेका छन् । म्याग्दीका प्रमुख सहकारीहरुले एक पछि अर्को गर्दै साधारण सभा गरिरहँदा जिल्ला भित्र कति पूँजी सहकारी मार्फत् परिचालन भइरहेको रहेछ भन्ने प्रकारको एउटा खाका पनि सार्वजनिक भएको छ । बेनी बजारलाई वेस बनाएर सञ्चालित कस्तुरी बहुउद्देश्यीय सहकारी, म्याग्दी बचत तथा ऋण सहकारी, बेनी बचत तथा ऋण सहकारी, न्यू धौलागिरी बचत तथा ऋण सहकारी लगायतका संस्थाहरुको बचत सङ्कलन र ऋण लगानीको अवस्था हेर्दा लाग्छ बैंक भन्दा पनि सहकारी नै जनताको साथी रहेछ ।
हालै साधारणसभा गरेको युनिक बचत तथा ऋण सहकारीले २ करोड ७३ लाख ३७ हजार निक्षेप सङ्कलन गरेको प्रतिवेदन सार्वजनिक ग¥यो भने न्यू धौलागिरीले ४ करोड ७३ लाख शेयर पुँजी रहेको र उसले ३२ करोड ८८ लाख ऋण लगानी गरेको जनाउँदै गर्दा यस्तै सहकारीहरुले गरेको लगानी हेर्ने हो भने म्याग्दी जिल्लामा झण्डै ३ अर्ब ऋण परिचालन सहकारीहरुले नै गरेको देखिन्छ । यस्तो अवस्थामा राज्यको पहुँज पुगेन कि बैंकहरुको पहुँच पुग्यो कि पुगेन भनेर भने सोच्नै पर्छ । जिल्लामा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुले सहकारीले जस्तो गरी सहज तबरले ऋण उपलब्ध गराउन नसक्नुको कारण नै सहकारीमा बैंकमा भन्दा बढी ऋणीहरुको भीड लाग्ने गरेको हो भन्ने यथार्थ हो ।
सन् १८४३ तिरबाट विश्वमा देखिएको सहकारिताको अभियानले अहिले पूरै विश्वमा आफ्नो उपस्थितिलाई निकै मजबुत बनाएको छ । किनभने अहिले निमुखा अनि गरिबहरुलाई आफूले सोचेको र चाहेको बेलामा काम गर्नका लागि अत्तो फुकाउने काम गर्ने भएकैले सहकारीलाई आम सर्वसाधारण जनताले आफ्नो साथी मान्ने गरेका हुन् । हुन त सहकारी भन्दा बैंकमा ब्याजदर सस्तो हुन्छ तर पनि बैंकमा झण्झट बढी भयो भन्ने आरोप निम्न वर्गीय जनताले लगाउने गरेका हुन् । राज्यको निकायमा दर्ता भएर सञ्चालित कुनै पनि संस्थाहरुलाई राज्यको निकाय होइनन् भन्न मिल्दैन तर पनि सहकारी भनेको आफ्नै पहल अनि पहुँचमा स्थापना हुने संस्था भएकाले जनताले यसलाई सहज र सजिलो माध्यम मानेको भने पक्कै हो ।
Previous Articleनेकपा म्याग्दीको जिल्लास्तरीय संयन्त्र गठन
Next Article सहगोत्रीका बीच किन गर्नु हुँदैन विवाह