-रेखाकौशल रेग्मी
प्रश्नैप्रश्नका आँखाले सोझिएर मतिर प्रहार गरे – “उसो भए तपाइँ मास्टर पो !”
यो निशाना फेरि दोहोरियो – “कैलेदेखि सुरु गर्नुभएको हो ?”
थामिएन झटारो, फेरि हानियो – “छोराछोरी पनि हुर्केछन् अनि कतिञ्जेल उतै रहनुहुन्छ र पढाइरहनुहुन्छ अब ?”
पहिलो प्रश्न र सोधाइमा निहित अभिप्राय ‘मास्टर’ पेशाप्रति आम बुझाइमा निहित अनास्था ।
दोस्रो प्रश्न कसरी धानिए होलान् मान्छेहरु ‘मास्टरी’ गरेर चमकधमक दुनियाँका रङहरुदेखि रहेर निरपेक्ष ।
तेस्रो प्रश्न – यसैगरी ठहर्नु सजिलो होला ? ‘परिवार’ यस्तो सूत्र हो जसमा हाम्रो अस्तित्व निर्भर छ । यिनै सूत्रसूत्रका माला गाँसिएको जीवनको बँचाइलाई सार्थक मानेर हेर्ने आँखाले पो अपायक बसाइँ र व्यवस्थापनमा तालमेल देख्दैन । सुन्ने र हेर्नेले ‘अत्यास’ मान्ने जीवन बाँच्ने ‘साहस’ गरिएछ, मलाई कतै पनि गुनासो छैन, न कहीँ असन्तुष्टि नै छ । तर पनि प्रश्नका प्रहार निरन्तर यात्रामा प्रत्येक परिचितले राख्ने स्वाभाविक कौतुहल हुन् ।
यतिबेला प्रश्नकर्ता आँखाबाट ओझेलिन्छन् तर मनभरि प्रश्नैप्रश्नको लर्को लाग्छ । आफैंभित्र अन्योल र अन्मयस्क भावमा प्रश्नहरुका जञ्जाल खडा हुन्छन् । प्रश्नहरु लहरिएर मलाई बेरबार नै पार्ने उपक्रम थाल्छन् ।
“हूँ म मास्टर र पढाउँछु उसो भए”
म पढाउने मास्टर हुनुको महसुस मभित्र हुन खोज्छ अनि नहुन खोज्छ ।
‘ए म पढाँछु है’
सबैले यसै भन्छन् ।
म पढाउँछु भन्ने सबैको प्रतिक्रियाले पढाउँदो रहेछु – रहेछु भन्ने लागे पनि मलाई त्यस्तो साँच्चै लाग्न कठिन पर्छ – आत्माको आवाजलाई सुन्न खोज्छु, आफैंभित्र अन्योलहरु छन् ।
“मसित के त्यस्तो कुरा उतिविधि छ जुन आफ्नो ‘मौलिक ज्ञान’ मानेर आफैंले गर्व गर्न सकूँ ? त्यो मैले जानेको विशेष कुरा जसलाई कहीँकसैको भलाइका लागि बाँड्न सकूँ म, केही कुरा अनि छाती फुकाएर, ओठ फिँजाएर भरिलो मुस्कानले व्यक्त हुन सकूँ, मैले पढाउँछु ।”
हो उहाँले प्रश्न नै गर्नुभएको थियो – ‘उसो भए मास्टर तपाइँ ?’
उहाँका प्रश्नमा मेरो मास्टर हुनुको लायकीपनप्रति रहेको शङ्का निहितै थियो । अविश्वासहरु र आशङ्काको घेराभित्र मेरो मास्टरी आवरणभित्रको आत्मा हमेसा डगमगाएको हो । यही तनाव र हलचलको मनोदशामा चिचिला लाग्न नपाएका कलिला नानीहरुका नितम्ब र छातितिर सुल्बलाउने नालायक मेरा औंलाहरु कलम उठाएर कापीमा चञ्चल नानीहरुका उज्याला भविष्यका रेखा कोर्न कहाँ सक्छन् र ? ‘मास्टर हूँ’ भनी आफूलाई गर्वले चिनाउने हिम्मत गरुँ ?
उहाँका प्रश्नहरुको जवाफ दिँदादिँदै मेरो असली अवतार उदाङ्गिँदै छ ।
“कैलेदेखि मास्टरी गरिराख्नुभएको छ ?” प्रश्नकर्ता मेरो सकसके घाँटीमा झन् सन्नासो च्याप्न आउँछन् ।
न उज्यालो छरुँला भनेर अँध्यारो वस्तीमा आएँ, न मनले उदाउँदो आशै गरेको छ । न सङ्कल्प, न सपना, न त्यागको तत्परता । खास जागिरै खाने उपक्रमले यो पेसातिर जोडिएछु । दश ठाउँ हाँडीबाट उछिट्टिएको मकैझैं हुँदाहुँदै यस ठाउँ आइपुग्दा खिसिक्क मनस्थितिमै आफ्नै मनलाई थामथुम पारिरहें । ‘सँगैका साथी कहाँकहाँ पुगे – केके बन्न गए, कठै मेरो गति !’
यही हीनतामा आलाप गाइरहें – ‘अल्छी गरेर पो यस्ता ठाउँ रहें नत्र मेरो क्षमता कति माथि छ – छ ।’
महिनाबारी मोहले पेसासित जोडिइरहें विद्यार्थीहरुको साँचो पथप्रदर्शक बन्न सक्ने आत्मविश्वास कहिले पो रह्यो र ममा ? अब ‘कहिलेदेखि पढाइराख्नुभयो ?’ भन्नेलाई आत्मामा अङ्कित अनुभव साक्षात दर्शन हुँदो हो त कठै मेरो बेइज्जत हुने थियो, आफ्नै पेशा । मेरो बेइज्जत त किन होस्, इज्जत भए पो हुने हो बेइज्जत ।
कैलेसम्म रे मेरो पढाउने पेसाको भविष्य ?
अब भयो ? ज्योतिष हुँदो हूँ त झुटमुट नै सही – ‘बाँकी यति वर्ष, यति महिना यति दिन पढाएर बिताउँछु’ भनी पाटीमा खरी धसीधसी हिसाब कोरेर देखाइदिन्थें ।
“……….. का गलगाँड अनि ज्योतिषका छोरी …….” भन्ने उखान भर्सेला परोस् ।
“अप्ठेरा पनि कति हुन् । ती÷यस्तै प्रश्न सोधिने परीक्षासित आतङ्कित हुनाले लोकसेवा सोकसेवा तिरको चक्करमा लागिन, ऐले आएर भविष्यका योजना जस्ता गम्भीर प्रश्नले डाम्न थाले । जमिन चक्लाबन्दी गर्ने जग्गा दलालको तालमा अब जीवनका खण्डखण्डका चक्लाबन्दी पेश गर्नुपर्ने भयो । आ ऽ होस् !” मभित्रको आलस्य जुर्मुराउँदै ढाडस दिन्छ ।
‘वर्ष यतिसम्म यसो गरुँला अनि वर्ष यतिसम्म उसो गरुँला, लौ मैले बनाएँ रे योजना, जस अनुसार नियतिले मलाई अड्याएछ भने पो त । को पो हुँला नियन्ता म भावी जीवनको योजना बुन्न सकूँ ?’ छैन मेरो हत्केलामा भविष्यको सचित्र आकार । कहाँ सक्छु अब भन्नलाई यसरी यतिञ्जेल बस्छु पढाउँदै भनेर । कि रबर हो समय अनि मैले दुई हातले च्यापेर दुईतिर तन्काउँदै बताइदिन सकूँ, ‘हेर्नुस् त म रहन्छु यत्तिकै उर्जावान यतिञ्जेल अनि बिताइदिन्छु त्यहाँसम्मका जिन्दगी मास्टरी गरेरै …… ।’
नियति मेरो बसमा छ र ? भएदेखि बिताउँथें जिन्दगी विज्ञकै परामर्श अनुसार प्रस्ताव योजना फलो गरेर । ‘फलाना दिन, फलाना समयमा, फलाना फलानाकै सम्मुख ऊ … त्यो फलानाले मेरो मर्यादा र आत्मसम्मानमा आघात पार्ने दुरासयसहित फलाना फलान्थोक भन्यो ….. ।’
विह्वल हुँदै मनले मभित्र बारम्बार गुनासो गरिरह्यो । कमजोर थियो मुटुको छेउ, घातक वाणले कोपिएर दर्फरिइरह्यो ।
‘फलाना फलान्थोक भनिएको, अन्याय र प्रतिशोधसहितको अपमान थियो त्यो … ।’
अपकार, अत्याचार, अपमान । सबै घटित थियो ममाथि । हिसाबमा उहिल्यैदेखि उति चलाख रहिन अब प्रतिशोध राख्नेले गरेको अपमान र दुव्र्यवहारको हिसाब गर्नुपर्ने भयो ।
हे भगवान फेरि परीक्षा लिन आँट्यौ ?
परीक्षाहरु मलाई प्रिय लाग्दैनन् भगवान । लाग्थे मनदेखि ५÷७ वटा डिग्रीका सर्टिफिकेटका माला भिरेर हेर्नुस् जीवनमा कि त गरिन्छ लर्निङ कि गरिन्छ अर्निङ भन्दै उत्प्रेरणा हो कि धक्कु हो, खोइ कुन्नी त्यस्तै लगाउनेसित टक्करमा रहिन्थ्यो नि !
अब प्रतिशोधको प्रत्युत्तर यताबाट दिनुपर्ने । अङ्कहरुका गन्जागोल मथिङ्गलभरि नाच्न थाले । नदीजस्तो सरलतामा बगेको जिन्दगीको गति अवरुद्ध गर्न मनैले मानेन । शकुनीहरुको कुटिल चालमा पाण्डवहरुले घायल हुनुपरेको महाभारतको जिज्ञासु पाठकलाई त्यही पढाइले केही सह्मालिने प्रेरणा दियो कि ?
‘फलानाज्यूले जानेको बग्नु त्यस्तै हुँदो हो, मैले जानेको बग्नु अलि अर्कै ।’
‘ज्ञान’ भएको म मास्टर कहाँ हूँ र सबै ब्रह्माण्डमा व्याप्त ज्ञानको अनुकर्ता हुन पाऊँ भन्ने रहरले धन्न जटिलताको जालोबाट उम्किन सकें । कतै फलाना । २–४ पुस्तकका ठेली हजम गरेपछि भ्रमबस ठान्नुहुँदो रहेछ – यो दुनियाँ मेरै बुद्धिमत्ताको मियोमा फन्फनी नाच्दैछ ।
कपिपेष्ट विद्वानज्यू ‘फलाना’ तिनै पुस्तकका अंश र केही पत्रपत्रिकाका प्रकाशित आलेखहरुबाट मिल्ने ‘दिव्य बौद्धिक टकिको डोज’ आङमा पसेपछि बेलाबेला उत्रिने गर्नुभएको देख्न पाइन्छ । केही ‘मपाइँ’ केही ‘हीनता’ केही ‘ईष्र्या’ र धेरै बढी ‘प्रतिशोध’ उहाँको व्यक्तित्वमा यसरी निहित छन्, अनि सोको अवतार प्रदर्शन गर्नुपर्दा माटो निलेर ‘यशोदा मैयाँ’लाई विश्वरुप प्रदर्शन गर्ने लीलानायकको सलिल आवरणमा प्रस्तुत हुनुहुन्छ । कुटिल र कुत्सित चालका चतुरा नायक (खल) अवतारमा उहाँ नियतिकै निर्देशन अनुसार आउनुभएको हो । कहिले कताकता बरालिँदै ‘आत्मसाक्षात्कार’ को रहरले ‘योग’ र ‘ध्यान’को ढुङ्ग्रोभिसम्म घुस्रिन कुदिरहेको पनि देखियो तर ढुङ्ग्राबाट निस्किइसक्दा बटारिएको पुच्छर पूर्ववत् थियो । नियतिले दुनियाँमा यस्ता व्यक्तित्वको पनि निकै खाँचो महसुस गर्दोरहेछ भनूँ अब ।
नायक (खल) हरुले सिँगारिएको संसार हुनाले नै बाँचिराख्न मन लाग्दो रहेछ दुनियाँमा भुइँमान्छेहरुलाई ।
केही थान बकबक, आग्रह (दुर) र आशर (दुर) ले भरपूर अर्काज्यू फलाना अनायासै मछेउ आइपुग्नु हुन्छ । कुनै दिन उहाँ तोरी निचोर्दैको कोलजस्तो चिल्लो चाप्लो लर्किने र लर्काउने अवतारमा आउनुहुन्छ । अनि कुनैबला अकडम–बडकम अवतारमा । लीलारुपहरुमा देखिन्छ नि लीला अनेक ।
त्यो एक दिन – ‘‘फलानाालई फलानाले फलाना फलाना कुरा गरेको भनी भन्नुभयो र ?’’
“के चाहिँ फलाना कुरा रे अनि कुनचाहिँ फलानासित रे ?” अलमलिएपछि सोध्नै प¥यो ।
“ऊ फलानाका बारे के मैले भनेकै थिएँ नि, फलानो फलानोहरुको फलानो फलानो भयो भन्छन् भनेर ।”
फलाना बारेका फलाना कुरा नियमित शृङ्खलाका रुपमा आइरहने हुनाले कति “कानले सुन्ने मनले नराख्ने” हुन्छन् तर कति गह्रुँगो भारी बोकाउन पो खोज्नुभएको रहेछ उहाँले । मैले चुक्ली, निन्दाचर्चाको जिम्मेवारी सह्माल्दै फलाना बारेका गोज्याउरीको हुलाकी म किन बन्थें ? के जानूँ लीला रुपमा हुँदाको ईश्वरीय अवतार प्रकट हुँदा ‘निन्दा चर्चा वृत्ति’का क्षणहरु सम्झेर आफैंलाई ग्लानि भएको पो थियो कि उहाँलाई ?
कसैका ‘चरित्र’, कसैका ‘व्यवहार’, ‘कर्म’, कसैका ‘आर्जन’, कसैलाई परेको ‘क्षति’, कसैका ‘ज्ञान’, कसैका ‘अज्ञान’, कसैका ‘धर्म’ र ‘अधर्म’, कसैका ‘विवेक’ र ‘अविवेक’ कसैकसैका ‘सम्बन्ध’ र ‘विग्रह’ कसैका ‘आचरण–स्वभाव’, कसैका ‘रुप’ र ‘आवरण’ कसैका ‘मिलाप’, कसैका ‘बर्खिलाप’, कसैका ‘क्षमता’, कसैका ‘अक्षमता’, कसैका ‘सौन्दर्य’ कसैका ‘कुरुपता’, कसैका ‘सङ्कीर्णता’ अनि कसैका उदारताबारे अनन्त प्रतिक्रिया मूलतः तीतो स्वादमा पस्किनेहरुलाई आफ्नो अनुहार हेर्ने ऐना अहिलेसम्म आविष्कार नभएको हुनुपर्छ ।
सिधासादा र छलछामरहित जिन्दगी बाँचेकाहरुलाई पनि ‘उचाल्ने’ र ‘पछार्ने’ खेलका साधन मान्ने यस्ता खेलाडीहरु धेरैभन्दा धेरै मर्नु नपर्ने अजम्मरी जुनी बाँचिने भ्रममा हुँदा हुन्।
हुन त सबै उसरी नै नियतिका निर्धा दास छौं, एकदिन यो भ्रम मेटाउनु पर्ने बेला फेरि परीक्षा लेला जिन्दगीले अनि सच्चिने प्रेरणा सबैलाई पक्कै देला नियतिले ।
कहाँ कहाँ भइएला, को – कहाँ, को – कहाँ रहिएला नियतिका निर्देशित नाटकमा फगत निमित्त मात्रै त रहिएला नि !
(लेखक महिला अधिकारकर्मी हुन् ।)
Previous Articleआर्थिक सहयोग हस्तान्तरण
Next Article राष्ट्रपति कार्यालयको नयाँ भवन बन्ने