दुवै मृगौला खराबीको उपचारमा आर्थिक अभाव झेलिरहेका एक युवालाई कुबेतबाट पाँचलाख भन्दाबढी सहयोग हस्तान्तरण गरिएको छ । आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका जिल्लाको मंगला गाउँपालिका–५, नेटाका मृगौलापीडित १९ वर्षीय सुरेश छन्त्याललाई आइतबार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुबेतले सञ्चालन गरेको सुरेश बचाउ अभियानमा पाँचलाख पाँचहजार २१० रुपैयाँ ओमकुमारी शान्ति कोषमा एक कार्यक्रम गरी हस्तान्तरण गरिएको थियो । मोना कुबेतका अध्यक्ष प्रेमबहादुर विश्वकर्मा, कोषाध्यक्ष कृष्णप्रसाद खड्काले कोषका अध्यक्ष राजेश शाक्य, शुरेसकी आमा सीता छन्त्याल, सुरेश बचाउ अभियानका संयोजक डकबहादुर रोकालाई हस्तान्तरण गरेका थिए ।
सुरेश बचाउ अभियानमा सबैभन्दा धेरै रकम उठाउएर सहयाग गर्ने देशमा कुबेत रहेको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै मोना कुबेतका अध्यक्ष विश्वकर्माले कुबेतमा रहेका म्याग्देलीको अगुवाइमा ठूलो रकम सङ्कलन गर्न सफल भएको बताए । कुबेतमा दिपक छन्त्यालको संयोजकत्वमा आर्थिक सहयोग सङ्कलन सहयोग अभियान सञ्चालन गरिएको थियो ।
कलिलै उमेरमा मृगौलाले काम नगरेपछि विश्वभर सञ्चालन भैरहेको अभियानले उपचारमा सहज भएको कोषका अध्यक्ष राजेश शाक्यले बताएका छन् । उनका अनुसार आर्थिक अभावले उपचारमा कुनै पनि असर गर्न नदिने गरी अभियान सञ्चालन गरिएको बताउँदै हालसम्म कोषबाट ९९ जनाको उपचार गरिएको छ । घर परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि आफन्तले ऋणधन सङ्कलन गरी उपचार गरेपनि थप आर्थिक अभाव भएपछि अभियान सुरु गरिएको अध्यक्ष शाक्यको भनाई छ ।
सोही अवसरमा कोषको संरक्षक संस्था म्याग्दी उद्धार समिति बहराईनका सल्लाहकार छविलाल विक र भरत रत्नलाई समेत स्वागत गरिएको थियो । कार्यक्रमको सञ्चालन कोषका सचिव लोकेश पुन मगरले गरेका थिए ।
Previous Articleगाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड
Next Article सिके राउत रौतहटबाट पक्राउ