
काठमाडाैं । बालकै देखिन्छिन् उनी । शरीरले किशोरावस्थाको आकार समेत लिइसकेको छैन । गहुँगोरो वर्ण, होचो कद र पातलो शरीर ! गामबेसी गर्दाको पहिरन! फुंग उडेको मुहार! बैंसालु उमेरमा आउनुपर्ने चमक छैन। माइती इन्डियाकी इन्चार्ज इन्दिरा पाण्डे र नेपाली जनसम्पर्क समिति, भारतका अध्यक्ष बालकृष्ण पाण्डेको पहलमा कान्छी ‐नाम परिवर्तन) भारतको नयाँ दिल्लीस्थित जिबीरोडबाट हवाई मार्ग भएर नेपाल फर्काइँदै थिइन्।
अाजको नागरिकमा खबर छ-असोज ६ गते दिउँसो नेपाल एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रँदा उनका वृद्धावस्थाका बाबु पनि सँगै थिए । बाबुछोरीका मनभित्रका असन्तुष्टि मुहारमा झल्कन्थ्यो। उतै बसेर अझ पैसा कमाउने महत्वाकांक्षाले नछाडेकाले भनिन्, ‘फर्काएर के भो म फेरि गइहाल्छु!’ शरीर नेपालमा पुगिसक्दा कान्छीको मन दिल्लीमै थियो । मुख दिल्लीतर्फ मोड्न नछाड्दा माइती इन्डिया र प्रहरीले कान्छीलाई अब नेपाल नछाड्न कडा निर्देशन दिनुपरेको थियो। घरपरिवारकै सहयोगमा कान्छी दिल्ली पुगेकी थिइन्। बाबुले समेत रोकेका रहेनछन् कान्छीलाई। उल्टै सहयोगी भूमिका खेलेका रहेछन्।
कहिले विद्यालय नटेकेकी उनले अक्षर चिन्ने र लेख्न जान्ने कुरै भएन। तर, नुवाकोटको दुर्गम गाउँबाट दिल्लीको जिबीरोडस्थित गल्लीको कोठीसम्म पुगेको घटना उतिकै रोचक छ। भूकम्पबाट नुवाकोटस्थित कान्छीको घरसमेत भत्कियो । तीन दिनसम्म भत्किएको घरभित्र पुरिएकी उनकी आमाको जिउँदै उद्धार भयो। काठमाडौंमा उपचारका लागि ल्याउँदा कान्छी साथमा आइन् । उपचारका क्रममा पैसाको कमी हुँदै गयो । होटलमा भाँडा माझ्ने काम गर्न थालिन् उनले। मासिक तीन हजार कमाइ हुन्थ्यो । दुई महिनामात्र भएको थियो उनले काम गरेको। कान्छीलाई एकजना महिलाले लोभ्याइन्। ती महिलाले भारतमा काम गर्दा निकै पैसा कमाइने सुनाइन्। गरिबीले थिचिएकी कान्छी लोभिइन्। परिवारका सदस्यको सहयोगमा २०७२ सालको दसैंअगावै उनी सीमा काटिन। चिनेजानेका चारजना दिदीहरू उनको साथमा थिए। उनीहरूकै साथमा रक्सौलबाट रेल चढेर दिल्लीस्थित जिबी रोड पु-याइयो कान्छीलाई।
यौनकर्मी बन्दा उनी किशोरावस्था पनि टेकेकी थिइनन् । कलिलै उमेरमा उनले जिबी रोडको गल्लीभित्रको कोठीमा शरीरसँग भारु साट्न थालिन्। कलिली भएकीले दिल्लीको यौनबजारमा उनको माग बढ्यो । विपन्न परिवारकी कान्छीका लागि त्यहाँको कमाइ ठूलै थियो । फर्कंदा उनले कानमा लगाएका सुनका मुन्द्रीले पनि कमाइ झल्कन्थ्यो। लस्करे सुन कानभर लगाएकी कान्छीले कमाइबाट निकै सुन खरिद गरेको सुनाइन्। केही सुन उद्धारका क्रममा प्रहरीले लुकाएको दाबी गरिन्। उनी दिल्लीको कोठीमा मात्र सीमित भइनन्। मुम्बई र पुनासम्मको यौनबजारमा लगिन्थिन् कान्छी। जिबी रोडमा प्रतिदिन दुईदेखि पाँच हजार भारुसम्मको कमाइ हुने उनले सुनाइन् । दिल्लीबाहिर जाँदा त्योभन्दा बढी कमाइ हुन्थ्यो।
कान्छीका आफन्त पनि दिल्लीको यौन बजारमा सक्रिय छन् । तीन वर्षसम्म प्रहरी र महिला उद्धारकर्ता पुग्दा उनीहरूकै कारण कान्छी लुकाइएकी थिइन् । उनले भनिन्, ‘प्रहरी आउँदा हामीलाई लुकाइन्थ्यो ।’ आफूजस्तै साना उमेरका युवती करकापमा राखिएको सुनाउँदै तिनको उद्धार गर्न चुनौती भएको बताउँछिन् कान्छी। उनी भन्छिन्, ‘मनखुसी गएका हामीलाई फर्काउनुभन्दा करकापमा राखिएकालाई फर्काउनुहोस् न !’ दिल्लीको अदालतले फर्काउन आदेश दिएपछि मात्र कान्छीको नेपाल फिर्ती सहज भएको हो। नत्र उनलाई कोठीमै फर्काउन यौनबजारका युवती तस्करीमा संलग्न संगठित समूह सक्रिय थिए । जुन असफल भयो। अदालती प्रक्रियामा सो समूहले गरेको खर्च खेर गयो । कान्छीलाई घर फर्काइयो।
कान्छीको दिल्लीको यौन बजारमा भएको कमाइ घरमा आइरह्यो । तीन वर्षसम्म कमाएको र जोगाएको पैसाले उनले सुन खरिद गर्नुका साथै घरखर्च समेत पठाइरहिन्। बेलाबेलामा बाबु आफैं पुगेर पैसा लिइआउँथे । कान्छीको कमाइले बाबुआमाको खर्च टरेको थियो । सुनको अन्डा पार्ने कुखुरी सोचेका थिए बाबुआमाले । त्यसैले, कान्छी फर्काइँदा बाबुमा खुसीभन्दा दुःखको संकेत मुहारमा पढ्न सकिन्थ्यो। पैसासँग चेलीको शरीर साट्ने पितासँग घर लागिन् कान्छी । प्रहरीसामु भनिन्, ‘बाले कोठीमा पु-याएका होइनन्, आफैं गएकी !’ तस्करको सञ्जाल पनि देखाइनन् उनले । अब फेरि यौन बजारमा नपुग्ने ओठे जवाफ दिएर नुवाकोटस्थित गाउँ फर्केकी छिन् कान्छी । तर उनले उद्धारकर्ताकै सामुन्ने फेरि फर्किहाल्छु भनेकी छिन्। मानव तस्करको शैली र कलिला युवती आकर्षित गर्ने रणनीति बदलिइसकेको छ । कान्छी एउटी पात्र हुन् । कान्छीहरू यौनबजारतर्फ आकर्षित भइरहेका छन्।