पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–१, गूर्जामा देउता ‘खुशी पार्न’ स्थानीयवासीद्वारा बराहको पूजा गरिएको छ । गाउँ नजिक रहेको बराह मन्दिरमा गूर्जाबासीले मङ्गलबार धार्मिक विधि तथा परम्परा अनुसार मन्दिरमा पुगेर पुजाआजा गरेका हुन् ।
जिल्लाको सदरमुकम बेनीदेखि २६ कोष टाढा पश्चिममा पर्ने गूर्जामा परापूर्वकालमा काली बराहले स्थानीयको ज्यान लिन थालेपछि सामूहिक पूजाबाट काली बराहको शक्ति नष्ट गर्दै अपाङ्ग गराउन गरेको मनोकामना पूरा भएपछि हरेक वर्ष बलि चढाई धजा पताकाले बाँधेर पूजा गर्ने गरिन्छ । जिल्लाकै अति विकटमा एउटै बस्तीमा अवस्थित वडामा बसोबास गर्ने छन्त्याल र दलितले सामूहिक रुपमा साँढको बलि दिएर सन्तान प्राप्ति, विदेश यात्रा, दुःखकष्टको अन्त्य, नोकरीमा राम्रोलगायत व्यक्तिगत तथा गाउँलेको प्रगतिलाई आधार बनाएर दिनभरी पूजाआजा गर्ने गर्दछन् । स्वदेश तथा विदेशमा दुःख पाएमा मन्दिरमा पुगेर सकुशल फर्किउन् भन्दै गाउँलेले पूजा गर्ने गरेको पूजा व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर छन्त्यालले बताए ।
बराह देवताको सेवा नगरे क्षति हुन्छ । बराह नजिकबाट देवता साँढे जङ्गलमा प्रवेश गरेको देखेपछि पूजाआजा गरिन्छ । असार, साउन महिनामा अत्याधिक वर्षा हुँदा समेत मुल नफुट्ने बराहताल नजिकबाट देवता साँढे जङ्गलतर्फ गएपछि भदौ महिनामा तालमा पानी जम्मा हुने भएकाले पनि स्थानीयले ३ सय वर्षदेखि नियमित पूजा गर्ने गरेका छन् । स्थानीयले देवता साँढेलाई अझै पनि जङ्गलतर्फ गएको देख्ने तथा तालमा पानी जम्मा भएपछि दिन हेरेर पूजा गर्ने गर्दछन् । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, प्रहरी नायव उपरीक्षक विरबहादुर बुढा, काठमाण्डौंमा बसोबास गर्ने दिप छन्त्यालसहितको टोली हेलिकप्टरमार्फत मन्दिरमा पुग्दा स्थानीयले स्वागत गरेका थिए ।
वर्षभरीको दुःख कष्टलाई बराह मन्दिरमा देवतालाई बुझाउन पुगेका स्थानीयले भाकक पूरा भएपछि स्वदेश तथा विदेशमा रहेका गूर्जावासीले चन्दा सहयोग गर्ने गरेका छन् । मन्दिरमा म्याग्दी समाज अमेरिकाका अध्यक्ष अम्मर छन्त्यालले आफ्नो मनोकामना पूरा गर्न घण्टी चढाएका थिए । बलि दिएपछि साँढेबाट निकालिएको एक अङ्गलाई पात्रोको रुपमा हेरिन्छ । मन्दिरमा दुईजना पुजारीमा जनकल्याण मावि गूर्जामा कक्षा ७ मा अध्ययरत हेविन छन्त्यालले समेत दिनभरी पूजारीको भूमिका निर्वाह गरेका थिए । छन्त्याल र दलितले एकसाथ पूजाआजा गर्ने मन्दिरमा महिला प्रवेश गर्दैनन् । प्राचिनकालमा बलिलाई महिलाले हिंसाको रुपमा लिने गरेकाले पनि मन्दिरबाट टाढा बसेर दर्शन गर्ने गरेको समाजसेवी दिप छन्त्यालले बताए ।
मन्दिर आसपासमा तारबार, मर्मतसम्भार तथा आवश्यक पूर्वाधार जुटाउने अभियान सञ्चालन गर्ने प्रतिबद्धता समेत उनले जनाए । धार्मिक, पर्यटन, जडिबुटीको सम्भावना भए पनि सम्बन्धित निकायबाट प्रयाप्त सहयोग नभएको बताइएको छ । मन्दिरको दर्शन गर्न पूगेका प्रजिअ अधिकारीलाई स्थानीयले गाउँको समस्याहरु सुनाएका थिए । मन्दिरमा करिब १ सय साँढेको बलि दिइएको छ । स्थानीयको मनोकामना पु¥याइदिने बराह मन्दिरमा छिमेकी रुकुमका विभिन्न बस्तीमा जाने स्थानीयले समेत पूजाआजा गर्ने गरेका छन् । मन्दिरबाट गूर्जा, चुरेन, पुथा हिमालसहित घना जङ्गलसहित चारैतिर सुन्दर दृश्य देखिन्छ । मन्दिरसम्म पुग्ने व्यवस्थित पदमार्ग, खानेपानी तथा शैचालय सुविधाका लागि स्थानीयले पहल गरेका छन् । सरकारी सेवासुविधा र पहुँचबाट टाढा रहेको गूर्जावासीले बराह मन्दिरमा पुगेर समस्या बुझाउने गरेका छन् ।
Previous Articleलर्नद्वारा पत्रकारसँग अन्तक्रिया
Next Article म्याग्दीमा संविधान दिवस मनाइयो