म्याग्दी जिल्लामा विगत ३६ वर्ष देखि होटल व्यवसाय सञ्चालन गर्दै आएकी विमला गौचन नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभाका लागि समानुपातिकमा सिफारिस भएकी नेतृ हुन् । उनै गौचन संग राजनीति, व्यवसाय र एकल महिलाका बारेमा रुप्से ग्रुपका लागि अमृत बास्कुने र कृष्ण जि.सीले गरेको कुराकानीको संपादीत अंश ः
तपाइँलाई स्वागत छ रुप्सेमा ।
धन्यवाद रुप्से गु्रपलाई ।
हामीले भर्खरै मात्रै नेपाली महिलाहरुको महान चाड हरितालिका तीजलाई बिदाइ गरेका छौं । यो तीजमा भड्किलो संस्कारको प्रवेश भयो भनिन्छ नि ?
हो, हरितालिका तीज यो एउटा राष्ट्रिय रुपमै मानिँदै आएको र हामीले एउटा संस्कृतिलाई जगाउनु पर्छ भन्ने समाजले ल्याएको छ र जानुपर्छ भन्दै गर्दा यो हरितालिका तीज पर्व त राम्रो हो, यसलाई मनाउनै पर्छ । दिदीबहिनी बर्खाभरि दुःख गरेर माइतीमा बिसाउन जानको लागि माइतीले दाइ वा बुबाले लिन आएर माइती घरमा जाने गर्थे र दर खाएर रातभरि ब्रत बसेर शिवजीको आराधना गरी आफन्तको आयु लामो होस्, चिताएको कार्य सफल होस् भन्ने प्रार्थना गर्दथे । अहिले धेरै फरक छ । राज्यमा धेरै कुराहरुको विकास भएको छ । यसका लागि पनि तीजमा, तीज आउनुभन्दा अगाडि, एक महिना अगाडिबाट नै रातो पोसाक लगाएर होटलहोटलमा, पार्टी प्यालेसमा गएर, संस्कृतिलाई जगेर्ना गर्ने आफ्नो ठाउँमा छ, अलिकति मैले यो तीज पर्वलाई नमानीकन आफ्नो प्रतिभालाई शो गर्ने जस्तो देखेको छु ।
हेर्नुहोस भिडियो
लामो समयसम्म विछोडिएका चेलीबेटीहरु एक ठाउँमा भेला भएर रमाइलो गर्ने पर्व हो नि ? होटलमा जाने भनेपछि त अलि फरक अर्थ लागेन र ?
त्यस्तो पनि हो । होटलको विषयमाभन्दा पनि पार्टी प्यालेस अझ अगाडि उभिएको छ । होटेलमा भन्दा नि पार्टी प्यालेसले बढी विकृति आएको जस्तो लाग्छ मलाई । किनभने हामी एउटा तीज पर्व मान्नलाई पार्टी प्यालेसमा गएर छोराको विवाह, छोरीको विवाह जस्तो गरेर जानु पर्ने देखिँदैन । भनीहाल्नुभयो रुप्से गु्रपले, किनभने यो संस्कृतिलाई जगाउनका लागि हामी महिलाले नै आफूहरुले के गर्नु पर्छ त भन्ने भूमिका निभाउनु पर्छ । र अहिलेको समयले पनि कता कता राज्यको पहुँच नपुगेको हो कि ? राज्यले एउटा नीति नबनाइदिएको हो कि ?
एउटा सहकारीले दर खुवाउने क्रममा झण्डै ६ सय जना बिरामी भए । खाने चिजहरुमा पनि जुन गुणस्तरको कमी देखियो र मान्छेको स्वास्थ्यमा प्रतिकूल असर प¥यो नि ?
मैले सम्पूर्णलाई के भन्न चाहन्छु भने, हामी सबै दिदीबहिनीहरु मिलेर आफैंमा भनौं न एउटा पिकनिक जस्तो गरेर जाँदा राम्रो हुन्छ । त्यसको बारेमा बुझ्दै जाँदा त्यो ठाउँमा खानाको बार्गेनिङ भइरहेको । खानाको बार्गेनिङ गर्नु राम्रो होइन । खाना राम्रो खुवाउने बरु थोरै खुवाउने, थोरै खुवाउने, क्वालिटी खुवाउने, राम्रो शुद्ध खाना खुवाउने हामीले प्रयास गर्नुपर्दछ । र सस्तो भएका कारण त्यस्तो भयो होला । होटलको प्रतिस्पर्धाले पनि होला, त्यो अवस्था हुन गएको जस्तो मलाई लाग्छ । सस्तो खानाको कारणले पनि यस्तो भएको हो । होटलको कारणले भन्दा पनि बार्गेनिङ हुँदा सस्तो खुवाउनु पर्ने, सस्तो खानाले पनि त्यस्तो हुन जान्छ । तर मबाट त्यस्तो हुँदैन । म चाहिँ सकेसम्म क्वालिटीको खाना खुवाउँछु ।
होटलमा बालश्रमिकको प्रयोग बढेको भनिन्छ नि के हो अवस्था ?
मैले भन्नु पर्दा म होटल व्यवसायमा आबद्ध भएको २०४० सालदेखि हो । अहिले छत्तीस वर्ष लाग्यो मैले होटल व्यवसाय गर्न लागेको । मैले होटल पेसा गर्दैगर्दा र मेरो पेसामा आबद्ध हुँदैगर्दा मैले कुनै पनि बालबालिकालाई श्रमिकका रुपमा काममा लगाएको छैन । किनभने अहिले पनि मकहाँ ९ जना स्टाफ छन्, सबै २० वर्ष काटेका बहिनीहरु र भाइहरु । बालबालिकाहरुलाई बाल श्रमिक हुन दिनुहुन्न, हामी त्यो इन्भारमेन्टबाट टाढा राख्नुपर्छ किनभने हामी एउटा प्रोप्राइटर भएपछि, होटलको म्यानेजर भएपछि कुन कहाँ के भएको छ भनेर त्यो निगरानी गर्न एकदम जरुरी छ । म्याग्दीको हकमा र समग्र धौलागिरि अञ्चलको हकमा मैले देखेको बालश्रम भएको धेरै ठाउँमा मैले बुझेको छु । मैले यहाँ कसरी प्रस्तुत गर्ने र हामी एउटा व्यवसायीले मापदण्डभित्र बसेर र बालबालिकाहरुलाई श्रममा नलगाई उनीहरुलाई उचित शिक्षादिक्षा आबद्ध गराउनु आवश्यक छ ।
बालश्रम न्यूनीकरण गर्नका लागि हाम्रो प्रयास के हुनसक्छ ?
बालश्रम न्यूनीकरणका लागि बालबालिकाहरुलाई शिक्षादिक्षा दिने, उनीहरुलाई विहान बेलुका जब गराए पनि दिउँसो शिक्षा दिने, यदि शिक्षा दिन सकेन भने उनीहरुलाई अर्कै एउटा तालिम, गुणस्तरको तालिम र भनौं दक्षता प्राप्त हुनको लागि उनीहरुलाई तालिमहरु दिएर सक्षम बनाइदियौं भने उनीहरुले बुझ्छ । यो टिनएजरहरुलाई अवायरनेस एकदम जरुरी छ । मैले विनम्र अनुरोध गर्दछु, तपाइँ पत्रकारहरुलाई, आग्रह गर्छु, ठाउँठाउँमा गएर टिनएजर बालबालिकाहरु छन्, तिनीहरुलाई यो अवायरनेस दिएर बालबालिकाको अधिकार यो छ, शिक्षामा यो छ भनेर तपाइँहरुले आह्वान गर्न जरुरी देखिएको छ र गर्नु पनि हुनेछ भन्ने आशा राखेको छु ।
हामीले महिला र राजनीतिको सम्बन्ध कस्तो बनाउनु पर्ला ?
मैले आदरणीय राष्ट्रपति विद्यादेवी भण्डारीलाई विनम्र अनुरोध के गर्छु भनेपछि हामी महिला पनि म पनि एकल महिला र उहाँ पनि एकल महिला । जब उहाँको राजनीतिको क्रममा उहाँले श्रीमान गुमाउनुभयो र श्रीमानको पार्टीमा भएको हरेक कुराको सहयोगले र उहाँको दक्षताले उहाँले अहिले राष्ट्रपति हुन पाउनु भएको छ । र मेरो अभियान के छ भने, अहिलेको एकल महिला तथा अहिलेको बालिकाहरुलाई, बालभन्दा पनि अझ बालिकाहरुलाई राम्रो शिक्षा र राम्रो दक्षता प्राप्त हुने अवायरनेस तालिमहरु, आयआर्जनको तालिम र पर्यटन क्षेत्रमा फेकस हुने खालका आर्थिक बृद्धि गर्न सक्ने कार्यक्रमका लागि पहल गर्नु पर्छ । उहाँले चाहिँ यो एकल महिलाको लागि र बालबालिकाको लागि उहाँले दक्षता प्राप्त गर्ने र आयआर्जन गरेर खान सक्ने तालिम तथा अवायरनेसको आह्वान गर्नुभयो भने निश्चय पनि बालबालिकाको हरेक कुराको न्यूनीकरण हुन्छ र हामी एउटा समृद्ध समाजमा बस्न र बाँच्न सक्छौं ।
नेपालको राष्ट्रपति महिला हुँदाहुँदै पनि महिलाहरुको राजनीतिमा सहभागिता कम छ, यसलाई बढाउनका लागि के गर्नु पर्ला ?
राजनीतिमा महिलाहरुको पहुँच बढाउनका लागि सबैभन्दा ठूलो कुरा राजनीतिक अग्रज नेताहरुलाई म के भन्न चाहन्छु भने, महिलाहरुलाई स्थान दिनुप¥यो र उहाँहरुलाई स्थान मात्र दिएर होइन, उहाँहरुलाई के छ ? कसो छ भनेर अवायरनेस एकदम जरुरी छ । अहिले भर्खरै सकिएको प्रतिनिधिसभा र स्थानीय सभाका अहिले प्रतिनिधि भएर, राष्ट्रिय सभाका सदस्य भएर अहिले झण्डै ५ सय जना माननीयहरु हाम्रो अगाडि उभिनुभएको छ । अझ त्यो सम्बन्धमा अहिलेको प्रधानमन्त्रीले झण्डै ४० प्रतिशत महिलाहरुलाई माननीय हुने अवसर दिनुभएको छ । ती माननीयहरुलाई, ती राष्ट्रिय सभाका सदस्यहरुलाई म के भन्न चाहन्छु भने हरेक आफूले मात्रै कुर्ची समातेर नबसौं, अब महिलाहरुको सम्बन्धमा, महिलाहरुको उत्थानको लागि र महिलाहरुलाई राजनीतिमा उहाँहरुले ठाउँ दियो भने अवश्य पनि त्यो समाज समृद्ध हुन्छ, समाजको विकास हुन्छ, समाज आर्थिक रुपमा विकसित हुन्छ, हरेक कुराको विकास हुन्छ भन्ने कुरा म उहाँहरुलाई भन्न चाहन्छु । अहिलेको समग्र महिलाहरुलाई ठाउँ दिएर पनि, स्थान दिएर पनि यहाँहरु ब्याक हुने अवस्था देखिइरहेको छ । किनभने हरेक कुरामा सहकार्यता छैन, जुनै पार्टीमा पनि सहकार्यता छैन । हामी महिलाहरु अघि बढ्छौं र केही गर्छौं भन्दाभन्दै पनि यो महिला अब अघि बढ्न लागी, यसले अब चान्स पाउने भई भनेर उहाँहरुले अर्कै नजरले हेर्ने दृष्टिकोण खडा हुन्छ राजनीतिमा । त्यसकारणले प्रधानमन्त्री, राष्ट्रपति लगायत समग्र महिलाहरु म समृद्ध नेपाल बनाउँछु, समाजमा महिलाहरुको हक हितलाई सुनिश्चित बनाउँछु भनेर अघि बढेका महिला दिदीबहिनीहरुलाई म भन्छु कि महिलाहरुमा शिक्षाको कमी र दक्षताको कमी हुन दिनु भएन । हरेक कुराको एउटा मोटिभेसन गरेर, प्रदेश प्रदेशमा गएर दिदीबहिनीहरुलाई अगाडि ल्याई समाजलाई समृद्ध बनाउनलाई राजनीति गर्नै पर्छ, राजनीतिमा सक्षम भयो भने, आर्थिक, सामाजिक तथा नैतिक सबैको विकास हुन्छ भन्ने जस्तो लाग्छ ।
प्रदेशसभामा हजुरको समानुपातिकतर्फ छनौट हुनुहुँदैछ भन्नेसम्मको कुरा आएको थियो, के भयो खास त्यो ?
भन्नै पर्छ अब मैले । त्यो चाहिँ पक्कै पनि हो । जिल्लाबाट मलाई एउटा एक्लै महिला, यो महिलाले गर्न सक्छ, गर्नुपर्छ र यसले गर्न सक्छ भनेर प्रदेश सभाको समानुपातिकमा एकल निर्णय गरेर पठाउनुभयो । मैले गरेको योगदान र समग्र महिलाहरुलाई मैले दिएको योगदानको केन्द्रमा मूल्याङ्कन भएन । नभए पनि मलाई चित्तदुखाई छैन । तर मैले यो म्याग्दी जिल्लामा भन्नै पर्छ, म समानुपातिकमा नपरे तापनि यो म्याग्दीले नेपाली कांग्रेसमा अत्यधिक मतले माथि आएको, छ । त्यसकारण म म्याग्दीबासीहरुलाई धन्यवाद दिन चाहन्छु । अग्रज नेताहरुलाई मेरो सुझाव, अब यस्तो अन्याय गर्नु हुँदैन । अब अग्रसर हुने र योगदान दिने महिलाहरुलाई अगाडि बढाएन भने यो नेपाल सय वर्ष पनि यस्तै हुन्छ ।
केही समय आउने अनि हराउने, जुन अहिलेसम्मको समस्या देखिएको छ महिलाहरुमा, त्यसलाई निरन्तरता दिन के गर्नुपर्ला ?
निरन्तरता दिनको लागि अब हाम्रो अहिले गण्डकी प्रदेशमा बसेका अग्रज नेताहरु, प्रदेश सभाका मन्त्री र प्रदेशका माननीयहरुले महिलाहरुको हकहितका लागि कुनै पनि कार्यक्रम लिएर, कुनै बजेट पारेर, यो स्थानीयलाई मात्रै एउटा नोटिस गरेर विकास भनेर यो बाटोको लागि मात्रै होइन, महिलाहरुको दक्षता विकासका लागि केही पनि बजेट छैन । त्यसकारण गर्दा महिलाहरुलाई पछि पर्न गएका हुन् । बजेट हुँदा एकदम माथि र बजेट नहुँदा पछि ओझेल परेजस्तो भनौं न बत्तीमुनिको अँध्यारो जस्तो भइरहेको छ, यो कहिल्यै पनि नहोस् । महिला दिदीबहिनीहरुलाई अगाडि बढाउनका लागि राजनीतिमा नेतृत्व लिनका लागि हरेक पार्टीका नेताहरुले, अग्रज नेताहरुले प्रत्येक महिलाहरुलाई, प्रदेशसभाका महिला विभाग, हरेक विभाग छन्, ती विभागहरुमा विभाजित गरेर उहाँहरुलाई नेतृत्वमा ल्याउनु पर्छ ।
समाजमा हाम्रो समाजले एक महिलाहरुलाई हेर्ने दृष्टिकोण कस्तो छ ? र समाजको अवस्था के छ ?
हाम्रो एकल महिला भन्दा झण्डै १५ वर्ष अगाडि एकल महिलालाई हेर्ने दृष्टिकोण एकदमै फरक थियो । जब म यो नारी जागृति बहुउेश्यीय सहकारी संस्थाको म उपाध्यक्ष हुँदै गर्दा र जिविसबाट एउटा फन्डिङ लिन म सक्षम भएँ । त्यहाँबाट मैले बजेट लिएर मञ्चमा हामीले जिल्लाभरिका धेरै महिलाहरुलाई रातो चुरा, रातो वस्त्र र रातो च्यादर, र उहाँहरुलाई हामी बच्चाबच्ची भएकाले एकल महिला भन्न मिल्दैन, हामीले रातो वस्त्र नलगाउँदा समाजले हेर्ने दृष्टिकोण फरक हुन्छ र हामी हिँड्न लायौं भने कपडा पनि मैला लगाएको, यो राँडी महिलालाई हे¥यौं भने साइत पर्दैन भन्ने थियो, त्यो अहिले कदापि छैन । त्यो अहिले धेरै परिवर्तन भएको छ । हामी एउटा छोराको आमा, छोरीको आमालाई एकल महिला भन्न मिल्दैन । तर म राज्यलाई के अनुरोध गर्छु भने पछि एकल महिला भनेको जब अविवाहित भएर बस्छन्, जब महिलाको कोही हुँदैन उसलाई स्याहार गर्ने, त्यो महिलालाई राज्यले स्याहार गर्नुप¥यो । त्यो महिलालाई एकल महिलाको दायरामा ल्याएर उनीहरुलाई भत्ताको व्यवस्था गरिदिनुप¥यो, भत्ता बाँडिदिनुप¥यो । हामीले एक हजार भत्ता पाएका छौं भने उनीहरु एकल महिला, एकल भएर बसेका छन्, न दाइ छ, न भाइ छ, न को छ, न आफ्नो श्रीमान छ, न आफ्नो छोराछोरी छ, ती महिलाको विपत्ति देख्दाखेरि मलाई एकदम दुःख लागेको छ । ती महिलाहरुलाई राज्यले एक हजार हैन पाँच हजार भत्ता दिन म आग्रह गर्न चाहन्छु । र अहिले मैले एकल महिलाको महसुस मैले गर्दिन र मैले मेरो समाजलाई पनि गर्न दिँदैन । अहिले हरेक एकल महिलाहरु आफ्नो रातो वस्त्रमा आएर आफ्नो कार्यक्रमलाई सञ्चालन गरेर, हरेक कुरामा अगाडि, पूजापाठमा पनि अग्रसर भएर गरेका छन् । हामी मानव हो, मानवले बनाएको हो एकल महिला । हो श्रीमान् कति वर्ष अगाडि, आफ्नो पति गुमाउनेवित्तिकै पति साथसाथै, पतिप्रति श्रद्धा गर्दै सति जानुपर्छ भन्ने चलन थियो । त्यो चलन पनि हट्दै गयो । यो चलन भन्ने चाहिँ हामी समाजले बनाएको हो । यो समाजलाई हामीले परिवर्तन गर्न सकिन्छ र परिवर्तन भएको छ, त्यसको लागि म खुसी छु । एकल महिलाको मैले महसुस गर्दिन, हजुरहरुले पनि मलाई कहिल्यै एकल महिला भन्नुहुन्न । हरेक काम गर्दा तपाइँहरुले मलाई अगाडि सार्नुहुन्छ । जोसँग क्षमता छ, त्यो अगाडि जानुपर्छ भन्दै तपाइँहरुले मलाई अगाडि बढाउनु भएको छ । आज एकल महिलाको स्थानमा बसेर तपाइँहरुको अगाडि म इन्टरभ्यू दिन सकेको छु । मैले आफ्नो कला प्रस्तुत गर्न सकेको छु । त्यसकारण म जस्तै एकल महिलाहरु रोएर बस्न नपरोस् । समाजले हेर्ने दृष्टिकोण धेरै फरक भएको छ, समाजले तपाइँलाई सम्मान गर्छ, अगाडि बढ्नुहोस् भन्ने सुझाव दिन चाहन्छु ।
अन्त्यमा हामीले सोध्न छुटाएका र हजुरलाई भन्न मन लागेका केही चिजहरु छन् कि ?
मैले परिश्रम गर्दाखेरि, म होटल व्यवसायमा आबद्ध भएँ । बेनीको कालिपुलमा जीविकोपार्जनका लागि मैले गौचन गेष्ट हाउस भन्ने होटल खोलें । म त्यो ठाउँमा पुग्दै गर्दाखेरि मैले त्यो कालमा धेरै दुःख गरें, विदेशी पर्यटकहरुलाई बेड चार्ज दुई रुपैयाँ लिएर, उनीहरुबाट रुम चार्ज दुई रुपैयाँ उठाएर मैले जीविकोपार्जन गरें । तर आज होटलको एउटा रुमलाई २ हजार २५ सय लिन्छु । त्यसकारण म एकदम खुसी छु किनभने संघर्ष नै जीवन, जीवन नै संघर्ष हो । संघर्ष गर्न सक्नुपर्छ । मलाइ युट्युवमा हेर्नु हुने र पत्रिकामा पढ्नु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरु, स्वदेश तथा विदेशमा बस्नु भएका दाजुभाइ दिदीबहिनीहरु मेहनती र इमान्दार भयो भने पैसा कमाउन बेर लाग्दैन, सबभन्दा तपाइँहरु इमान्दार हुन सिक्नुस् र मेहनती हुन सिक्नुस् । अर्काको इष्र्या नगर्नुस्, आफू कसरी अगाडि बढ्ने भनेर कदम चाल्दै अगाडि बढ्नुस् । रुप्से गु्रपलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु किनभने तपाइँहरुले मलाई यहाँ बोलाएर मेरा केही कुराहरु भन्ने मौका दिनुभयो, मेरो जीवनका कथाहरु धरै छन्, म्याग्दीमा होटल व्यवसाय मैले जन्माएको हो, यो भन्दा अगाडि कुनै होटल पनि थिएन । त्यसकारणले गर्दा, आज म्याग्दीमा १ सय ५० होटल रेष्टुरेन्टहरु छन् । अहिले भर्खरै म्याग्दी होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको नवौं साधारणसभा तथा चौंथो अधिवेशन भएको छु। त्यसैले सम्पूर्ण होटल व्यवसायीहरुलाई पनि मुरीमुरी धन्यवाद दिन चाहन्छु । आफ्नो पेसामा आबद्ध भएर अगाडि बढ्नुस्, अर्काको इष्र्या नगर्नुस् । म्याग्दी जिल्लालाई समृद्ध बनाऔैं, म्याग्दी भ्रमण वर्ष २०७५ लाई पनि सफल पारौं भन्दै रुप्से गु्रपलाई पुनः धन्यवाद दिन चाहन्छु ।