विराटनगरको नेबेल मेडिकल कलेजमा अध्ययनरत सौरभ उप्रेतीको मृत्यु आत्महत्या भएको भन्ने पोष्टमार्टम रिपोर्ट प्रहरीले सार्वजनिक गरेको भएपनि सौरभको परिवारले भने हत्या भएको बताउँदै आएको छ । तेजिलो दिमाग भएको र निकै फरक दक्षता भएको कारणले गर्दा उसको क्षमता देखि रुष्ट भएका व्यक्तिहरुले सौरभको हत्या गरेको भन्दै सौरभको परिवारले सोमबार पत्रकार सम्मेलन गरेर दोषीलाई कारवाही नगरेको आरोप लगायो । सौरभकी बहीनिले राज्यमा न्यायको दियो निभ्नै लागेकोले त्यसलाई जोगाउनका लागि सरकारलाई सचेत समेत बनाइन् । बुढेसकालको सहारा एकमात्र छोराको मृत्युली विछिप्त भएका परिवारले हत्याको प्रमाण प्रहरीले नष्ट गरेको भन्दै अपराधीलाई कारवाहीको दायरामा सरकारले ल्याउन नसकेको आरोप लगाए । सौरभको मृत्यु भएको सोमबार ४८ दिन बित्दा पनि अपराधी खुलेआम हिडीरहेको आरोप लगाएका परिवारले अपराधी को हो त भन्ने कुरा भने खुलाएनन् ।
कञ्चनपुरमा बलात्कार पछि हत्या भएको बालिकाका आफन्तले न्यायका लागि कञ्चनपुरमा आन्दोलन गर्दै गर्दै एक जनाको प्रहरीको गोली लागेर मृत्यु भयो भने अहिले निर्मलाका बाबुआमा काठमाडौमा छन् । निर्मलाका बाबा आमाले प्रधानमन्त्रीलाई समेत भेटी सकेका छन् अनि सोधेका छन् हामीले न्याय पाउँदैनौं त ? भनेर । तर अहिले सम्मको अवस्था हेर्दा राज्यको न्याय प्रणालिको मार्ग अर्थात् अनुसन्धानमै कतै खोट त छैन भन्न सक्ने अवस्था छ । किन भने निर्मलाको हत्यारा नभेटिने, सौरभको मृत्युको कारण नखुल्ने अनि त्यस्तै धेरै घटनाका पिडीतहरुले न्यायका लागि भन्दै आन्दोलन गर्ने क्रमले गर्दा न्यायालयमाथिकै विश्वासमा समेत जनताले कतै शङ्का गर्ने त होइनन ?
राज्यका नागरिकले न्यायपूर्ण समाज कल्पना गर्दछन् जुन सुकै राज्यमा भएको भएपनि । तर यहाँ अहिले हामीले कल्पना गरेको भन्दा कतै फरकपन आएको त होइन भन्ने भान पनि हुन थालेको छ । किन भने नेपालमा पछिल्लो समय देखिएका घटनाक्रमले यस्तै अवस्था सृजना गरेका छन् । दुई वर्ष अगाडी म्याग्दीमै पनि एक जना एकल महिलाले उजुरी दर्ता गर्न जाँदा प्रहरीले जाहेरी नै लिएको थिएन । यस्ता घटनाले गर्दा नागरिकहरुको विश्वास घट्ने र राज्य प्रति वितृष्णा बढ्न सक्ने भएकाले नागरिकलाई जति सक्यो चाँडो न्यायको प्रत्याभूति गराउन आवश्यक छ । आम नागरिकको प्रश्न राज्यमा न्यायको दियो निभ्नै लागेको हो त भन्ने प्रश्नको जवाफ दिन सरकारले ढिलो गर्न हुँदैन । प्रश्न शब्द र बोलीमा नभै काम गरेर दिनु पर्ने जिम्मेवारी राज्य सँग भएकोले त्यस तर्फ जति सक्यो चाँडो लाग्न पर्छ ।
Previous Articleसंस्कृतिकाे सम्मानमा माउण्ट
Next Article विदेशबाट फर्किएपछि गोलभेंडा खेतीमा