काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले मौलिक हकसँग सम्बन्धित चार विधेयक पारित गरेको छ।
पारित विधेयकमा ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) पहिलो संशोधन विधेयक, २०७५’, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ रहेका छन्।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ‘जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव छुट्टाछुट्टै रुपमा प्रस्तुत गरेका थिए।
यसअघि उक्त विधेयकमाथि सांसदहरुले राखेको जिज्ञासाको सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै विधेयक पारित गरेर सहयोग पुर्याउन आग्रह गरेका थिए।