नेपाल कन्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बेलायतका दक्षिण एसिया विभाग प्रमुख ग्यारेथ बेलीबीच भेटवार्ता भएको छ ।
बिहीबार बिहान अध्यक्ष निवास खुमलटारमा भएको उक्त भेटमा नेपाल र बेलायतका बीच भएका सहयोग र सम्बन्धका बारेमा चर्चा भएको थियो । अध्यक्ष प्रचण्डले राजनीतिक परिर्वतन पश्चात देशमा आएको आर्थिक समृद्धि लहर र त्यसका आधारहरु बारे स्पष्ट पारेका थिए । उनले भने, ‘नेपालमा लामो समय पश्चात राजनीतिक स्थिरता कायम भएको छ, यो नै नेपालको आर्थिक विकासका लागि सबैभन्दा बलियो आधार हो ।’
अध्यक्षले नेपालमा जलविद्युतको प्रचुर सम्भावना भएको बताउँदै विश्वका धेरै लगानीकर्ताहरु यहाँ लगानी गर्न इच्छुक रहेको बताए । उन भने, ‘हामी लगानीकर्ताको सुरक्षा र लगानीको ग्यारेन्टी गर्न योजना बनाईरहेका छौं ।’ पर्यटनको उत्तिकै सम्भावना भएको उल्लेख गर्दै दुई ठूला जनसंख्या भएका देशका पर्यटकको गन्तव्य पछिल्ला दिनमा नेपालमा बढ्दै गएको उनको भनाई थियो । अध्यक्षले भने, ‘पर्यटन क्षेत्रको विकासका लागि भौतिक पूर्वाधारको निर्माण हाम्रो पहिलो सर्त हो ।’
भेटका अवसरमा प्रमुख बेलीले विश्वभरीमा सबैभन्दा प्रिय देश नेपाल भएकाले यहाँ लगानीकर्ताहरु आकर्षित भएको बताए । नेपालमा लगानी गर्न बेलायती लगानीकर्ताहरु इच्छुक रहेको उनको भनाई थियो । उनले सरकारलाई आफूहरुको पूर्ण समर्थन रहेको बताउँदै देशको विकास यो सरकारले नै गर्नेमा आफूहरु ढुक्क रहेको पनि बताए । प्रमुख बेलीले अध्यक्ष प्रचण्डलाई नेपालका अत्यन्त लोकप्रिय नेताको संज्ञा दिँदै शान्ति प्रक्रियादेखि वर्तमान स्थिर सरकारसम्म विकसित राजनैतिक घटनाक्रम बारे जिज्ञासा राखेका थिए ।