बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमिस्टेक)को शिखर सम्मेलनका क्रममा १८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
यही भदौ १४ र १५ गते काठमाण्डुमा हुने शिखर सम्मेलनमा सहभागी हुने बिमिस्टेक सदस्य राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सुरक्षाका लागि नेपाली सेनाको नेतृत्वमा १८ हजार बढी सुरक्षाकर्मी परिचालन हुने गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी १८ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । सुरक्षाकर्मीको परिचालनदेखि खतराको मूल्याङ्कन गर्ने जिम्मा विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयले पाएको छ । जो सेनाको नेतृत्वमा छ ।
बिमिस्टेकमा सहभागी हुने राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सुरक्षाका लागि नेपाली सेना पहिलो तथा तेस्रो घेरामा हुने छ । यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेरा दोस्रोमा हुनेछ ।
राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले बाह्य सूचनाको संकलन तथा सम्भावित खतराको विश्लेषण गरी माथिल्लो निकायलाई सूचना दिनेछन् ।
गृह मन्त्रालय स्रोतका अनुसार बिमिस्टेक सम्मेलनको सुरक्षामा नेपाली सेनाका ५ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् । यस्तै नेपाल प्रहरीबाट ९ हजार ७ सय, सशस्त्र प्रहरीबाट २ हजार ५ सय राष्ट्रिय अनुसन्धान विभागका करीब १ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् ।