विद्यालयबाट आफ्नो नाम हटाउँदै निष्काशन गर्न प्रधानाध्यापकलाई पत्र लेखेकी म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गे फोओठेकी १२ वर्षीया पुजा खत्रीको परिवारलाई अनेरास्ववियु म्याग्दीले पहिलो आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर भएपछि जामुनाखर्क माविमा कक्षा ६ मा अध्ययरत खत्रीले आफ्ना भाइबहिनीसँगै विद्यालय जाने वातावरण नभएको भन्दै प्रअ सोमनाथ ढुङ्गानालाई पठाएको पत्रसहित समाचार प्रकाशित गरेपछि अनेरास्ववियुका केन्द्रिय सदस्य प्रकाश पौडेल, जिल्ला अध्यक्ष सुवास विकसहितको टोलीले घरमा आवश्यक पर्ने करिब १२ हजार बराबरको खाद्य साम्रागी सहयोग गरेका छन् ।
जिल्ला अध्यक्ष विकको नेतृत्वमा पुगेको टोलीले खत्रीको परिवारलाई थप सहयोगको प्रतिबद्धता समेत जनाएका थिए । दैनिकजसो आमालाई कुटपिट गर्ने, ज्याला मजदुरी गरेकै ठाउँमा पुगेर झगडा, हातपात गर्न थालेपछि आमाले छोडेपछि बिचल्ली भएकी खत्रीले नियमित विद्यालयमा आउने गरिएको अनुरोधलाई पत्रमार्फत जवाफ पठाउँदै पढ्ने रहर भए पनि घरमा भाइबहिनीलाई बिहान बेलुकी आवश्यक पर्ने खाना खोज्नुपर्ने, पोशाक, कपी कलम समेत नभएकाले आफ्नो रोल नं हटाइदिन अनुरोधसहितको पत्र लेखेकी थिइन् ।
प्रथम त्रैमासिक परीक्षामा समेत अनुपस्थित हुने अवस्थालाई रोक्न विद्यालयले नियमित परिक्षामा आउने वातावरण बनाएको जनाएको छ । यसैबीच खत्रीको परिवारलाई जिल्लाका साथै स्वदेश विदेशबाट सहयोगको ओइरो लागेको छ । आर्थिक अभावकै कारण सामुदायिक विद्यालयमा पढ्नबाट बन्चित भएकी खत्री र उनका भाइबहिनीलाई सहयोगका लागि बेनीमा रहेको गरिमा विकास बैंकमा पुजा खत्रीकै नाममा खाता समेत खोलिएको छ ।