म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविले शुक्रबार देखी क्लिन र ग्रिन म्याग्दी अभियानको शुभारम्भ गरेको छ । सफा र हराभरा म्याग्दी बनाउने अभियानलाई प्रभावकारी बनाउन विद्यालयले सुरु गरेको अभियानको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दल बहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीको सहभागितामा सरसफाई र हरियाली म्याग्दी बनाउने अभियानले जिल्लाभर रचनात्मक सन्देश प्रवाह हुने बताइएको थियो ।कार्यक्रमको अवसरमा बेनी नगरपालिकाका मेयर श्रेष्ठले स्वच्छ, सफा र हरियाली शहर बनाउने अभियानले नगरपालिकाको अभियानमा समेत सघाउने बताए ।
‘आफ्नो घरआगन, टोलमा सरसफाई अभियान सञ्चालन गर्नुपर्छ,‘यो अभियानले सन्देश प्रवाह गरेको छ’ श्रेष्ठले भने । कार्यक्रममा शिक्षा विकास तथा समन्वय प्रमुख थापाले विद्यालयका बालबालिकाको अभियानको समाजमा छिटै प्रभाव पर्ने भएकाले पनि यस अभियानलाई प्रभावकारी बनाउन अनुरोध गरेका थिए ।
‘विद्यार्थीको सक्रियतालाई अभिभावले साथ दिन्छन्,‘समाजमा सिको पनि छिट्टै हुन्छ’ थापाले भने । उनले विद्यालय उमेरमा गरिएका अभियानको दिगोपना हुने भएकाले पनि दिर्घकालिन रुपमै समाजलाई सकारात्मक बाटोमा अगाडी बढाउने बताए। म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले अभियानले म्याग्दी भ्रमण बर्षलाई सघाउने बताए । उनले जिल्लाभर रहेका नीजि तथा सामुदायिक विद्यालयले अभियान संगै खाली ठाउँमा बृक्षारोपण गरी क्लिन र ग्रिन जिल्ला बनाउनुपर्ने बताए । ‘अभियानलाई निरन्तरता दिनुपर्छ,‘सफा र सुन्दर जिल्लाले हामी सबैको इज्जत राख्छ’ कर्माचार्यले भने।
कार्यक्रममा विद्यालयका सञ्चालक समितिका अध्यक्ष चन्द्र कुमार केसी, सुरत केसी, राजु केसी, प्रमोद श्रेष्ठ, रमेश गिरी, सुविन श्रेष्ठ, लिला बहादुर बानियाँले बेनीबजारमा सरसफाई सहितको बृक्षारोपणको अभियान सहित ग्रामिण क्षेत्रसम्म विद्यार्थी र अभिभावकसंगै अभियान पु¥याउने बताएका थिए । अभियानका बारेमा विद्यालयका प्रधानध्यापक डा. त्रिदिव उपाध्यायले विद्यार्थीहरुले सफा, सुन्दर हरियाली वातावरणका लागि सन्देशमुलक अभियानसंगै प्रतिस्पधात्मक गतिविधिमा समेत सहभागिता जनाउने बताए । ‘हामीले विद्यार्थीलाई विद्यालय जाने स्वच्छट वातावरणको सिर्जना गछौ,‘यो विद्यालयले सुरु गरेको जिल्लाकै अभियान हो’ उपाध्यायले भने ।
उनले विद्यालयमा प्लाष्टिक समानको कम प्रयोग गर्ने बताउँदै जिल्लास्तरीय प्रतियोगिता, म्याग्दी भ्रमण अभियानको प्रचारप्रसार तथा सरसफाई सहित गुणस्तरीय शिक्षा आर्जनमा अभियानलाई जोड्ने बताए । कार्यक्रमको स्वागत सहायक प्रअ अमृत प्रसाद सापकोटा, कार्यक्रमका बारेमा शिक्षक सुवास विकले गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक चन्द्रा रोका र धमेन्द्र सुबेदीले गरेका थिए । विद्यालयले अभियानमा आवश्यकता अनुसार कार्यक्रम थप गर्न सकिने जनाएको छ ।