नेपाल कम्युनिस्ट पार्टी नेकपाले भदौ पहिलो साताभित्र प्रदेश र जिल्ला कमिटीहरुलाई एकीकरण गरिसक्न निर्देशन दिएसँगै सबै कार्यदलहरुले काम अन्तिम चरणमा पुर्याएका छन् ।
प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरुको एकीकरण टुंगो लगाउन अधिकांश कार्यदलहरुले दस्तावेज, पदाधिकारी संख्या तथा नामसमेतको अन्तिम टुंगो लगाउने क्रममा छन् ।
दुई पार्टी एकता भएर बनेको नेकपाको कमिटीहरुमा रहने आकांक्षी धेरै भएपछि व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । यसमा पनि एकता अघिका दुई पार्टीको व्यवस्थापन पनि जटिल रहेको छ । तर एकताको मूल भावना अनुसार काम भइरहेको नेताहरुले बताएका छन् ।
प्रदेश भागवण्ड
पूर्व एमालेले चारवटा र पूर्व माओवादीले तीनवटा प्रदेश कमिटीको नेतृत्व गर्ने अनौपचारिक सहमति भएको छ । प्रदेश नम्बर १, ३, ६ र ७ प्रदेशको अध्यक्ष पूर्व एमालेले पाउने छ । त्यस्तै प्रदेश नम्बर दुई, चार र पाँच नम्बर प्रदेशको अध्यक्ष पूर्वमाओवादीको भागमा पर्ने एक सचिवालय सदस्यले बताए ।
प्रदेश संगठन कमिटीमा स्थायी समितिका रहेका नेतालाई इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिने तयारी भएको छ । त्यस्तै अध्यक्ष र सचिव पदको वाँडफाडमा पनि सन्तुलन मिलाएर गर्ने तयारी कार्यदलहरुले गरेका छन् । प्रदेश र जिल्लामा एउटा पक्षले अध्यक्ष र सहइन्चार्ज तथा अर्को पक्षले इन्चार्ज र सचिव लिने गरि छलफल भइरहेको छ ।
७७ जिल्ला मध्ये पूर्व एमालेबाट ४५ देखि ४८ र पूर्वमाओवादीबाट २९ देखि ३२ जिल्ला अध्यक्ष लिने गरि कार्यदलहरुमा छलफल भएको छ । तर पार्टी एकिकरण भइसकेका कारण पूर्व दल र प्रतिशतका आधारमा एकता गर्न नहुने केहीको तर्क छ ।
प्रदेशको नेतृत्वमा होडबाजी
एकीकृत पार्टीको प्रदेश कमिटीको नेतृत्व गर्ने नेताहरुले आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् । प्रदेश कमिटीको टुंगो लागिपछि जिल्लाहरुको नेतृत्व केन्द्रमा सिफारिस गर्ने तयारी कार्यदलहरुको छ ।
प्रदेश नम्बर एकमा जगन्नथ खतिवडा, राम कार्की र सावित्रीकुमार काफ्ले प्रदेश अध्यक्षको दाबेदारको रुपमा छन् ।
त्यस्तै प्रदेश दुईमा शत्रुधन महतो, प्रभु साह, नागेन्द्र चौधरी अध्यक्षको दाबेदारको रुपमा रहेका छन् ।
प्रदेश तीनमा पशुपती चौलागाइँ, काशीनाथ अधिकरी, नारायण दाहाललाई अध्यक्षको दाबेदारको रुपमा हेरिएको छ ।
गण्डकी प्रदेशमा हितराज पाण्डे, किरण गुरुङ, तुलबहादुर गुरुङको दाबेदारी रहेको छ ।
प्रदेश नम्बर पाँचमा मणि थापा, गणेशमान पुन र दलबहादुर रानालाई प्रदेश कमिटीका अध्यक्षको दाबेदारको रुपमा हेरिएको छ ।
कर्णाली प्रदेशमा यामलाल कँडेल, गोरखबहादुर बोगटी, मायाप्रसाद शर्मा लगायतको दाबी रहेको छ ।
प्रदेश नम्बर सातमा कर्णबहादुर थापा, लेखराज भट्ट, लक्ष्मीदत्त जोशीले अध्यक्षको दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
जनवर्गीय संगठनहरुको एकीकरण अन्तिम चरणमा
दुई पार्टीका जनवर्गी संगठनहरुको एकीकरणको प्रकृया पनि अन्तिम चरणमा पुगेको छ । युवा, विद्यार्थी, महिला, मजदुर, पत्रकारलगायका जनवर्गीय संगठनहरुको एकता प्रकृया अन्तिम चरणमा पुगेको छ ।
विद्यार्थी संगठनको कार्यदलले विधानको टुंगो लगाएको छ भने नाम र नेतृत्वमा अन्तिम सहमति बाँकी रहेपनि कुनै विवाद नभएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।
त्यस्तै पूर्व एमालेको युवा संघ र पूर्व माओवादीको वाइसीएलबीचको एकता प्रकृया पनि जारी छ । कार्यदल विधान निर्माणको अन्तिम चरणमा रहेको छ । विधान बनेसँगै अन्य विषयहरु चाडै सकिने कार्यदलको भनाइ छ ।
महिला संगठनहरुको एकिकरण गर्न बनेको कार्यदलले विधानलाई अन्तिम रुप दिएको छ । साउन महिना भित्रै एकता गर्ने गरि गृहकार्य भइरहेको कार्यदलकी सदस्य अमृता थापामगरले जानकारी दिइन् ।
त्यस्तै मधेसी, उद्योगी व्यवसायी, पेसागत कर्मचारी, खेलकुद जनताजी लगायतका संगठनहरुको एकताका क्रममा छन् । उनीहरुमध्ये अधिकांश जनवर्गीय संगठनहरुको विधान अन्तिम चरणमा पुगेको छ ।